वैदेशिक व्यापार : चार महिनामा ७७ प्रतिशतले बढ्यो निर्यात


काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को चार महिनामा कुल वस्तु निर्यात ७७.५ प्रतिशतले वृद्धि भई ९३ अर्ब ५० करोड रुपैयाँ पुगेको छ । नेपाल राष्ट्र बैंकका अनुसार अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात ४.२ प्रतिशतले वृद्धि भएको थियो ।

गन्तव्यका आधारमा भारत र अन्य मुलुकतर्फको निर्यात क्रमशः ११३.९ प्रतिशत र २.९ प्रतिशतले वृद्धि भएको छ भने चीनतर्फको निर्यातमा ५६.२ प्रतिशतले कमी आएको छ । वस्तुगत आधारमा भटमासको तेल, अलैंची, पाम तेल, जुटका सामान, जुत्ता तथा चप्पललगायतका वस्तुको निर्यात बढेको छ भने जिंक सिट, पार्टिकल बोर्ड, चिया, ऊनी गलैंचा, हस्तकलाका सामान तथा अन्य हस्तकलालगायतका वस्तुको निर्यात घटेको छ ।

चालु आवको चार महिनामा कुल वस्तु आयात १८.७ प्रतिशतले वृद्धि भई ६ खर्ब ९ अर्ब ४५ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात ०.२ प्रतिशतले वृद्धि भएको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन र अन्य मुलुकबाट भएको आयात क्रमशः ६.६ प्रतिशत, २८.५ प्रतिशत र ४८.९ प्रतिशतले वृद्धि भएको छ ।

वस्तुगत आधारमा भटमासको कच्चा तेल, सुन, रासायनिक मल, यातायातका उपकरण, सवारी साधन तथा स्पेयर पार्टस्, चाँदीलगायतका वस्तुको आयात बढेको छ भने हट रोल्ड शिट इन क्वाइल, खाने तेल, लसुन, तेलहन, दाललगायतका वस्तुको आयात घटेको तथ्यांकमा उल्लेख गरिएको छ ।

चार महिनामा कुल वस्तु व्यापार घाटा १२.० प्रतिशतले वृद्धि भई ५ खर्ब १५ अर्ब ९६ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटामा ०.३ प्रतिशतले कमी आएको थियो । समीक्षा अवधिमा निर्यात/आयात अनुपात १५.३ प्रतिशत पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात १०.३ प्रतिशत रहेको थियो ।

प्रकाशित मिति: २९ मंसिर २०८२, सोमबार  १५ : २० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।