बजार अनुमगनमा थप सक्रिय बन्दै वाणिज्य विभाग, दुई वटा फर्म कारबाहीमा


काठमाडौँ । पछिल्लो समय वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजार अनुगमन तथा निरीक्षणलाई प्रभावकारी बनाइरहेको छ । विभागले आइतबार काठमाडौँका विभिन्न १४ वटा उद्योग तथा फर्मको निरीक्षण गरेको हो ।

त्यसमध्ये दुई वटालाई कारबाहीको दायरामा ल्याएको विभागले जनाएको छ । विभागले कागेश्वरी मनोहरा–९ महानटारमा रहेको दाहाल गाई फार्मलाई पाँच हजार जरिवाना तोकेको छ । सो फार्मलाई विभागले उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा १५, दफा ३८ ‘घ’ बमोजिमको कसुरमा सोही ऐनको दफा ३९, १ ‘क’ बमोजिम कारबाही गर्ने जनाएको छ ।

यसैगरी, कागेश्वरी मनोहरा–९ गोठाटारमा रहेको डीएनएस काष्ठ तथा फर्निचर उद्योगलाई व्यवसायसँग सम्बन्धित कागजात लिई तीन दिनभित्र विभागमा उपस्थित हुन निर्देशन दिइएको विभागले विज्ञप्ती मार्फत जानकारी दिएको छ ।

विभागले अन्य १२ उद्योग वा फर्मलाई भने तत्काल सुधार गर्नुपर्ने केही राय सुझावसहित निर्देशन दिएको छ । जसमा पञ्चकन्या प्रोफाइल प्रालि, एएनएफ प्रालि, आनन्द प्लाष्टिक ललितपुर प्रालि, लिब्रा तयारी, पोशाक, श्री टेक्सटाइल प्रालि, अल्ट्रा रिन्युबल इनर्जी प्रालि, नेपाल ब्याट्री हाउस, ब्रजेश्वरी ओभरसिज प्रालि, श्री कलस अटो प्रालि, जिआर आयल स्टोर एण्ड खाद्य बिक्री, रिकोन निर्माण सेवा प्रालि र पुडासैनी दाना उद्योग रहेका छन् ।

विभागले मंसिर २६ गते ११, मंसिर २५ गते २० र मंसिर २४ गते १३ वटा उद्योगहरुलाई निर्देशन तथा कारबाही गरेको थियो ।

विभागले सार्वजनिक बिदाको दिन बाहेक अन्य दिन देशव्यापी रूपमा स्थानीय प्रशासनसमेतको सहयोगमा बजार अनुमगन तथा निरीक्षण गर्दै आएको छ ।

प्रकाशित मिति: २९ मंसिर २०८२, सोमबार  १३ : ५६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।