काठमाडौँ । सेयर बजार परिसुचक पछिल्लो एक महिनामा ५१.२५ अंकले बढेको छ । नेपाल स्टक एक्सजेन्जका अनुसार मंसिर महिनाको कारोबारको पहिलो दिन १ गते सोमबार नेप्से २५५०.३६ अंकमा पुगेर बन्द भएको बजार मंसिरको कारोबारको अन्तिम दिन २९ गते सोमबार नेप्से २६०१.६१ अंकमा पुगेर बजार बन्द भएको थियो ।
मंसिर महिना उतारचढावको बिच ११ गते नेप्से सबैभन्दा उच्च २६७६.०३ अंकमा पुगेको थियो । सो समयमा लगानीकर्ताले राष्ट्र बैंकले ल्याउने मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षाबाट राहतको अपेक्षा गरेका थिए । तर समीक्षाले लगानीकर्ताको अपेक्षालाई सम्बोधन गर्न नसक्दा त्यसपछिको कारोबारमा बजारमा क्रमिक गिरावट आएको देखियो ।
मंसिरको मध्यतिर बढेको बजार महिनाको अन्त्यमा सोचेजस्तो नहुनुमा राष्ट्र बैंकको नीतिगत व्यवस्था मुख्य कारण रहेको विज्ञहरु बताउँछन् । स्टक ब्रोकर एसोसिएसनका पूर्व अध्यक्ष भरत रानाभाटका अनुसार त्रैमासिक समिक्षामा राष्ट्र बैंकले केही लचकता अपनाउने आशामा बजार बढेको थियो । उनी भन्छन्, “बैंक तथा वित्तीय संस्थाले सेयर किनेको ६ महिनापछि मात्र बेच्न पाउने व्यवस्थालाई खुकुलो बनाइने आशा थियो, तर समीक्षामा त्यसो नहुँदा बजारमा पुनः गिरावट देखिएको हो ।”
यता, राष्ट्र बैंकले अरु नीतिहरु खुकुलो गरेपनि बैंकहरुलाई धेरै नीतिहरुमा कडाई गरेको कारणले गर्दा पनि बजार घटेको सेयर बजारका जानकार छोटेलाल रौनियारको भनाई छ । रौनियार भन्छन्, “पहिले बैंकहरुले सेयर बिक्री गर्दा लगानीकर्ताले किन्न पाउँथे, तर राष्ट्र बैंकले बैंकहरुको लगानीमा कडाइ गरिदियो । मौद्रिक नीतिको समिक्षामा सजिलो हुने आशामा रहेका बैंकहरुले लगानी गर्न नपाएपछि बजारमा गिरावट आएको हो ।”
एक महिनामा सबैभन्दा बढी मूल्य बढ्ने १० कम्पनी
मंसिर महिनामा बोट्लर्स नेपाल बालाजुका लगानीकर्ताले सबैभन्दा बढी कमाएका छन् । यस कम्पनीको सेयर मूल्य सबैभन्दा बढी ४२० अंकले बढेको छ । यस्तै दोस्रो स्थानमा बोट्लर्स नेपाल तराईको सेयर मूल्य ३६२ अंकले बढेको छ । सेयर मूल्य सबैभन्दा बढी बढ्ने कम्पनीको तेस्रो स्थानमा उपकार लघुवित्त रहँदा उक्त कम्पनीको सेयर मूल्य ३१७ अंकले बढेको छ ।
साल्ट ट्रेडिङको सेयर मूल्य १६४.९ अंकले बढ्दा बिशाल बजार कम्पनीको सेयर मूल्य १३० अंकले बढेको छ ।
अद्धितीय नेपाल लघुवित्तको सेयर मूल्य १२४ अंकले बढ्दा स्वाभिमान लघुवित्तको सेयर मूल्य १२१ अंकले र भुगोल इनर्जीको सेयर मूल्य ११७.४ अंकले बढेको छ ।
राष्ट्रिय बीमा कम्पनीको सेयर मूल्य १०९ अंकले बढेर सबैभन्दा बढी सेयर मूल्य बढ्ने कम्पनीको नवौं स्थानमा रहँदा एनआरएनए इन्फ्रास्टक्चरको सेयर मूल्य १०४ अंकले बढेर सबैभन्दा बढी सेयर मूल्य बढ्ने कम्पनीको दशौं स्थानमा रहेको छ ।
सबैभन्दा बढी सेयर मूल्य घट्ने १० कम्पनी
यो अवधिमा युनिलिभर नेपालका लगानीकर्ताले भने ठुलो रकम गुमाएका छन् । समिक्षा अवधिमा यस कम्पनीको सेयर मूल्य १७१० अंकले घटेको छ । यस्तै हिमालयन डिष्टिलरीको सेयर मूल्य १८६ अंकले घटेको ओरालो लागेको छ । तारागाउँ रेजेन्सी होटलको सेयर मूल्य ११२.९ अंकले घटेको छ ।
गार्जीयन माइक्रो लाइफको सेयर मूल्य ९९.३ अंकले घटेको छ । मुक्तिनाथ विकास बैंकको सेयर मूल्य ८८.५ अंकले र मुक्तिनाथ कृषि कम्पनीको सेयर मूल्य ८६ अंकले घटेको छ । सुपर माई हाइड्रोपावरको सेयर मूल्य ७३ अंकले घटेको छ ।
विन्ध्यवासिनी हाइड्रोपावरको सेयर मूल्य ७० अंकले घट्दा सामुदायिक लघुवित्तको सेयर मूल्य ४४.८ अंकले घटेको छ । समता घरेलु लघुवित्तको सेयर मूल्य ४३.९ अंकले घटेको छ ।
बजार पुँजीकरणको आधारमा बिशाल बजार पहिलो स्थानमा
यो अवधिमा कुल बजार पुँजीकरणको आधारमा बिशाल बजार कम्पनी शीर्षस्थानमा रहेको छ । यो अवधिमा बिशाल बजार कम्पनीको बजार पुँजीकरण १ खर्ब ९५ अर्ब २८ करोड २९ लाख रुपैयाँ कायम रहेको छ ।
दोस्रो स्थानमा १ खर्ब ६८ अर्ब ४४ करोड ८४ लाख रुपैयाँ सहित नेपाल पुनर्बीमा कम्पनी रहेको छ भने १ खर्ब ५७ अर्ब ३२ करोड रुपैयाँ सहित नेपाल दुरसञ्चार कम्पनी बजार पुँजीकरणको तेस्रो स्थानमा रहेको छ ।
यस्तै नबील बैंक र सिटिजन्स बैंक पनि शीर्ष पाँचभित्र रहेका छन् । नबील बैंकको बजार पूँजीकरण १ खर्ब ३३ अर्ब ६६ करोड १६ लाख रुपैयाँ हुँदा सिटिजन्स बैंकको बजार पुँजीकरण १ खर्ब १९ अर्ब ३९ करोड ३१ लाख रुपैयाँ कायम भएको छ ।
हिमालयन पुनर्बीमा कम्पनी ८९ अर्ब ६५ करोड रुपैयाँ सहित छैठौँ स्थान रहेको छ भने, एभरेष्ट बैंक ८८ अर्ब ६६ करोड ७५ लाख रुपैयाँ सहित सातौँ स्थानमा रहेको छ । ग्लोबल आइएमई बैंक ८६ अर्ब ४० करोड ८६ लाख रुपैयाँ सहित आठौँ, नेपाल जीवन बीमा कम्पनी ७३ अर्ब ६७ करोड ४७ लाख रुपैयाँ सहित नवौँ र नेपाल इन्भेष्टमेन्ट मेघा बैंक ६५ अर्ब ८३ करोड ४० लाख रुपैयाँ सहित दशौँ स्थानमा रहेको छ ।
कारोबार रकमको आधारमा ङ्यादी ग्रुप अग्रस्थानमा
यस अवधिमा सर्वाधिक रकमको कारोबार गर्ने कम्पनीको शीर्षस्थानमा ङ्यादी ग्रुप पावर रहेको छ । यस अवधिमा कम्पनीले ३ अर्ब ३१ करोड ६१ लाख रुपैयाँ बराबरको सेयर कारोबार गरेको छ । त्यस्तै एनआरएन इन्फ्रास्टक्चर ३ अर्ब २७ करोड ५२ लाख रुपैयाँको कारोबार सहित दास्रो र हिमालयन पुनर्बीमा कम्पनी २ अर्ब ३५ करोड ४ लाख रुपैयाँ सहित कारोबार सहित तेस्रो स्थानमा रहेको छ ।
शिवम् सिमेन्ट र नेपाल पुनर्बीमा कम्पनी पनि उच्च कारोबार हुने कम्पनीको शीर्ष पाँचमा रहेका छन् । उक्त अवधिमा शिवम् सिमेन्टले २ अर्ब १४ करोड १४ लाख रुपैयाँको सेयर कारोबार गरेको छ भने नेपाल पुनर्बीमा कम्पनीले १ अर्ब ९६ करोड ९८ लाख रुपैयाँको सेयर कारोबार गरेको छ । राधी विद्युत १ अर्ब ९१ करोड ७२ लाख रुपैयाँको कारोबार सहित छैठौँ स्थानमा रहँदा शाहस ऊर्जा १ अर्ब ८२ करोड ८ लाख रुपैयाँको कारोबार सहित सातौँ स्थानमा रहेको छ ।
यस्तै बरुण जलविद्युत १ अर्ब ८० करोड ९३ लाख रपैयाँको कारोबार सहित आठौँ स्थानमा, युनियन जलविद्युत १ अर्ब ६९ करोड २७ लाख रुपैयाँको कारोबार सहित नवौँ र बन्दीपुर केबलकार १ अर्ब ६७ करोड ३७ लाख रुपैयाँ बराबरको सेयर कारोबार सहित दशौँ स्थानमा रहेको छ ।
कारोबार संख्या : बन्दीपुर केबलकार लगानीकर्ताको आकर्षणमा
यो अवधिमा सेयर किनबेच भएको आधारमा बन्दीपुर केबलकार लगानीकर्ताको पहिलो रोजाईमा परेको छ । एक महिनाको अवधिमा यस कम्पनीको सेयर १ लाख ३३ हजार ८२९ पटक कारोबार भएको छ । श्रीनगर एग्रिटेक ५९ हजार ६८७ पटकको कारोबार सहित दोस्रो र बुङगल हाइड्रो ५८ हजार ५९४ पटकको कारोबार सहित तेस्रो स्थानमा रहेको छ । सागर डिष्टिलरी ५१ हजार ४३६ पटकको कारोबार सहित चौथो स्थानमा रहेको छ भने, दरमखोला हाइड्रो ४२ हजार १८७ पटकको कारोबार सहित पाँचौ स्थानमा रहेको छ ।
हिमालयन बैंक ३७ हजार १६४ पटकको कारोबार सहित छौठौँ स्थानमा रहँदा माबिलुङ इनर्जी २९ हजार १७ पटकको कारोबार सहित सातौँ स्थानमा रहेको छ ।
यस्तै विकास हाइड्रोपावर कम्पनी २७ हजार ७२२ पटकको कारोबार सहित आठौँ स्थानमा, हिमालयन पुनर्बीमा कम्पनी २३ हजार ६६६ पटकको कारोबार सहित नवौं स्थानमा र ट्रेड टावर २० हजार ११७ पटकको कारोबार सहित दशौं स्थानमा रहेको छ ।












प्रतिक्रिया