काठमाडौँ । नेपालीहरूको प्रमुख चाड दसैँ नजिकिँदै गर्दा सुनचाँदी बजारमा विगतका वर्षमा जस्तो उत्साह देखिएको छैन ।
सुनको मूल्य निरन्तर उच्च बिन्दुमा पुगेपछि दसैँको अवसरमा सुनका गरगहना किन्ने उपभोक्ताको संख्या घटेको छ ।
चाडपर्वमा नयाँ गहना किन्ने, परिवारका सदस्यलाई सुन उपहार दिने तथा भविष्यका लागि सुन सञ्चय गर्ने चलन रहे पनि मूल्य अत्यधिक महँगिएपछि उपभोक्ताले खरिद योजना स्थगित गर्न थालेका छन् ।
दसैँ, तिहार र विवाहको मौसममा सुनचाँदीको कारोबार सामान्यतया बढ्ने गर्छ । विशेषगरी दसैँको अवसरमा नयाँ गहना बनाउने, पुराना गहना मर्मत गर्ने तथा परिवारका सदस्यका लागि सुनका सामग्री खरिद गर्ने उपभोक्ताको चहलपहल सुनचाँदी पसलमा देखिने गरेको थियो । तर यस वर्ष सुनको मूल्यमा भएको तीव्र वृद्धिले उपभोक्ताको खरिद क्षमतामा असर पारेको व्यवसायीहरू बताउँछन् ।
विगतका वर्षको तुलनामा सुन कारोबार सुस्त भएको नेपाल सुनचाँदी व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष दियशरत्न शाक्यले बताए । ‘गत वर्षदेखि नै सुन कारोबार घटेको छ ।’ उनले भने, ‘विगत दुई वर्षको तुलनामा यस वर्ष एक तिहाई मात्र सुन कारोबार भएको छ ।’
उनका अनुसार, पछिल्लो समय सुनको मूल्य अध्याधिक बढेर प्रतितोला ३ लाख नाघेपछि नेपालीहरुले सुन किन्न सक्ने क्षमता नरहको हो । सीमित आम्दानीले सुन किन्न नसक्ने उनको भनाई छ ।
विगतका वर्षहरुमा तिज, दसैँ तथा तिहार जस्ता पर्वहरुमा सुनको कारोबार बढी हुने गरेता पनि गत वर्षदेखि चाडपर्वमा सुन कारोबार सुस्ताएको जय मातादेवी ज्वलर्सका राजकुमार बराइलीले बताए ।
‘सुनको मूल्य ३ लाख नाघेपछि सुनको माग नै कम भएको छ ।’ उनले भने, ‘चाडपर्वमा सुनको कारोबार बढ्ने गरेको थियो, तर मूल्य अधिक बढेपछि गहना बनाउनै छाडे ।’
उनका अनुसार, अहिले गहना बनाउनेहरु आएपछि पुरानो गहनालाई नयाँ बनाउने मात्र आउँछन् । नयाँ सुन किन्नेहरु आधा पनि नहुने उनको भनाई छ ।
दसैँ, तिहारलगायत चाडपर्व सुनचाँदी व्यवसायका लागि महत्त्वपूर्ण कारोबार हुने समय मानिन्छ । यही समयमा बजारमा माग बढ्ने अपेक्षा गरिए पनि मूल्यकै कारण कारोबार अपेक्षाअनुसार हुन नसकेको बराइलीले बताएका छन् ।
सुन नेपाली समाजमा गरगहनाका रूपमा मात्र नभई बचत र सम्पत्तिका रूपमा समेत महत्वपूर्ण मानिन्छ । केही वर्षअघि सामान्य आम्दानी भएका परिवारले समेत आफ्नो क्षमताअनुसार गहना खरिद गर्ने गरेका थिए । तर सुनको मूल्य उच्च हुँदै जाँदा थोरै परिमाणको गहना बनाउनसमेत ठूलो रकम खर्च गर्नुपर्ने अवस्था आएको छ ।
सुनको मूल्यमा हुने उतारचढावले ग्राहकको खरिद निर्णयमा प्रत्यक्ष असर पार्ने गरेको छ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढ्दा त्यसको प्रभाव नेपाली बजारमा पनि पर्ने गरेको छ । सुनलाई बचत तथा लगानीको माध्यमका रूपमा हेर्ने उपभोक्तासमेत मूल्य अत्यधिक बढेकाले केही घट्छ कि भन्ने दोधारमा छन् ।
दसैँको समयमा सुनको कारोबार बढ्न नसक्दा व्यवसायीहरू पनि चिन्तित बनेका छन् । चाडपर्वको समयमा पनि सुनको कारोबार नहुँदा व्यवसाय चलाउनै गाह्रो भएको सगरमाथा सुनचाँदी पसलका राजुले बताए ।
चाडपर्व लक्षित गहना निर्माण तथा पसल सञ्चालनमा खर्च हुने भए पनि ग्राहकको खरिद क्षमता कमजोर हुँदा अपेक्षित व्यापार गर्न कठिन भएको उनको भनाइ छ ।
उनका अनुसार, सुनको मूल्य केही घटेमा चाडपर्वको बाँकी अवधिमा कारोबार बढ्न सक्ने अपेक्षा छ । तर, मूल्य उच्च रहिरहेमा यस वर्षको दसैँमा सुनचाँदी बजारको कारोबार विगतको तुलनामा सुस्त रहने देखिएको छ ।
एक वर्षमा सुनको मूल्यमा देखिएको उत्तरचढाव
नेपाल सुनचाँदी व्यवसायी महासंघले राखेको तथ्यांक हेर्दा पछिल्लो एक वर्षमा सुनको भाउमा निक्कै उतारचढाव आएको देखिन्छ । सुनको मूल्य प्रत्येक दिन र महिनामा फरक पर्छ । तर, वार्षिक रुपमा तथ्यांक हेर्दा एक वर्षमा प्रत्येक महिना हजारौँ रुपैयाँ प्रतितोला बढेको देखिन्छ ।
सुरक्षित लगानीका रूपमा चिनिएको सुनमा लगानी बढेपछि भाउले एकपछि अर्को कीर्तिमान बनाएको हो । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यवृद्धिले नेपाली बजार पनि तातेको छ ।
२०८२ साल लागेसँगै दैनिक बढ्दै गएको सुनको मूल्य वृद्धि भदौ महिनादेखि अत्याधिक बढ्न सुरु भएको थियो, जतिबेला सुनले पहिलो पटक ऐतिहासिक मूुल्य २ लाखको सीमा पार गरेको थियो । भदौ १३ गते पहिलो पटक सुनको मूल्य २ लाख माथि पुगेको हो । त्यसपछि विशेषगरी चाडपर्वको चटारो रहेको असोज महिनामा सुनले झन् ठूलो छलाङ मार्दै असोज ३० गते साढे २ लाख नाघेको थियो ।
यसरी सुनको मूल्यमा आएको बढोत्तरीले सुनको बजारमा सुनको माग र आपूर्तिमा ठूलो असन्तुलन समेत देखिएको थियो । वर्षकै सबैभन्दा डरलाग्दो रेकर्ड भने माघ महिनामा कायम भयो, जहाँ नेपाली सुन बजारको इतिहासमै पहिलो पटक सुन ३ लाखको सीमा नाघेको पुग्यो । माघ १३ गते ऐतिहासिक मूल्य पुगेको सुनको मूल्य ३ लाख ३९ हजार ३०० रुपैयाँसम्म पुगेको थियो ।
माघ महिनामा ऐतिहासिक मूल्यमा पुगेको सुनको मूल्यमा उच्च गिरावट पनि आएको थियो । ३ लाख ३९ हजार पुगेको सुनको भाउ तीन दिनमा नै ५२ हजारसम्मको गिरावट आएको थियो । त्यतिबेला अमेरिकी केन्द्रीय बैंकसम्बन्धी एक महत्वपूर्ण राजनीतिक–आर्थिक खबरपछि अन्तर्राष्ट्रिय वित्तीय बजारमा उल्लेखनीय उतारचढाव देखिएको थियो ।
चैतमा भने मूल्य केही कमी आएको थियो । त्यससँगै सुनको भाउ चैत १० गते २ लाख ७२ हजारसम्म झरेको थियो । त्यसयता भने सामान्य घटबढ हुँदै सुनको मूल्य ३ लाख हाराहारीमा कारोबार भईरहेको थियो ।
पुनः आर्थिक वर्ष २०८३/८४ को बजेट मार्फत सरकारले भन्सार शुल्क १० प्रतिशतबाट बढाएर २० प्रतिशत पुर्यायो । त्यसपछि सुनको मूल्य एकैदिन २० हजारले बढेर ३ लाख ११ हजार नाघेको थियो ।
अन्तराष्ट्रिय बजारमा सुनको मूल्यमा उल्लेख्य गिरावट आएपछि नेपाली बजारमा भन्सार शुल्कका कारण उच्च गिरावट भने देखिएन । त्यसयता सुनको मूल्य सामान्य घटबढ हुँदै ३ लाख हाराहारीमा कारोबार भइरहेको छ ।








