काठमाडौं । असोज महिनामा मुलुकको मुद्रास्फीति १.४७ प्रतिशतमा सीमित रहेको छ । राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको तथ्यांक अनुसार मुद्रास्फीति घटेको देखिएको हो ।
गत आर्थिक वर्षको असोजमा मुलुकको मुद्रास्फीति ४.८२ प्रतिशत रहेको थियो । यो अवधिमा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति २.५४ प्रतिशतले ऋणात्मक रहेको छ ।
अघिल्लो आर्थिक वर्षको यहि अवधिमा ७.२० प्रतिशत रहेको थियो । यस्तै गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ३.८० प्रतिशत राष्ट्र बैंकको तथ्यांकले देखाएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो मुद्रास्फीति ३.४९ प्रतिशत रहेको थियो ।
चालु आर्थिक वर्ष २०८२/८३ को प्रथम त्रैमासको औसत मुद्रास्फीति १.६७ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ । अघिल्लो वर्षको सोही अवधिको औसत मुद्रास्फीति ४.२६ प्रतिशत रहेको थियो ।
यहि अवधिमा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति भने बढेको देखिएको छ । तथ्यांक अनुसार घ्यू तथा तेल उप–समूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क ७.७५ प्रतिशतले बढेको छ । गैर–मदिराजन्य पेय पदार्थको ३.७१ प्रतिशत र माछा तथा मासुको ३.१५ प्रतिशतले बढेको छ ।
यस्तै गैर–खाद्य तथा सेवा समूहअन्तर्गत विविध वस्तु तथा सेवा उप–समूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क १५.५१ प्रतिशत, शिक्षाको ७.६७ प्रतिशत, कपडाजन्य तथा जुत्ताचप्पलको ६.२९ प्रतिशत, सुर्तीजन्य पदार्थको ४.८४ प्रतिशत र फर्निसिङ तथा घरायसी उपकरणको४.५५ प्रतिशतले बढेको छ ।
यता तरकारी उप–समूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क १५.६३ प्रतिशत, मरमसलाको ७.८२ प्रतिशतले र दाल तथा गेडागुडीको ४.४१ प्रतिशतले घटेको तथ्यांकले देखाएको छ ।
यस्तै बीमा तथा वित्तीय सेवा उप–समूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क ०.२३ प्रतिशतले घटेको छ ।
समीक्षा महिनामा ग्रामीण क्षेत्रको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क १.२९ प्रतिशतले र सहरी क्षेत्रको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क १.५३ प्रतिशतले बढेको छ ।












प्रतिक्रिया