काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो पाँच महिना (साउन–मंसिर) मा नेपालको निर्यात व्यापारमा सुधार आएको छ । भन्सार विभागको तथ्यांक अनुसार यो अवधिमा निर्यात व्यापार ५८.१७ प्रतिशतले बढेको छ ।
गत आर्थिक वर्षको यहि अवधिमा ७३ अर्ब ६५ करोड ९७ लाख ७१ हजार रुपैयाँको निर्यात गरेकोमा चालु आर्थिक वर्षमा निर्यात बढेर १ खर्ब १६ अर्ब ५० करोड ९० लाख ३६ हजार रुपैयाँ पुगेको छ ।
यस्तै चालु आर्थिक वर्षमा आयातमा पनि १५.८३ प्रतिशतले वृद्धि भएको छ । गत आर्थिक वर्षको पाँच महिनामा ६ खर्ब ६१ अर्ब ४८ करोड ८५ लाख ९४ हजार रुपैयाँको वस्तु तथा सेवा आयात भएकोमा चालु आर्थिक वर्षमा आयात बढेर ७ खर्ब ६६ अर्ब १८ करोड ९१ लाख ९२ हजार रुपैयाँ पुगेको छ ।
आयात र निर्यात दुबैमा उल्लेख्य वृद्धि हुँदा व्यापार घाटा १०.५२ प्रतिशतले बढेको छ । गत आर्थिक वर्षको पहिलो पाँच महिनामा ५ खर्ब ८७ अर्ब ८२ करोड ८८ लाख २२ हजार रुपैयाँ रहेको व्यापार घाटा बढेर ६ खर्ब ४९ अर्ब ६८ करोड १ लाख ५६ हजार रुपैयाँ पुगेको छ ।
यस्तै चालु आर्थिक वर्षमा नेपालको कुल वैदेशिक व्यापारमा २०.०७ प्रतिशतले वृद्धि भएको छ । गत आर्थिक वर्षको तुलना अवधिमा ७ खर्ब ३५ अर्ब १४ करोड ८३ लाख ६५ हजार रुपैयाँ रहेको वैदेशीक व्यापार बढेर ८ खर्ब ८२ अर्ब ६९ करोड ८२ लाख २९ हजार रुपैयाँ पुगेको छ ।












प्रतिक्रिया