२ महिनामा ७ अर्ब ३६ करोड रुपैयाँको मालवस्तु आयात


मुस्ताङ । यहाँस्थित मुस्ताङ भन्सार कार्यालयबाट २ महिनाको अवधिमा ७ अर्ब ३६ करोड ५८ लाख ६१ हजार रुपैयाँ बराबरको मालवस्तु चीनबाट आयात गरिएको छ । रसुवागढी नाका र तातोपानी नाका गत असार र भदौ महिनामा बाढी पहिरोका कारण अवरुद्ध बनेपछि (नेपाल—चीन) लोमान्थाङ—२ न्हेचुङस्थित मुस्ताङ भन्सार कार्यालयलाई विकल्पका रुपमा ३० भदौदेखि प्रयोगमा ल्याइएको थियो ।

भन्सार विभागले यहाँको कोरलास्थित मुस्ताङ भन्सारलाई वैकल्पिक नाकाका रुपमा प्रयोग गरेलगत्तै पूर्ण रुपमा मुस्ताङ भन्सार कार्यालयलाई गतिशील तुल्याएको हो । नेपाल—चीन कोरलानाकाबाट मङ्सिर मसान्तसम्ममा ७ अर्ब ३६ करोड रुपैयाँ बढीको मालवस्तु आयात हुँदा सयौँ विद्युतीय सवारीसाधनका साथै इलेक्ट्रोनिक सामान, लत्ताकपडा र विद्युतीय उपकरणहरु कोरलानाकाबाट भित्रिएको भन्सार प्रमुख रमेश खड्काले जानकारी दिए।

यसैगरी कोरलानाकाबाट चीनतर्फ ८ करोड ३८ लाख ६३ हजार रुपैयाँ बराबरको हस्तकलाका सामान नेपालबाट भन्सार जाँचपास भई निर्यात भएको भन्सार प्रमुख खड्काको भनाइ छ । मुस्ताङ भन्सार कार्यालयले २ महिनाको अवधिमा चीनबाट ७ अर्ब ३६ करोड रुपैयाँको समान आयात र ८ करोड ३८ लाख रुपैयाँ बढीको सामान चीनतर्फ निर्यात गर्दा ३ अर्ब ६२ करोड ६९ लाख रुपैयाँ बढी बढी राजस्व सङ्कलन गरेको भन्सार प्रमुख खड्काले बताए।

यहाँको भन्सार कार्यालयबाट ३० भदौदेखि ३० मङ्सिरसम्ममा १ हजार ७२६ वटा विद्युतीय सवारी चीनबाट कोरलानाका हुँदै भन्सार जाँचपास भई गन्तव्यतर्फ पठाइएको छ । यसैगरी उत्तरी कोरलानाकास्थित चिनियाँ भन्सारबाट पैठारी भएका  ८९७ वटा मालवाहक ढुवानीका साधनहरु भन्सार जाँचपास भई गन्तव्यतर्फ लागेको भन्सार प्रमुख खड्काको भनाइ छ । नेपालबाट भने मुस्ताङ भन्सार कार्यालयमा जाँचपास भएर ५४ वटा मालवाहक ढुवानीका साधनहरु निकासी भएको कार्यालयले जनाएको छ ।

प्रकाशित मिति: १ मंसिर २०८२, सोमबार  १७ : २० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।