रिलायन्स स्पिनिङ मिल्सलाई अन्तत धितोपत्र बोर्डले दियो आइपिओ निष्काशन गर्न अनुमति


काठमाडौँ । नेपाल धितोपत्र बोर्डले उच्च अदालत पाटनको आदेश कार्यान्वयन गर्दै रिलायन्स स्पिनिङ मिल्सलाई आईपीओ निष्कासनको अनुमति दिएको छ । बोर्डले मंगलबार आईपीओ निष्कासनको अनुमति दिएसँगै अब रिलायन्सको सेयर नेपाल स्टक एक्स्चेन्ज (नेप्से) मा सूचीकृत हुने प्रक्रिया सुरु भएको छ ।

उच्च अदालत पाटनले आईपीओ रोक्कासम्बन्धी विवादमा रिलायन्सको पक्षमा परमादेशको आदेश दिएको थियो । बोर्डले सोही आधारमा आईपीओ निष्कासनको अनुमति दिएको हो ।

धितोपत्र बोर्डले मंगलबार निष्काशन तथा बिक्री प्रवन्धक ग्लोबल आईएमई क्यापिटल लिमिटेडलाई दिएको पत्रमा भनिएको छ, ‘उच्च अदालत पाटनबाट मिति २०८१ असार १२ मा भएको स्वीकृति बमोजिम निवेदक कम्पनीको सेयर निष्कासन सम्बन्धमा कानुनबमोजिम आवश्यक निकासा दिनु भनी परमादेशको आदेश जारी भए अनुसार उक्त कम्पनीको सार्वजनिक निष्काशन सम्बन्धी प्रकृया अगाडि बढाउनु हुन जानकारी गराइन्छ ।’ रिलायन्सले एक वर्षअघि नै प्रतिकत्ता ८२०.८० रुपैयाँका दरले सर्वसाधारणलाई प्राथमिक सेयर निष्कासन गर्ने प्रक्रिया सुरु गरेको थियो ।

संस्थागत लगानीकर्ताले प्रतिकित्ता ९ सय १२ रुपैयाँका दरले आईपीओ किनिसकेका छन् । रिलायन्स स्पिनिङ मिल्स अग्रणी औद्योगिक घराना गोल्यान ग्रुप अन्तर्गत सञ्चालित छ । रिलायन्सको नेतृत्व हाल गोल्यान समूहका तेस्रो पुस्ताका प्रतिनिधि अक्षय गोल्यानले गरिरहेका छन् ।

उद्योगले अन्तर्राष्ट्रिय बजारमा समेत विशिष्ट पहिचान स्थापित गर्न सफल भएको छ । उद्योग तथा वाणिज्य क्षेत्रबाट राष्ट्रिय अर्थतन्त्रमा महत्वपूर्ण योगदान गरेको भन्दै नेपाल सरकारले गत असारमा स्पिनिङ मिल्सका नेतृत्वकर्ता अक्षयलाई ‘महत्वपूर्ण वर्ष व्यक्ति’ (सीआईपी) बाट सम्मान गरेको थियो ।

रिलायन्स उत्कृष्ट रोजगारदाता कम्पनीको रुपमा स्थापित छ । कम्पनीमा कार्यरत ४ हजार जनशक्तिमध्ये करिब करिब १ हजार ३ सय महिला छन् । उद्योग परिसरमा महिलाका लागि स्तनपान कक्ष, बालबालिकाका लागि डे केयर सेन्टर र कर्मचारीका छोराछोरीका लागि १२ कक्षासम्म अध्ययनको व्यवस्था दिइँदै आएको छ ।

उद्योग परिसरमै कर्मचारीका लागि सुविधा सम्पन्न लेवर कोलोनी, खेल मैदान, आधुनिक क्यान्टिन, एम्बुलेन्ससहित विशेषज्ञ डाक्टरको सुविधा पनि उपलब्ध छ । ९ हजार स्पिन्डल क्षमताबाट सुरु भएको रिलायन्स स्पिरिङ मिल्स हाल १ लाख २ हजार ८ सय २४ स्पिन्डलको जडित क्षमतासहित सञ्चालन भइरहेको छ ।

सुनसरीको खनार र दुहबीमा उद्योगका दुईवटा धागो कारखाना रहेका छन् । उद्योगले कपास, पोलिस्टर, भिस्कोज, एक्रेलिक र टेक्सचर्ड यार्न उत्पादन गर्दै आएको छ । उद्योगका उत्पादन नेपालभित्र खपत हुनुका साथै भारत, टर्कीलगायत देशमा निर्यात हुने गरेका छन् । वार्षिक ५ करोड अमेरिकी डलर बराबरको निर्यात हुन्छ ।

प्रकाशित मिति: १६ मंसिर २०८२, मंगलबार  १७ : ३४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।