काठमाडौँ । सार्वजनिक संस्थानहरुबाट आर्थिक वर्ष २०८०/८१ मा ८ अर्ब ८४ करोड रुपैयाँ लाभांश प्राप्त भएको छ । यो सरकारी सेयर लगानीको २.४२ प्रतिशत हुन आउँछ । सार्वजनिक संस्थानहरूबाट आर्थिक वर्ष २०७९÷८० मा सरकारलाई १३ अर्ब ७६ करोड रुपैयाँ लाभांश प्राप्त भएको थियो ।
आर्थिक वर्ष २०७९/८० मा संस्थानहरूको खुद नाफा ४८ अर्ब ९२ करोड रुपैयाँ रहेकोमा आर्थिक वर्ष २०८०/८१ मा उक्त नाफा १२.८८ प्रतिशतले कमी आई ४२ अर्ब ६२ करोड रुपैयाँ कायम भएको छ । असारसम्म नेपाल आयल निगम ९ अर्व ५५ करोड रुपैयाँ खुद नाफामा रहेको छ भने नेपाल दूरसञ्चार कम्पनीले ६ अर्ब २३ करोड रुपैयाँ, नेपाल विद्युत् प्राधिकरणले १० अर्ब ५३ करोड रुपैयाँ खुद नाफा कमाएको छ ।
यस्तै, कृषि विकास बैंकले २ अर्ब ९० करोड रुपैयाँ, राष्ट्रिय वाणिज्य बैंकले २ अर्ब ५५ करोड रुपैयाँ, नेपाल बैंकले २ करोड ८४ लाख रुपैयाँ, निक्षेप तथा कर्जा सुरक्षण कोषले ४ अर्ब ६५ करोड रुपैयाँ, नागरिक लगानी कोषले १ अर्ब १६ करोड रुपैयाँ, नेपाल नागरिक उड्डयन प्राधिकरणले ३ अर्ब ३९ करोड रुपैयाँ लगायत अन्य केही संस्थानहरूले खुद नाफा कमाएका छन् ।
आर्थिक वर्ष २०८०/८१ मा सार्वजनिक संस्थानहरूको कुल सेयरधनी कोष एवम्नेपाल सरकारको सेयर तथा ऋण लगानीसमेत वृद्धि भएको छ । सरकारको सेयर तथा ऋण लगानी अघिल्लो वर्षको तुलनामा ५.९ प्रतिशतले बढेको छ ।
समीक्षा वर्षमा नेपाल दूर सञ्चार कम्पनीबाट ६ अर्ब ५९ करोड रुपैयाँ, राष्ट्रिय वाणिज्य बैंकबाट ८५ करोड ९८ लाख रुपैयाँ, नेपाल स्टक एक्स्चेन्जबाट ३७ करोड ५४ लाख रुपैयाँ नेपाल सरकारलाई लाभांश प्राप्त भएको छ ।
आर्थिक वर्ष २०८०/८१ मा सार्वजनिक संस्थानहरूको खुद सञ्चित नाफा ४१.० प्रतिशतले वृद्धि भई ९२ अर्ब ७२ करोड रुपैयाँ भएको छ । अघिल्लो वर्ष यस्तो नाफा ६५ अर्ब ७५ करोड रुपैयाँ रहेको थियो।
सार्वजनिक संस्थानमा कार्यरत कर्मचारीहरूलाई सेवा निवृत्त भएपछि उपदान, निवृत्तभरण, औषधी उपचार, बीमा, बिदाको रकमजस्ता विभिन्न शीर्षकहरूबाट दिइने सुविधाको कारण हरेक संस्थानको कोषमा व्यवस्था नगरिएको दायित्वको अंश आर्थिक वर्ष २०८०/८१ मा १८.४ प्रतिशतले वृद्धि भई ६२ अर्ब ६१ करोड रुपैयाँ रहेको छ । अघिल्लो वर्ष यस्तो दायित्व ५२ अर्ब ८७ करोड रुपैयाँ रहेको थियो ।
आर्थिक वर्ष २०८०/८१ सम्ममा नेपाल सरकारको पूर्ण वा आंशिक स्वामित्वमा ४५ वटा सार्वजनिक संस्थानहरू सञ्चालनमा रहेका छन्। जसमध्ये १० वटा औद्योगिक क्षेत्र, ५ वटा जनपयोगी क्षेत्र, ४ वटा व्यापारिक क्षेत्र, १० वटा वित्तीय क्षेत्र, ५ वटा सामाजिक क्षेत्र र ११ वटा सेवा क्षेत्रतर्फ रहेका छन्।
अस्तित्वमा रहेका संस्थानहरूको वित्तीय स्थिति विश्लेषण गर्दा आर्थिक वर्ष २०८०/८१ सम्ममा २८ वटा संस्थानहरू नाफामा छन्र १५ संस्थानहरू नोक्सानीमा रहेका छन्। दुईवटा संस्थानको विवरण प्राप्त भएको छैन । नाफामा सञ्चालित २८ संस्थानहरूको खुद नाफा ११.५० प्रतिशतले घटेको छ भने नोक्सानीमा सञ्चालित १५ संस्थानको खुद नोक्सानी ८.६५ प्रतिशतले बढेको छ ।












प्रतिक्रिया