सर्वोच्चको आदेशसँगै रिलायन्स स्पिनिङ मिल्सको आईपीओ प्रक्रिया नरोकिने


काठमाडौँ । सर्वोच्च अदालतको आदेशसँगै रिलायन्स स्पिनिङ मिल्सको आईपीओ प्रक्रिया नरोकिने भएको छ । आईपीओको प्रक्रिया बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा दायर भएको रिटमा शुक्रबार न्यायाधीशहरु तिलप्रसाद श्रेष्ठ र बालकृष्ण ढकालको इजलासले माग बमोजिम नहुने अन्तिम आदेश जारी गरेको हो ।

यससँगै आईपीओ प्रक्रिया निर्वाध रुपमा अघि बढ्ने भएको छ । नेपाल शेयर बजार लगानीकर्ता संघ नामक संस्थाको तर्फबाट महासचिव खगेन्द्रराज कँडेलले मंसिर २२ गते हालसम्म भएका कामकारबाही उत्प्रेशणको आदेशले बदर गरी कम्पनीको पुनः विवरणपत्रको स्वीकृत तथा प्रकाशन गरी शेयर निष्काशन गर्न परमादेशको माग गर्दै अदालत पुगेका थिए ।

उतिबेला रजिष्ट्रार मानबहादुर कार्कीको आदेशबाट उक्त रिट दरपिठ भएको थियो । रजिष्ट्रार कार्कीको दरपिठ आदेशमा भनिएको थियो, ‘प्रस्तुत रिट निवेदनमा लिएको मागदावी सम्बन्धमा श्री उच्च अदालत पाटनमा रिट दायर भई मिति २०८१/११/२१ मा रिट निवेदन फैसला भइसकेको देखिँदा न्याय प्रशासन ऐन २०७३ को दफा १२ मा मुद्दा दोहो¥याई हेर्ने सम्बन्धी व्यवस्था बमोजिम सर्वोच्च अदालत प्रवेश गर्न मार्ग रहेकै देखिँदा प्रस्तुत रिट निवेदन सर्वोच्च अदालतको अधिकारक्षेत्र अन्तर्गत दर्ता गर्न मिलेन ।’

त्यसपछि कँडेल समूह रिट बोकेर इजलाश पुग्यो । इजलाशले उच्च अदालत पाटनबाट भएका फैसलासम्बन्धी कागजात माग ग¥यो । सर्वोच्चले पहिलो नजरमै उच्च अदालतको फैसलामा कुनै कैफियत र त्रुटी देखेन । त्यसपछि न्यायधीशद्वयको इजलाशले रजिष्ट्रार कार्कीको दरपिठ आदेश सदर गर्दै कँडेलेको ‘माग बमोजिम नहुने’ आदेश दिएको हो ।

कँडेलसमेत २ जनाले अर्थ मन्त्रालय समेतलाई विपक्षी बनाएर रिट दर्ता गरेका थिए । उनको रिट निवेदनमा हालसम्म भएका कामकारबाही उत्प्रेशणको आदेशले बदर गरी कम्पनीको पुनः विवरणपत्रको स्वीकृत तथा प्रकाशन गरी शेयर निष्काशन गर्न परमादेशको माग गरिएको थियो ।

उच्च अदालत पाटनको आदेश कार्यान्वयन गर्दै नेपाल धितोपत्र बोर्डले अवरुद्ध आईपीओ निष्काशन प्रक्रिया सुरु गर्न स्वीकृति दिएसँगै रिलायन्सले मंसिर २२ गतेदेखि विदेशमा बस्ने नेपालीको लागि आईपीओ निष्काशन खुला गरेको थियो ।

वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरुको निमित्त निष्काशन गरिएको १ लाख १५ हजार ५९६ कित्ता शेयरको लागि करिब १७ गुणा बढी १९ लाख ४४ हजार ३३० कित्ताको आवेदन परेको थियो ।

वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरूका लागि खुला गरेको आईपीओ बाँडफाँड पश्चात कम्पनीले अब सर्वसाधारण लगानीकर्ताका आगामी पुस ७ गतेदेखि सेयर निष्काशन गर्न लागेको हो ।

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।

सर्वसाधारण समूहमा निष्कासन हुने कुल ११ लाख ५५ हजार ९६० कित्तामध्ये वैदेशिक रोजगारमा रहेका, सामूहिक लगानी कोष, कर्मचारीलाई छुट्याएर बाँकी रहेको ९ लाख २४ हजार ७६८ कित्ता आम सर्वसाधारणका लागि खुल्ने भएको हो ।

सर्वसाधारणले न्यूनतम ५० तथा अधिकतम २० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । बुक बिल्डिङ विधिबाट कम्पनीको सेयर मूल्य सर्वसाधारणका लागि प्रतिकित्ता ८२० रुपैयाँ ८० पैसा तय भएको छ । यस कम्पनीको आईपीओ भर्न एक व्यक्तिलाई कम्तीमा ४१ हजार ४० रुपैयाँ चाहिन्छ ।

कम्पनीले तीब्र आर्थिक बृद्धि गर्दासमेत दुई वर्षअघिको नाफालाई आधार मानेर तय गरिएको मूल्यमै आईपीओ निष्काशन गरेको छ । बुक बिल्डिङ विधिबाट आईपीओ निष्कासन प्रक्रिया सुरु गरेको रिलायन्सले एक वर्षअघि आईपीओको मूल्य ८२० रुपैयाँ ८० पैसा तय गरेको थियो । आर्थिक वर्ष २०८०र८१ को नाफाको आधारमा उक्त मूल्य निर्धारण गरिएको थियो । उक्त आवमा कम्पनीले ५ करोड ४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो भने प्रतिशेयर आम्दानी २ रुपैयाँ ९५ पैसा थियो । गत आर्थिक वर्ष २०८१र८२ मा कम्पनीले खुद नाफा ४७ करोड ५८ लाख रुपैयाँ पु¥याउँदै ८४४ प्रतिशतको छलाङ हानेको छ ।

प्रतिशेयर आम्दानी पनि ८४४ प्रतिशतको दरले बढेको छ । यस हिसाबले आज सहभागी हुने लगानीकर्ताहरुले पनि ८४४ प्रतिशत नाफा वृद्धि भएको कम्पनीलाई रिकभरी मूल्यमा जोड्नुअघिको सस्तो मूल्यमै शेयर पाउनेछन् ।

रिलायन्स स्पिनिङ मिल्स नेपालको ठूलो धागो उत्पादक र रोजगारदाता उद्योग हो । पछिल्लो ५ वर्षको वार्षिक वित्तीय विवरण विश्लेषण गर्दा उसको अवस्था निकै बलियो देखिन्छ । आर्थिक वर्ष २०८०-८१ र २०८१-८२ को वित्तीय विवरण तुलना गर्दा त रिलायन्सले तीब्र आर्थिक पुनः उत्थान (भी–सेप्ड रिकभरी) हाँसिल गरेको छ ।

कम्पनीको लेखा परीक्षण गरिएको वार्षिक वित्तीय विवरणले कुल आम्दानी र सञ्चालन नाफामा उल्लेख्य वृद्धि भएको देखाउँछ । आव २०८०-८१ मा रिलायन्सको कुल आम्दानी ९ अर्ब २० करोड ६० लाख रुपैयाँ रहेकोमा आव २०८१-८२ मा १० अर्ब २३ करोड ७८ लाख रुपैयाँ पुगेको छ । त्यसैगरी सञ्चालन नाफा ५७ करोड २८ लाखबाट बढेर १ अर्ब ३ करोड ७२ लाख रुपैयाँ पुगेको छ ।

कम्पनीको नगद सञ्चय पनि राम्रो देखिन्छ । आव २०८१-८२ मा कम्पनीको ५ अर्ब ८२ करोड ३९ लाख रुपैयाँ कुल जगेडा कोष रहेको छ । १८ महिनाअघि मूल्यांकन स्थिर गरिएदेखि कम्पनीले ४७ करोड ५८ लाख रुपैयाँ जगेडामा थपेको छ । त्यसैगरी पुनर्मूल्यांकनसहित प्रतिशेयर नेटवर्थ पनि ४११ रुपैयाँ ११ पैसा रहेको छ । हालको आईपीओ मूल्यले प्रक्रिया रोकिएको समयमा थपिएको जगेडा कोष र नेटवर्थलाई पूर्ण रुपमा समेटेको छैन । आर्थिक वर्ष २०८१-८२ को नाफाको आधारमा आईपीओ मूल्य तय गर्दा मूल्य अझ बढ्ने भए पनि अदालतको आदेशअनुसार पुरानै प्रक्रियाले निरन्तरता पाउँदा लगानीकर्ता लाभान्वित हुने अवस्था बनेको हो ।

प्रकाशित मिति: ५ पुस २०८२, शनिबार  ०८ : ०८ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।