इन्स्योरेन्स इन्स्टिच्युटको अनलाइन तालिममा आकर्षण बढ्दै

0
Shares

इन्स्योरेन्स इन्स्टिच्युट नेपालले अनलाइन माध्यमबाट तालिम दिँदै आएको छ । बीमा बजारमा दक्ष जनशक्ति उत्पादन गर्ने लक्ष्यका साथ सञ्चालनमा आएको इन्स्टिच्युले कोरोना भाइरसको विषम परिस्थितिलाई मध्यनजर गर्दै अनलाइन माध्यमबाट तालिम दिँदै आएको हो ।

कोरोना भाइरस महामारीको विषम परिस्थितिलाई मध्यनजर गर्दै अनलाइन माध्यमबाट तालिम सञ्चालन गर्दै आएको तालिम केन्द्रका प्रमुख कार्यकारी अधिकृत भोजराज शर्माले बताए । इन्स्टिच्युटले लिएको लक्ष्यलाई पुरा गर्न अनलाइन माध्यमबाट तालिम सञ्चालन गर्दै आएको सिईओ शर्माको भनाई छ ।

गत फागुनसम्म तालिम सञ्चालन गर्दै आएको इन्स्टिच्युटले कोभिड आएपछि चार महिना तालिम दिने काम बन्द गरेको थियोे । इन्स्टिच्युटले त्यस पछि भने अनलाइन माध्यमबाट तालिम दिँदै आएको जनाएको छ । एउटा तालिममा ४० जनाको सहभागिता हुने उनको भनाई छ । इन्स्टिच्युटले अनलाइन माध्यमबाट ७/८ वटा तालिम दिएको जनाएको छ ।

इन्स्टिच्युटका प्रमुख कार्यकारी अधिकृत भोजराज शर्माका अनुसार तालिम केन्द्रले बीमा कम्पनीहरुका कर्मचारी, बीमा समितिका कर्मचारी तथा बैंक तथा वित्तीय संस्थाका कर्मचारीलाई तालिम दिईसकेको छ । उनका अनुसार इन्स्टिच्युटले संस्थागत सुशासन सम्बन्धी तालिम, वाणिज्य बैंकका कर्मचारीहरुलाई तालिम, बीमा जनचेतना सम्बन्धी कलेजका विधार्थीहरुलाई तालिम, कृषि बीमा तालिम लगायतका तालिम सञ्चालन गरिसकेको छ ।

कोरोना भाइरसका कारण लक्ष्य अनुसार काम गर्न नसकेको इन्स्टिच्युटका सिईओ भोजराज शर्माले बताए । ‘इन्स्टिच्युटले लिएका लक्ष्य पुरा गर्नलाई कोभिड १९ ले असर गर्या, कोभिड नआएको भए हामीले धेरै प्रगती गर्थ्यौँ’, कोभिडको प्रकोपले भौतिक रुपमा उपस्थित भएर तालिम दिन सकिएन’ उनले भने । कोभिडको भ्याक्सिन बनेपछि र भ्याक्सिन लागू भए पछि पहिले जस्तै तालिम सञ्चालन गर्ने लक्ष्य इन्स्टिच्युटको छ । तालिम केन्द्रले अहिले हप्ताको १० हजार रुपैयाँसम्म शुल्क लिने गरेको छ ।

इन्स्टिच्युटका आगामी योजना

बीमा बजारमा दक्ष जनशक्ति उत्पादन गर्ने लक्ष्यका साथ बीमा समिति र बीमा कम्पनीहरुको लगानीमा इन्स्योरेन्स इन्स्टिच्युट नेपालको स्थापना भएको हो ।

सिईओ शर्माका अनुसार इन्स्टिच्युट एकेडेमिक कक्षा समेत सञ्चालन गर्ने योजनामा रहेको छ । उनका अनुसार हप्ता दिन, पन्ध्र दिनको तालिम दिँदै आएको इन्स्टिच्युटले केही समय पछि महिना दिन अवधिसम्मको तालिम सञ्चालन गर्ने लक्ष्य लिएको छ । बीमा बजारमा दक्ष जनशक्ति उत्पादन गर्ने मुल लक्ष्यका साथ स्थापना भएको इन्स्योरेन्स इन्स्टिच्युटले विधार्थी, बीमा सर्भेयर, बीमा अभिकर्ता, बीमकका संचालक, बीमा कम्पनीका कर्मचारी तथा अन्य संगठित संस्थाका कर्मचारी तथा अन्य व्यक्तिहरुलाई बीमा सम्बन्धी तालिम प्रदान गर्ने लक्ष्य बोकेको छ ।

बीमा क्षेत्रमा अनुसन्धान, परामर्श सेवा एवं सूचना सम्बन्धी कार्यक्रमहरु संचालन गर्ने लक्ष्य इन्स्योरेन्स इन्स्टिच्युटको रहेको छ । बीमाको क्षेत्रमा अध्ययन, अनुसन्धान, तालिम, सेमिनार, गोष्ठी, अवलोकन लगायतका कार्यक्रम गर्ने योजना इन्स्योरेन्स इन्स्टिच्युटको रहेको छ ।

इन्स्योरेन्स इन्स्टिच्यूट नेपालले बीमा कम्पनीका कर्मचारीहरुमा दक्षता आभिवृद्धि गर्ने क्रममा भविष्यमा नियमित रुपमा आवश्यकता अनुरुप तालिम कार्यक्रमहरुको आयोजना गर्दै जाने लक्ष्य लिएको छ ।

निकट भविष्यमा बीमा सेवामा प्रवेश गरी व्यवसायिकता हासिल गर्न ईच्छुक विभिन्न विधामा डिप्लोमा र डिग्री गरेका विधाथीहरुलाई पनि फुसर्दको समयमा बीमाको व्यवहारिक ज्ञान प्रदान गर्ने कार्यक्रम संचालन गर्ने लक्ष्य लिएको छ ।

इन्स्टिच्यूटले भविष्यमा बीमा क्षेत्रमा अनुसन्धान कार्यमा सहयोग पुग्ने गरी पुस्तकालय तथा अन्य पूर्वाधारहरुको विकास गर्दै लैजाने लक्ष्य लिएको छ ।
बीमा समितिले २०७५ साल साउन ६ गते उक्त तालिम केन्द्रको स्थापना गरेको थियो ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।