साताको सेयर बजार : कुन कम्पनीले कति कमाए ? कति गुमाए ?


काठमाडौँ । यो साता सेयर बजार नेप्सेमा उतारचढाव देखिएको छ । साताको ५ कारोबार दिनमध्ये ३ दिन बजारमा सुधार देखियो भने सुरुवाती र अन्तिम दिन परिसूचक ओरालो लागेको छ । साताभरिको कारोबारपछि नेप्से परिसूचक २६१५.०३ विन्दुमा पुगेको छ ।

साताको पहिलो दिन आइतबार सेयर बजारमा दोहोरो अंकको गिरावट देखिएको थियो । आइतबार नेप्से १२.५० अंकले घटेर २५९४.८७ विन्दुमा झरेको बजार, साताको अन्तिम दिन बिहीबार पुनः १०.६६ अंकले घटेर २६१५.०३ विन्दुमा पुगेको छ ।

आइतबारको गिरावटपछि सोमबारबाट बुधबारसम्म बजारमा लगातार सुधार देखिएको थियो । सोमबार ६.७४ अंकले बढेर २६०१.६१ विन्दुमा पुगेको नेप्सेमा मंगलबार १८.३७ अंकको दोहोरो सुधार आउँदा परिसूचक २६१९.९९ विन्दुमा पुगेको थियो । बुधबार लगातार तेस्रो दिन पनि सुधार कायम रहँदै नेप्से ५.७० अंकले बढेर २६२५.७० विन्दुमा पुगेको थियो ।

यो साता कारोबार रकममा पनि मिश्रित नतिजा देखिएको छ । बिहीबार बजार घटे पनि कारोबार रकममा भने उत्साह देखिएको छ । साताको कारोबारको अन्तिम दिन ४ अर्ब ५७ करोड ७८ लाख २७ हजार रुपैयाँ बराबरको सेयर किनबेच भयो, जुन यो साताकै उच्च कारोबार हो । साताको कारोबारको पहिलो दिन आइतबार ४ अर्ब ७४ लाख ५५ हजार रुपैयाँको सेयर किनबेच भएको थियो । सोमबार ३ अर्ब ४४ करोड १९ लाख रुपैयाँको कारोबार भएकोमा मंगलबार ३ अर्ब २९ करोड ४२ लाख रुपैयाँ र बुधबार ४ अर्ब ५ करोड ३७ लाख रुपैयाँको सेयर किनबेच भएको थियो ।

समग्रमा यो साता लगानीकर्ताहरूका लागि पर्ख र हेर को अवस्था सहित नाफा बुक गर्ने प्रवृत्ति हाबी हुँदा बजार २६०० को विन्दु वरिपरि नै घुमिरहेको देखिन्छ ।

बजार पुँजीकरण कस्तो रह्यो ?

गत साताको कारोबारको अन्तिम दिन बिहीबार बजार पूँजीकरण ४३ खर्ब ७७ अर्ब ८३ करोड २३ लाख रुपैयाँ कायम भएको थियो । यो साताको कारोबारको पहिलो दिन आइतबार बजार पुँजीकरण घटेर ४३ खर्ब ५६ अर्ब ८४ करोड २६ लाख रुपैयाँमा झरेको थियो । सोमबार नेप्से बढेसँगै बजार पुँजीकरण बढेर ४३ खर्ब ६८ अर्ब १६ करोड ७१ लाख रुपैयाँ पुग्यो । मंगलबार बजार पुँजीकरण ४३ खर्ब ९९ अर्ब २ करोड ४७ लाख रुपैयाँ कायम भयो । बुधबार बजार पुँजीकरणले ४४ खर्बको आँकडा पार गर्दै ४४ खर्ब ८ अर्ब ६१ करोड ३० लाख रुपैयाँ कायम भयो, जुन यो साताकै उच्च विन्दु हो ।

बुधबार ४४ खर्ब नाघेको बजार पुँजीकरण बिहीबार केही घटेर ४३ खर्ब ९० अर्बमा आए पनि लगानीकर्ताहरूको सम्पत्ति गत साताको तुलनामा सुरक्षित नै देखिएको छ ।

साताभरिमा कुन कम्पनीको सेयरमा देखियो सर्वाधिक वृद्धि

यो साता सेयर बजारमा उतारचढाव देखिए पनि साताभरि स्वस्तिक लघुवित्त र एसवाई प्यानलको सेयर मूल्य आइतबारदेखि बिहीबारसम्मको ५ दिनकै कारोबारमा सेयर मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लाग्यो । यी दुई बाहेक नारायणी डेभलपमेन्ट बैंकको सेयर मूल्य मंगलबार १० प्रतिशतले र बुधबार ८.७७ प्रतिशतले बढ्यो । साताको अन्तिम कारोबार दिन बिहीबार सिन्धु विकास बैंकको सेयर मूल्य ९.५६ प्रतिशतले बढेको छ ।

कुन कम्पनीको सेयर मूल्य सबैभन्दा बढी घट्यो ?

सेयर बजारमा बाराही हाइड्रोपावरको सेयर मूल्यमा बुधबार १० प्रतिशतले र बिहीबार ४.७६ प्रतिशतले घटेको थियो । हिमस्टार ऊर्जाको सेयर मूल्य सोमबार ६.९५ प्रतिशतले र आइतबार श्रीनगर एग्रिटेकको सेयर मूल्य ४.६५ प्रतिशतले र स्वेत गंगा हाइड्रोपावरको सेयर मूल्य ४.१६ प्रतिशतले घटेको थियो ।

कुन कम्पनीको सबैभन्द बढीको कारोबार भयो ?

साताको कारोबारको पहिलो तिन दिन ङ्यादी ग्रुप पावरले सर्वाधिक कारोबार गरेको थियो । यस कम्पनीले आइतबार १८ करोड ८७ लाख रुपैयाँँको सेयर किनबेच गर्दा सोमबार १४ करोड २५ लाख रुपैयाँ र मंगलबार १९ करोड ८२ लाख रुपैयाँको सेयर कारोबार गरेको थियो । त्यसपछिका कारोबार दिनमा बुधबार युनियन हाइड्रोपावरले २२ करोड ७८ लाख रुपैयाँको र बिहीबार बाराही हाइड्रोपावरले सर्वाधिक २४ करोड ७२ लाख रुपैयाँको सेयर कारोबार गरेको छ ।

 

प्रकाशित मिति: ४ पुस २०८२, शुक्रबार  ०७ : ५४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।