एक महिनामा तोलामा ११ हजारले घट्यो सुनको मूल्य, अझै घट्ने अनुमान


काठमाडौं । पछिल्लो समय सुनको मूल्यमा निरन्तर गिरावट आएको छ । एक महिनाको अवधिमा सुनको मूल्यमा ११ हजार २०० रुपैयाँले घटेको हो ।

यो कात्तिक ३ गतेदेखि मंसिर ३ गतेसम्मको विवरण हो । कात्तिक ३ गते बजार खुल्दा नेपाल सुनचाँदी व्यवसायी महासंघले सुनको मूल्य २ लाख ५३ हजार ५०० रुपैयाँ तोकेको थियो । उक्त सुनको मूल्यले हालसम्मकै उच्च रेकर्ड कायम गरेको थियो ।

आज मंसिर ३ गते बुधबार २ लाख ४२ हजार ३०० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । पछिल्लो समय भूराजनितिक तनाव कम भएको विश्लेषण गरिएकोले नै सुनको भाउमा गिरावट आएको नेपाल सुनचाँदी व्यवसायी महासंघका पूर्वअध्यक्ष मणिकरत्न शाक्यले बताएका छन् ।

इजरायल हमास युद्ध शान्तितर्फ उन्मुख हुनु, अफगानिस्तान र पाकिस्तानबीच भएको शान्ति सम्झौता, चीन–अमेरिकाबीच सम्बन्ध सुधार र रसिया र युके्रनलाई शान्तिमा ल्याउन प्रयास गरिएकोले सुनको मुल्यमा मूल्यमा ह्रास आएको हुन सक्ने उनको भनाई छ ।

लगानी सुरक्षित गर्नमा सुनमा लगानी गरिरहेकाहरु विस्तारै अन्य क्षेत्रमा मोडिन थालेकोले गर्दा सुनको माग घटेकोले भाउ स्वतः घटेको हो । नेपालमा मूल्यमा घटबढ हुनुको मुख्य कारण अन्तर्राष्ट्रिय बजार नै हो । अन्तर्राष्ट्रिय बजारमा घटबढ भएपछि नेपाली बजारमा त्यसको असर पर्छ ।

सुनको मूल्यमा अझ गिरावट हुने अनुमान गरिएता पनि यति हुन्छ भन्ने यकिन नभएको पूर्व अध्यक्ष शाक्यको भनाई छ ।

सुनको मूल्य थप घट्ने खबर आएपछि बजारमा ग्राहकको संख्यामा पनि कमि आएको छ । चाँदीको भाउ पनि एक महिनामा तोलामा १३० रुपैयाँले घटेको छ । कात्तिकको ३ गते ३ हजार २८० रुपैयाँ रहेको थियो भने आज ३ हजार १५० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

प्रकाशित मिति: ३ मंसिर २०८२, बुधबार  ११ : ४० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।