काठमाडौँ । चालु आर्थिक वर्षको पहिलो तीन महिनामा नेपालबाट निर्यात वस्तुमा उल्लेख्य वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार चालु आवको पहिलो तीन महिनामा कुल ७२ अर्ब ७८ करोड रुपैयाँ बराबरका सामान निर्यात भएका छन् ।
यो गत वर्षको सोही अवधिको तुलनामा करिब ९० प्रतिशतले बढेको हो । गत आर्थिक वर्षमा सोही अवधिमा ३८ अर्ब ३७ करोड रुपैयाँ बरबरको मात्र वस्तु तथा सामान निर्यात भएका थिए । गत आर्थिक वर्षको तीन महिनाको अवधिमा ६ प्रतिशतले कम निर्यात भएको तथ्यांकमा उल्लेख गरिएको छ ।
तीन महिनाको अवधिमा भारततर्फको निर्यात १३७.९ प्रतिशतले बढेको छ । सो अवधिमा ५९ अर्ब १२ करोड रुपैयाँ बराबरको वस्तु निर्यात भएको हो । त्यसैगरी चीनतर्फ १८ करोड रुपैयाँ बराबरको सामान निर्यात हुँदा अन्य मुलुकतर्फ १३ अर्ब ४६ करोड रुपैयाँ बराबरको सामान निर्यात भएको हो ।
आयात करिब २० प्रतिशतले बढ्यो
चालु आवको तीन महिनाको अवधिमा विभिन्न मुलुकबाट भएको आयात करिब २० प्रतिशतले बढेको छ । सो अवधिमा आयातमा १९.८ प्रतिशतले बढेको हो ।
तीन महिनामा विभिन्न मुलुकबाट ४ खर्ब ६८ अर्ब ८ करोड रुपैयाँ बराबरको वस्तु तथा सामान आयात भएको छ । गत आवको सो अवधिमा ३ खर्ब ९० अर्ब ७५ करोड रुपैयाँ बराबरको सामान आयात भएको थियो ।
तीन महिनामा भारतबाट मात्र २ खर्ब ५८ अर्ब रुपैयाँ बराबरको वस्तु तथा सामान आयात भएको छ । उक्त परिणाम गत वर्षको तुलनामा ७.५ प्रतिशतले बढी हो ।
त्यस्तै, चीनबाट १ खर्ब ४ अर्ब रुपैयाँ बराबरको सामान भित्रिएको छ भने अन्य मुलुकबा १ खर्ब बढीको सामान आयात भएको हो । त्यसैगरी व्यापार घाटा १२.२ प्रतिशतले बढेर ३ खर्ब ९५ अर्ब ३० करोड रुपैयाँ पुगेको छ । गत वर्षको यसै अवधिमा व्यापार घाटा ४ प्रतिशतले घटेको थियो ।










प्रतिक्रिया