सरकारको राजश्व संकलनको लक्ष्य कठिन, बजेट खर्चको अवस्था झनै कमजोर

0
Shares

चालु आर्थिक वर्षको ६ महिना पुरा हुँदा सरकारले लक्ष्यको करिब ४२ प्रतिशत राजश्व संकलन गर्दा २८ प्रतिशत मात्र बजेट खर्च गरेको छ ।

चालू आर्थिक वर्षको ६ महिना पुस २९ गते बुधबारसम्म सरकारले ४ खर्ब २२ अर्ब २३ करोड रुपैयाँ राजश्व संकलन गरेको छ । जुन लक्ष्यको ४१.७३ प्रतिशत मात्र हो । सरकारले ६ महिनामा ४ खर्ब ७५ अर्ब रुपैयाँ राजश्व संकलनको लक्ष्य लिएको लिएको थियो ।

महालेखा नियन्त्रकको कार्यालयका अनुसार ६ महिनाको अवधिमा कर राजश्व ३ खर्ब ८६ अर्ब ५३ करोड, गैरकर राजश्व ३५ अर्ब ७० करोड रुपैयाँ संकलन भएको छ । यसअवधिमा ५ अर्ब ३० करोड अनुदान तथा प्राप्त भएको छ ।

सरकारले चालु आर्थिक वर्षमा १० खर्ब ११ अर्ब ७५ करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेको छ ।

चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा बजेट खर्चमा समेत सरकार कमजोर देखिएको छ । कोरोना महामारीका कारण विकास निमार्ण लगायतका अन्य कामहरु प्रभावित भएपछि सरकारको खर्च गर्ने क्षमता समेत कमजोर भएको छ । समिक्षा अवधिमा सरकारले लक्ष्यको २८.१९ प्रतिशत मात्र बजेट खर्च गरेको छ ।

यसअवधिमा सरकारले १४.४० प्रतिशत मात्रै पूँजीगत खर्च गर्न सकेको छ । पुससम्म्मा ५० अर्ब ८१ करोड मात्र पूँजीगत खर्च भएको छ । यसअवधिमा सरकारले ३६.०८ प्रतिशत साधारण तथा वित्तीय व्यवस्थापनतर्फ १३.०६ प्रतिशत मात्र खर्च गरेको छ ।

चालु आर्थिक वर्षको बजेट अनुसार सरकारले ९ खर्ब ४८ अर्ब साधारण खर्च, ३ खर्ब ५२ अर्ब पूँजीगत खर्च तथा एक खर्ब ७२ अर्ब वित्तीय खर्च गर्ने लक्ष्य राखेको छ । सरकारले चालू आर्थिक वर्षको आर्थिक वृद्धि ७ प्रतिशत हुने आकँलन गरेको छ । तर केहि दिन अघि मत्र विश्व बैंकले यो वर्ष नेपालको आर्थिक वृद्धि एक प्रतिशत पनि नपुग्ने प्रक्षेपण सार्वजनिक गरेको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।