तनहुँमा १ करोड रुपैयाँ बराबरको धानबालीमा क्षति


दमौली । हालैको वर्षाले तनहुँमा १ करोड रुपैयाँ बराबरको धानबालीमा क्षति भएको छ । कृषि ज्ञान केन्द्रकाअनुसार जिल्लाको धानबालीमा १ करोड ३ लाख ७३ हजार ५ सय ४१ रुपैयाँ बराबरको क्षति भएको छ ।

जिल्लाका घिरिङ, म्याग्दे, आँबुखैरेनी गाउँपालिका र व्यास नगरपालिकाको ३ सय ३ मेट्रिक टन धानमा क्षति पुगेको छ । घिरिङमा ४ लाख ८६ हजार रुपैयाँ, म्याग्देमा १४ लाख ६० हजार रुपैयाँ, आँबुखैरेनीमा २६ लाख ८२ हजार ९४३ रुपैयाँ र व्यास नगरपालिकामा ५७ लाख ४४ हजार ५९७ रुपैयाँ बराबरको क्षति भएको हो ।

घिरिङमा ९.८ हेक्टरमा १८.२ मेट्रिक टन, म्याग्देमा १०.६२ हेक्टरमा ४२.१६ मेट्रिक टन, आँबुखैरेनीमा १९.५१ हेक्टरमा ७७.४७ मेट्रिक टन र व्यास नगरपालिकामा ९५.८ हेक्टरमा १६५.८८ मेट्रिक टन धानमा क्षति भएको छ ।

तनहुँका विभिन्न भागका ८ हजार ७२० हेक्टरमा धानखेती हुने गरेको छ । केन्द्रका अनुसार आव २०८०/८१ मा ७ हजार ६४२ हेक्टरमा खेती गरिएकामा ८ हजार ७२० मेट्रिक टन धान उत्पादन भएको थियो ।

तनहुँमा राधा, सावित्री रामधान, सुगन्ध मसिनो, अनदी, सुनौलो सुगन्ध, मकवानपुर,लगायतका धानखेती हुने गरेको छ । जिल्लाका तनहुँसुर, सेपाबगैंचा, कलेस्ती, पुर्कोट, गजरकोटको अत्रौली, आँबुखैरेनी, साँगेलगायत क्षेत्र धानखेतीका लागि प्रख्यात छ । तनहुँमा खेतीयोग्य जमिनको क्षेत्रफल ६५ हजार ६१ हेक्टर छ । ५१ हजार ५१० हेक्टरमा मात्र खेती भइरहेको छ ।

प्रकाशित मिति: ३ मंसिर २०८२, बुधबार  १० : ३५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।