अण्डामा अस्वभाविक मूल्यवृद्धि: एक महिनामा ४ पटक बढ्यो भाउ, उपभोक्ता मारमा


काठमाडौँ । पछिल्लो समय अण्डाको मूल्य अस्वभाविक रुपमा वृद्धि भएको छ । नेपाल लेयर्स कुखुरापालक संघले एक महिनामा मात्रै चार पटक मूल्य समायोजन गरेपछि उपभोक्ताहरु महँगीको मारमा परेका छन् ।

यसरी अण्डाको भाउ महँगिएर हाल प्रतिक्रेट ६०० रुपैयाँ हारहारीमा पुगेको छ । जाडो मौसम सुरु भएसँगै संघले मंसिर ३ गतेदेखि लागु हुनेगरि पहिलो पटक मूल्य बढाएको थियो । त्यसयता लगातार चार पटक मूल्य वृद्धि भइसकेको छ ।

संघले मंसिर ३ गते ठूलो अण्डा प्रतिक्रेट ४५०, मध्यम अण्डाको ४३५ रुपैयाँ तोकेको थियो ।

संघले दास्रो पटक मंसिर ७ गते फेरी मूल्य बढाएर एक्सएल अण्डाको मूल्य प्रतिक्रेट ५२०, ठूलो अण्डाको ५०५, मध्यम अण्डाको ४९० रुपैयाँ तोकेको थियो ।

मंसिर १३ गतेबाट लागु हुने गरि संघले तेस्रो पटक मूल्य समायोजन गरेर एक्सएल अण्डा प्रतिक्रेट ५६० रुपैयाँ, ठूलो अण्डा प्रतिक्रेट ५४५ रुपैयाँ र मध्यम अण्डा प्रतिक्रेट ५३० रुपैयाँ तोकेको थियो ।

संघले २० दिनको अवधिमा चौथो पटक मंसिर २३ गते मूल्य समायोजन गरेर एक्सएल अन्डाको प्रतिक्रेट मूल्य ५८० रुपैयाँ तोक्यो । यस्तै ठूलो अण्डा प्रतिक्रेट ५६५ र मध्यम अण्डाको ५५० रुपैयाँ निर्धारण गरेको थियो, जुन हाल पनि कायम रहेको छ ।

संघले तोकेको यो मूल्य होलसेल दर हो । खुद्रा पसलसम्म पुग्दा उपभोक्ताले प्रतिक्रेट ६०० रुपैयाँ भन्दा बढी तिर्नुपरेको छ । बानेश्वरकी उपभोक्ता प्रमिला खड्का भन्छिन्, ‘एक महिनाअघि ४५० मा पाइने अण्डालाई अहिले ६०० रुपैयाँ तिर्नुपरेको छ । यस्तो महँगीले भान्सा चलाउन गाह्रो भइसक्यो ।’

अण्डाको मूल्य बढ्नुमा जाडोका कारण उत्पादन घट्नु र किसानको लागत मूल्य बढ्नुलाई प्रमुख कारण बताइएको छ । व्यवसायीहरुले किसानलाई घाटाबाट जोगाउन र लागत उठाउन मूल्य समायोजन अनिवार्य रहेको दाबी गरेका छन् ।

यस अघि मंसिर ३ गते अण्डाको मूल्य समायोजन गर्दा संघले भारतमा भएको निर्वाचनका कारण आयात रोकिदा मूल्य बढाउनु परेको दाबी गरेको थियो ।

जबकी भारतबाट आउने अण्डामा भने सरकारले पूर्ण प्रतिबन्ध लगाएको छ । यस्तो अवस्थामा अण्डाको मूल्यमा भइरहेको निरन्तर वृद्धि उत्पादक संघहरूले गरेको मिलेमतोको परिणाम भएको र यसमा सरकारी निकायले नै आपराधिक गतिविधि गर्ने वातावरण बनाइरहेको उपभोक्ता अधिकारकर्मीले बताएका छन् ।

उपभोक्ता अधिकारकर्मीहरुले भने उत्पादन घटेको बहानामा सीमित व्यवसायीहरुको मिलेमतोमा मूल्य बढाएको आरोप लगाएका छन् । केही व्यवसायीहरुले कृत्रिम अभाव सिर्जना गरेर महिनामै चार पटकसम्म मूल्य बढाउनु उपभोक्तामाथिको लुट भएको उनीहरुको आरोप छ ।

बजारमा अधिकांश खुद्रा पसलमा बढी मूल्यमा अण्डा बिक्री गर्दा पनि नियमनकारी निकाय वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले कुनै नियमन नगरेको उपभोक्ता अपधकारकर्मी माधव तिम्लिसिनाले बताए ।

विगतमा अण्डा उत्पादक संघले अण्डाको मूल्य निर्धारण गर्दै आएको थियो । पछिल्लो समयमा कहिले नेपाल लेयर्स कुखुरापालक संघ र पोल्ट्री व्यवसायी मञ्च लगायतका संघले पनि यस्तो मूल्य निर्धारण गर्दै आएको उनको भनाइ छ ।

किसानले लागत मूल्य पाउनुपर्ने धारणा राख्दै व्यवसायीहरुले आफु खुशी मूल्य निर्धारण गरेको उनले दाबी गरे । ‘स्वदेशी उत्पादनको नाममा किसानलाई देखाएर उपभोक्ताले उपभोग गर्नै नसक्ने गरी महिनामै चार पटकसम्म मूल्य निर्धारण गरी उपभोक्तालाई लुट्न खोजिएको हो,’ उनले भने ।

संघले भने अण्डाको लागतअनुसार थोक मूल्य निर्धारण गरिएको दाबी गरेको छ ।

जाडोयामका कारण अण्डाको उत्पादन निक्कै घटेकाले किसानलाई लागत मूल्यअनुसार खर्च उपलब्ध गराउन मंसिर महिनामा चार पटकसम्म अण्डाको समर्थन फार्म (होलसेल) बिक्री मूल्य निर्धारण गरिएको संघको दाबी छ ।

कुखुरा, दाना, चल्ला र अण्डा उत्पादन गर्ने र बजार मूल्य तोक्ने समूह एउटा भएको र ती सरकारबाट संरक्षित रहेको तिमिल्सिनाको आरोप छ ।

‘उत्पादन घटेको बाहानामा बजारमा अभाव सिर्जना गरेर मूल्य बढाउने धन्दा चलेको छ, यसमा सरकारले अनुगमन गर्नुपर्छ,’ उनले भने ।

प्रकाशित मिति: ८ पुस २०८२, मंगलबार  ०९ : ३० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।