पोखरा विमानस्थलका पूर्व आयोजना प्रमुख बिनेश मुनकर्मी विरुद्ध भ्रष्टाचार मुद्दा दर्ता


काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा विमानस्थल आयोजनाका तत्कालीन प्रमुख बिनेश मुनकर्मी विरुद्ध गैरकानूनी सम्पत्ति आर्जन गरेको अभियोगमा विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । मंगलबार दर्ता गरिएको मुद्दामा मुनकर्मीले २ करोड ५० लाख ३४ हजार ५१७ रुपैयाँ बराबरको सम्पत्ति गैरकानूनी रूपमा आर्जन गरेको आरोप लगाइएको छ ।

मुनकर्मीले सरकारी सेवामा प्रवेश गरेदेखि २०५४ सालदेखि २०८० सालसम्मको अवधिमा कमाएको सम्पत्तिमाथि अख्तियारले छानबिन गरेको थियो । अख्तियारको दाबीअनुसार, मुनकर्मी र उनको परिवारको सो अवधिमा वैध आय ३ करोड ७३ लाख ८१ हजार ४४४ रुपैयाँ देखिएको छ । तर, उनको खर्च भने ६ करोड २४ लाख १५ हजार ९६१ रुपैयाँ पुगेको पाइएको छ । कुल आम्दानीभन्दा बढी देखिएको २ करोड ५० लाख ३४ हजार ५०० रुपैयाँ को स्रोत नखुलेकाले अख्तियारले त्यसलाई गैरकानूनी सम्पत्ति ठहर गरेको छ ।

अख्तियारले गैरकानूनी सम्पत्ति आर्जनको बिगो ९२ करोड ५० लाख ३४ हजार ५१७ रुपैयाँ असुल गरी जरिवाना गर्न माग गरेको छ। साथै, भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० अनुसार १ देखि ३ वर्षसम्म कैद सजाय को पनि माग गरिएको छ ।

मुनकर्मीले आफ्नो वैधानिक आयको तुलनामा अस्वाभाविक उच्च जीवनस्तर यापन गरेको, अख्तियारको दुरुपयोग गरी गैरकानूनी रूपमा सम्पत्ति आर्जन गरेको र श्रीमतीको नाममा सम्पत्ति खरिद गरेको अख्तियारको ठहर छ ।

यसका अतिरिक्त, उनले वार्षिक रूपमा पेस गर्ने सम्पत्ति विवरण फारममा झुटा विवरण पेस गरेको आरोपमा पनि मुद्दा चलाइएको छ । यो कसुरमा सोही ऐन अनुसार एकदेखि तीन महिना कैद र १० हजार रुपैयाँसम्म जरिवाना गर्न अख्तियारले माग गरेको छ ।

प्रकाशित मिति: १ पुस २०८२, मंगलबार  १७ : ०७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।