आजसम्म सेयर किन्नेले मात्र यी ५ कम्पनीको लाभांश पाउने


काठमाडौँ । आजसम्म नेप्सेमा कायम सेयरधनीले मात्र ५ कम्पनीको लाभांश सुरक्षित गर्न सक्ने छन् । साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ महालक्ष्मी विकास बैंक, नेपाल लाइफ इन्स्योरेन्स, तारागाउँ रिजेन्सी होटल्स, सिनर्जी हाइड्रो इनर्जी र नेपाल हाइड्रो डेभलोपरले भोली बुकक्लोज गर्दै छन् ।

यस अनुसार आजसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले यी कम्पनीहरुको साधारण सभामा सहभागिता जनाउन तथा यी कम्पनीहरुले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्। महालक्ष्मी विकास बैंकले पुस २१ गते, सोमबार, त्रिभुवन आर्मी अफिसर्स क्लब, भद्रकाली, काठमाडौँमा बिहान १० बजे चौबीसौँ वार्षिक साधारण सभा बोलाएको छ। सभाले हाल कायम चुक्ता पूँजीको ५ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थसहित ५।३७ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।

त्यस्तै, नेपाल लाइफ इन्स्योरेन्सले पुस १९ गते, शनिबार, होटल भिष्वा, वीरगंजमा बिहान ९ बजे २६ औँ वार्षिक साधारण सभा बोलाएको छ। सभाले हाल कायम चुक्ता पूँजीको ५ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थसहित १६।०५ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। तारागाउँ रिजेन्सी होटल्सले पुस २३ गते, बुधबार, नेपाल आर्मी अफिसर्स क्लब, भद्रकाली, काठमाडौँमा बिहान ११ बजे २९ औँ वार्षिक साधारण सभा बोलाएको छ।

सभाले हाल कायम चुक्ता पूँजीको ५ प्रतिशतका दरले नगद लाभांश ९करबाहेक० वितरण गर्ने, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पारित गर्नेछ। सिंगटी हाइड्रो इनर्जीले पुस २१ गते, सोमबार, धुम्रबराह भेन्यु, धुम्बाराही, काठमाडौँमा बिहान ११ बजे सोह्रौँ वार्षिक साधारण सभा बोलाएको छ। सभाले हाल कायम चुक्ता पूँजीको ५ प्रतिशत बोनस शेयर वितरण गर्ने र बोनस शेयर वितरणपश्चात कायम चुक्ता पूँजीको शतप्रतिशत हकप्रद शेयर निष्काशन गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।

त्यसैगरी, नेपाल हाइड्रो डेभलोपर लिमिटेडले पुस २३ गते, अम्रपाली बैंकेट, भाटभटेनी, काठमाडौँमा बिहान ११ बजे १९ औँ वार्षिक साधारण सभा बोलाएको छ।

सभाले हाल कायम चुक्ता पूँजीको ९ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ ०।४७ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। यसका साथै सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, स्वतन्त्र सञ्चालक नियुक्ति अनुमोदन गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

प्रकाशित मिति: ६ पुस २०८२, आइतबार  ०७ : ४० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।