पहिलो चौमासिकमा ६ प्रतिशत विकास खर्च


काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चौमासिकमा सरकारको विकास खर्च निकै कमजोर देखिएको छ ।

महालेखा नियन्त्रक कार्यालयका अनुसार गत कात्तिक मसान्तसम्म वार्षिक विनियोजनको छ दशमलव २१ प्रतिशत बराबर मात्रै विकास खर्च भएको हो ।

चालु आवका लागि पुँजीगत शीर्षकमा ४ खर्ब ७ अर्ब ८८ करोड रुपैयाँ बजेट विनियोजन गरिएकामा कात्तिक मसान्तसम्म २५ अर्ब ३१ करोड ३४ लाख रुपैयाँ बराबर मात्रै खर्च भएको कार्यालयले जनाएको छ ।

यस अवधिको कुल सरकारी बजेट खर्च वार्षिक विनियोजनको २३.८७ प्रतिशत छ । चालु आवका लागि कुल १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँ बजेट विनियोजन गरिएकामा पहिलो चौमासिकमा ४ खर्ब ६८ अर्ब ८८ करोड ९४ लाख रुपैयाँ खर्च भएको कार्यालयले जनाएको छ ।

चालुगत शीर्षकमा ११ खर्ब ८० अर्ब ९८ करोड रुपैयाँ वार्षिक विनियोजन रहेकामा हालसम्म २७.१८ प्रतिशत अर्थात् ३ खर्ब २० अर्ब ९९ करोड २२ लाख रुपैयाँ खर्च भएको छ ।

वित्तीय व्यवस्था शीर्षकमा ३ खर्ब ७५ अर्ब २४ करोड २० लाख रुपैयाँ विनियोजन भएकामा हालसम्म ३२.६७ प्रतिशत अर्थात् १ खर्ब २२ अर्ब ५८ करोड ३८ लाख रुपैयाँ बराबर खर्च भएको छ ।

यस अवधिको सरकारी राजस्व सङ्कलन ३ खर्ब ३३ अर्ब ३४ करोड रुपैयाँ बराबर छ । जुन वार्षिक लक्ष्यको २१.७२ प्रतिशत हो । चालु आर्थिक वर्षका लागि सरकारले १५ खर्ब ३३ अर्ब ४४ करोड ६९ लाख रुपैयाँ राजस्व उठाउने लक्ष्य राखेको छ ।

प्रकाशित मिति: १ मंसिर २०८२, सोमबार  १७ : ४५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।