नीतिगत सहजताको पर्खाइमा सेयर बजार, साताभरिमा ११५.७४ अंकको सुधार


काठमाडौँ । यो साता सेयर बजारमा हरेक दिन सुधार हुँदा बजार परिसुचकको वृद्धि उच्च देखिएको छ । साताभरिको कारोबारमा नेप्सेमा ११५.७४ अंकको वृद्धि भएसँगै लगानीतर्कामा उत्साह देखिएको छ । लामो समयदेखि करेक्सनको यात्रामा रहेको बजारमा आएको यो सुधारलाई लयमा फर्किएको संकेत लगानीकर्ताहरुले गरेका छन् ।

गत साताको कारोबारको अन्तिम दिन बिहीबार नेप्से ०.७९ अंकले घटेर २५६०.२९ अंकमा पुगेको थियो । यो साताको कारोबारको पहिलो दिन आइतबार नेप्से ३९.९२ अंकले बढेर २६००.२२ अंकमा पुगेको थियो । सोमबार नेप्से ५०.४४ अंकको उल्लेख्य उछाल सहित २६५०.६६ अंकमा पुगेर बजार बन्द भएको थियो । दिनहुँ बजार बढ्दा मंगलबार ५.३५ अंकको वृद्धिसँगै बजार २६५८.१९ अंकमा पुगेर बजार बन्दभएको थियो । बुधबार ९.६१ अंकको सुधार आउँदा नेप्से परिसुचक २६६५.६० अंकमा पुगेको थियो । साताको कारोबाको अन्तिम दिन बिहीबार नेप्से १०.४३ अंकले बढेर २६७६.०३ अंकमा पु्गेर बन्द भएको छ ।

कुन दिन कतिको कारोबार भयो ?

नेप्से परिसुचकमा आउँदै गएको सुधारसँगै कारोबार रकममा पनि सुधार हुँदै गएको छ । गत साताको कारोबारको अन्तिम दिन बिहीबार ४ अर्ब ६८ करोड ८८ लाख रुपैयाँको सेयर कारोबार भएको थियो । यो साताको पहिलो दिन आइतबार कारोबार रकम ६ अर्ब २८ करोड ६७ लाख रुपैयाँ पुगेको थियो । सोमबार कारोबार रकम साताभरिकै उच्च हुँदा ७ अर्ब ३ करोड ५४ लाख रुपैयाँको सेयर किनबेच भएको थियो । मंगलबार कारोबार रकममा केहि गिरावट आउँदा ५ अर्ब ८२ करोड ३० लाख रुपैयाँको सेयर कारोबार भएको थियो । बुधबार कारोबार रकम बढेर ६ अर्ब ६९ करोड २९ लाख रुपैयाँ पुगेको थियो । साताको कारोबारको अन्तिम दिन बिहीबार ६ अर्ब ६६ करोड २३ लाख रुपैयाँको सेयर किनबेच भएको छ ।

यो साता झण्डै २ खर्बले बढ्यो लगानीकर्ताको सम्पत्ती

नेप्से परिसुचकमा आएको लगातारको वृद्धिसँगै लगानीकर्ताको सम्पत्ती १ खर्ब ९४ अर्ब ३३ करोड ८४ लाख रुपैयाँले बढेको छ । गत साताको अन्तिम दिन बिहीबार समग्र बजार पूँजीकरण ४२ खर्ब ९८ अर्ब ७८ करोड ४० लाख रुपैयाँ कायम भएको थियो । यो साताको कारोबारको अन्तिम दिन बिहीबार बजार पूँजीकरण ४४ खर्ब ९३ अर्ब १२ करोड २४ लाख रुपैयाँ कायम भएको छ ।

यो साताको कारोबारको पहिलो दिन आइतबार बजार पूँजीकरण ४३ खर्ब ६५ अर्ब ८२ करोड ४७ लाख रुपैयाँ कायम हुँदा सोमबार बजार पूँजीकरण ४४ खर्ब ५० अर्ब ५२ करोड ८५ लाख रुपैयाँ कायम भएको थियो । सेयर बजारमा लगातार आएको सुधारसँगै बजार पूँजीकरण मंगलबार ४४ खर्ब ५९ अर्ब ४६ करोड ३७ लाख रुपैयाँ, बुधबार ४४ खर्ब ७५ अर्ब ६० करोड १० लाख रुपैयाँ कायम भएको थियो ।

देशमा राजनीतिक स्थिरताको आशा बढेकाले गर्दा लगानीकर्ताहरुमा पनि आशा र विश्वासको वाताबरण बन्दै गएको स्टक ब्रोकर एसोसिएसनका पूर्व अध्यक्ष भरत रानाभाट बताउँछन् । जसको असर सेयर बजारमा पनि परेको उनको बुझाई छ । “अर्थतन्त्रमा बाह्य क्षेत्र र वित्तीय नीतिहरुमा गरिएको सुधार आफैँमा महत्त्वपूर्ण छ । यसका साथै, राजनीतिक भविष्य सुनिश्चित हुन्छ की भन्ने आशाले पूँजी बजारमा विश्वासको वातावरण सिर्जना भएको छ,” रानाभाटले भने ।

देशमा राजनीतिक स्थायित्व कायम हुँने आशा, आर्थिक था व्यवसायिक गतिविधिमा सुधार हुने संकेत देखिँदा लगानीकर्तामा आशाको वातावरण सिर्जना हुने र नीतिगत सुधारले पनि यो सकारात्मक माहोललाई थप बल पुर्‍याएको उनको बुझाई छ ।

राजनीतिक स्थिरताको संकेतले लगानीकर्ताको मनोबलमा सकारात्मक प्रभाव पारेको सेयरबजारका जानकार छोटेलाल रौनियार बताउँछन् ।
साथै उनले राष्ट्र बैंकले पहिलेका केही नीतिहरूमा कडाई गरे पनि अहिले अन्य नीतिहरू खुकुलो पार्दै गएको कारणले गर्दा पनि बजारमा सुधार देखिएको बताए । साथै अर्थमन्त्रालयले विभिन्न समयमा गरेको पहलले पनि बजारमा सुधार आएको उनको भनाई छ ।

कुन दिन कुन कम्पनीको सेयर सबैभन्दा बढी बढ्यो ?

साताभरि कारोबारका सबै दिनमा सागर डिष्टिलरी, स्वस्तिक लघुवित्त, झापा इनर्जी, श्रीनगर एग्रीटेक इन्डस्ट्रीको सेयर मूल्य १० प्रतिशतले बढेको छ ।

साताको कारोबारको पहिलो दिन आइतबार सागर डिष्टिलरी, बन्दीपुर केबलकार र झापा इनर्जीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । स्वस्तिक लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ८ प्रतिशतले बढेको बजारमा छ्याङ्दी हाइड्रोपावरको सेयर मूल्य ६ प्रतिशतले बढेको थियो ।

सोमबार सागर डिष्टिलरी, स्वस्तिक लघुवित्त, झापा इनर्जी, श्रीनगर एग्रीटेक इन्डस्ट्रीको सेयर मूल्य १० प्रतिशतले बढेको थियो ।

मंगलबार झापा इनर्जी, सागर डिष्टिलरी र श्रीनगर एग्रीटेक इन्डष्ट्रीजको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । त्यस्तै स्वस्तिक लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ८ प्रतिशतले बढेको बजारमा बन्दीपुर केबलकारको सेयर मूल्य ७ प्रतिशतले बढेको थियो ।

बुधबार झापा इनर्जी, सागर डिष्टिलरी, स्वस्तिक लघुवित्त, श्रीनगर एग्रीटेक इन्डस्ट्री र रिभर फल्स पावरको सेयर मूल्य १० प्रतिशतले बढेको थियो ।

बिहीबार सागर डिष्टिलरी, स्वस्तिक लघुवित्त, झापा इनर्जी, श्रीनगर अग्रिटेक इन्डस्ट्री र एनआरएन इन्फ्रास्टक्चरको सेयर मूल्य १० प्रतिशतले बढेको छ ।

कुन दिन कुन कम्पनीको सेयर मूल्य सबैभन्दा धेरै घढ्यो ?

आइतबार पिपुल्स हाइड्रोपावरको सेयरमूल्य सर्वाधिक ७.६५ प्रतिशतले घट्दा सोमबार माबिलुङ्ग इनर्जीको सेयर मूल्य सबैभन्दा बढी ४.४४ प्रतिशतले घटेको थियो । मंगलबार जोशी हाइड्रोपावरको सेयर मूल्य सबैभन्दा बढी ४.९६ प्रतिशतले घटेको थियो भने बुधबार बोट्लर्स नेपालको सेयर मूल्य ३.९४ प्रतिशतले घटेको थियो ।

साताकको कारोबारको अन्तिम दिन बिहीबार हिमस्टार ऊर्जा कम्पनी र फस्ट माइक्रोफाइनान्सको सेयर मूल्य सबैभन्दा बढी ७.७८ प्रतिशतले घटेको बजारमा महुली लघुवित्तको सेयर मूल्य ४.१६ प्रतिशतले र जोशी हाइड्रोपावरको सेयर मूल्य ३.६१ प्रतिशतले घटेको छ ।

कुन कम्पनीको सबैभन्दा बढी भयो कारोबार ?

आइतबार कारोबार रकमको आधारमा ६५ करोड ६० लाख रुपैयाँको कारोबार सहित एनआरएन इन्फ्रास्ट्रक्चर शीर्षस्थानमा रहेको थियो ।

सोमबार २४ करोड ८१ लाख रुपैयाँ बराबरको कारोबार सहित नेपाल लाइफ इन्स्योरेन्स शीर्षस्थानमा रहँदा मंगलबार बन्दीपुर केबलकार २६ करोड ९९ लाख रुपैयाँ बराबरको कारोबार सहित शीर्षस्थानमा रहेको थियो । बिहीबार एनआरएन इन्फ्रास्ट्रक्चर ४० करोड १७ लाख ७१ हजार रुपैयाँ बराबरको कारोबार गरेर सबैभन्दा बढी कारोबार गर्ने कम्पनीको शीर्षस्थानमा रहेको छ ।

प्रकाशित मिति: ११ मंसिर २०८२, बिहिबार  १७ : ०५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।