काठमाडौँ । नेपाली समाजमा दसैँकेवल धार्मिक तथा सांस्कृतिक पर्व मात्र होइन, पुस्तौँदेखि हस्तान्तरण हुँदै आएको सामाजिक सम्बन्ध, पारिवारिक भेटघाट, खानपान र मनोरञ्जनको पर्व पनि हो । तर समयसँगै मानिसको जीवनशैली, प्रविधिको प्रयोग, पारिवारिक संरचना र खर्च गर्ने तौरतरिकामा आएको परिवर्तनले दसैँमनाउने शैलीसमेत बदलिँदै गएको छ ।
एउटै परिवारका हजुरआमा, छोराछोरी र नातिनातिनाले दसैँलाई फरक–फरक ढंगले अनुभव गरेका छन् । उनीहरूका लागि दसैँको अर्थ एउटै भए पनि मनाउने माध्यम र प्राथमिकता भने पुस्ताअनुसार फरक देखिन्छ ।
हजुरआमाले मनाउने दसैँभन्नासाथ गाउँघर, आफन्तको जमघट, नयाँ लुगा, घरमै बनाइने परिकार, पिङ र टीकाको सम्झना आउँछ । त्यसपछिको पुस्ता अर्थात् आमाको पुस्ताले दसैँमा रेडियो, टेलिभिजन र बजारबाट किनमेललाई महत्व दिन थाले । अहिलेको पुस्ताका लागि भने दसैँको अनुभव मोबाइल, सामाजिक सञ्जाल, अनलाइन किनमेल, डिजिटल भुक्तानी र देश–विदेशमा रहेका आफन्तसँग भिडियो कलमार्फत जोडिने माध्यमसम्म पुगेको छ ।
हजुरआमाको दसैँ
अघिल्लो पुस्ताका लागि दसैँको तयारी धेरै पहिलेदेखि सुरु हुन्थ्यो । घर सफा गर्ने, लिपपोत गर्ने, नयाँ लुगा सिलाउने, गाउँघरमा पिङ हाल्ने र टाढा रहेका आफन्त घर फर्किने प्रतीक्षा दसैँको प्रमुख हिस्सा हुन्थ्यो ।
त्यतिबेला मनोरञ्जनका साधन सीमित थिए । मोबाइल फोन, इन्टरनेट र सामाजिक सञ्जालको कल्पनासमेत थिएन । त्यसैले गाउँमा पिङ हालिएपछि बालबालिका र युवाको ठूलो जमघट त्यहीँ हुन्थ्यो । पिङ खेल्दै, साथीभाइसँग कुराकानी गर्दै र आफन्तसँग भेटघाट गर्दै दसैँबित्थ्यो ।
टाढा रहेका परिवारका सदस्यहरूलाई भेट्न बस, पैदल यात्रा वा अन्य उपलब्ध यातायातको सहारा लिनुपथ्र्यो । घर फर्किनकै लागि लामो समय यात्रा गर्नुपर्ने भए पनि त्यसमा छुट्टै उत्साह हुन्थ्यो ।
दसैँमा नयाँ कपडा किन्नु पनि ठूलो अवसर मानिन्थ्यो । अहिले जस्तो वर्षभरि आवश्यकताअनुसार कपडा तथा सामान खरिद गर्ने चलन व्यापक थिएन । त्यसैले दसैँमा नयाँ कपडा लगाउने कुराले बालबालिकामा विशेष उत्साह ल्याउँथ्यो ।
खानपान पनि धेरै हदसम्म घरमै उत्पादन भएका वस्तुमा आधारित हुन्थ्यो । गाउँमा पालेका खसीबोका, घरको अन्न, स्थानीय तरकारी तथा परिकार दसैँको खानामा जोडिन्थे । बजारमा निर्भरता तुलनात्मक रूपमा कम थियो ।
दसैँभनेको परिवार एक ठाउँमा भेला हुने अवसर हो । वर्षभरि अलग–अलग ठाउँमा रहेका छोराछोरी, नातिनातिना तथा आफन्त दसैँमा घर फर्किन्थे । घरमा टीका लगाउने, आशीर्वाद लिने र ठूलाबडासँग समय बिताउने चलन नै दसैँको केन्द्रमा हुन्थ्यो ।
आमाको दसैँ
हजुरआमाको पुस्ता पछि अर्थात् आमाको पुस्ताले दसैँको अर्को रूप देख्यो । आर्थिक गतिविधि विस्तार हुँदै जाँदा दसैँसँग बजार र उपभोग पनि जोडिँदै गयो ।
यस पुस्ताका लागि दसैँमा नया लुगा, जुत्ता, घरायसी सामान, विद्युतीय उपकरण तथा अन्य वस्तु खरिद गर्ने चलन बढ्यो । टेलिभिजन दसैँको मनोरञ्जनको प्रमुख माध्यम बन्यो । परिवारका सदस्यहरू एउटै कोठामा बसेर टेलिभिजन हेर्ने, दसैँविशेष कार्यक्रम तथा चलचित्र हेर्ने चलन भयो ।
त्यसैगरी सार्वजनिक यातायातको विस्तारसँगै दसैँमा घर फर्किने यात्राको स्वरूप पनि बदलियो । रोजगारी तथा अध्ययनका लागि सहरमा बस्नेहरू गाउँ फर्किन थाले । यसले दसैँलाई ग्रामीण क्षेत्रको मात्र नभई सहर–गाउँ जोड्ने पर्वका रूपमा समेत स्थापित ग¥यो ।
यो पुस्ताले परम्परा र आधुनिकताको बीचमा रहेर दसैँमनायो । घरमा टीका लगाउने र पिङ खेल्ने परम्परा कायम रहँदा बजारबाट किनमेल गर्ने तथा टेलिभिजनमा मनोरञ्जन लिने संस्कार पनि थपियो ।
नातीनीको दसैँ
अहिले दसैँको दृश्य धेरै बदलिएको छ । पिङ अझै कतिपय ठाउँमा देखिन्छ, तर बालबालिका र युवाको ठूलो हिस्सा मोबाइल फोन, सामाजिक सञ्जाल र डिजिटल मनोरञ्जनमा व्यस्त देखिन्छ ।
दसैँमा नयाँ लुगा लगाउने परम्परा कायमै भए पनि त्यसको खरिद गर्ने माध्यम बदलिएको छ । बजारमा गएर मात्र सामान किन्नुपर्ने अवस्था छैन । मोबाइलबाटै कपडा, जुत्ता, इलेक्ट्रोनिक्सदेखि उपहारका सामानसम्म अर्डर गर्न सकिन्छ ।
डिजिटल भुक्तानीले पनि दसैँको किनमेललाई सहज बनाएको छ । नगद बोकेर बजार घुम्नुपर्ने बाध्यता घट्दै गएको छ । मोबाइल बैंकिङ, डिजिटल वालेट तथा कार्डबाट भुक्तानी गर्ने चलन बढेको छ ।
दसैँमा घर फर्किने यात्रुहरूले पनि मोबाइलमै टिकट खोज्ने, बुकिङ गर्ने र यात्रासम्बन्धी सूचना लिने गरेका छन् । सडकको अवस्था, मौसम, यातायातको समय र गन्तव्यसम्मको दूरीसमेत मोबाइलबाटै जानकारी लिन सकिन्छ ।
तर प्रविधिको बढ्दो प्रयोगसँगै दसैँको सामाजिक स्वरूपमा परिवर्तन आएको छ । एउटै घरमा बसेका परिवारका सदस्यहरू समेत आ–आफ्नो मोबाइलमा व्यस्त हुने अवस्था देखिन्छ । पहिले पिङमा भेटिने साथीहरू अहिले सामाजिक सञ्जालमा जोडिएका छन् ।
नयाँ पुस्ताका लागि दसैँपरम्परा र डिजिटल जीवनशैलीको मिश्रण बनेको छ । नातिनी पुस्ताले हजुरआमाबाट टीका र आशीर्वाद लिन्छ, तर त्यही क्षणको तस्बिर मोबाइलमा खिचेर सामाजिक सञ्जालमा राख्छन् ।
दसैँको पोसाक पनि सामाजिक सञ्जालसँग जोडिन थालेको छ । नयाँ कपडा किन्ने, लगाउने र त्यसको तस्बिर तथा भिडियो बनाउने चलन बढेको छ । दसैँका अनुभव व्यक्तिगत सम्झनामा मात्र सीमित नरही डिजिटल सामग्रीका रूपमा समेत सुरक्षित हुन थालेका छन् ।
विदेशमा रहेका परिवारका सदस्यहरू घर फर्किन नसके पनि भिडियो कलमार्फत टीका तथा शुभकामना आदानप्रदान गर्न सक्छन् । भौतिक दूरी कायम रहे पनि डिजिटल प्रविधिले परिवारलाई सम्पर्कमा राखेको छ ।
नयाँ पुस्ताको दसैँमा घुमफिर पनि महत्वपूर्ण बनेको छ । दसैँको लामो बिदालाई उपयोग गर्दै परिवार तथा साथीभाइसँग आन्तरिक पर्यटकीय गन्तव्यमा जाने, होटल तथा रिसोर्टमा बस्ने र नयाँ अनुभव सामाजिक सञ्जालमा साझा गर्ने प्रवृत्ति बढेको छ ।
यसले दसैँसँग जोडिएको खर्चको स्वरूपसमेत परिवर्तन गरेको छ । पहिले मुख्यतः कपडा, मासु, खाद्यान्न र यातायातमा केन्द्रित खर्च अहिले पर्यटन, रेस्टुरेन्ट, होटल, डिजिटल सेवा, इलेक्ट्रोनिक्स तथा अनलाइन किनमेलसम्म फैलिएको छ ।
एउटै पर्व, फरक अनुभव
तीन पुस्तालाई हेर्दा दसैँको मूल भावना भने उस्तै देखिन्छ । हजुरआमाका लागि दसैँपरिवारसँग भेटघाट र परम्पराको निरन्तरता हो । बीचको पुस्ताका लागि यो परिवारसँगै बजार, यात्रा र मनोरञ्जन जोडिएको पर्व हो । नातिनातिनाका लागि भने दसैँपरम्परासँगै प्रविधि, सामाजिक सञ्जाल र नयाँ अनुभवको अवसर बनेको छ ।
पिङबाट मोबाइलसम्म आइपुग्दा दसैँको स्वरूपमा ठूलो परिवर्तन आएको छ । तर टीका लगाउने, ठूलाबडाको आशीर्वाद लिने, आफन्त भेट्ने र परिवारसँग खुसी साट्ने परम्परा अझै कायम छ ।
प्रविधिले दसैँलाई केही अर्थमा सहज र फराकिलो बनाएको छ भने प्रत्यक्ष भेटघाटको समय घटाउने चुनौती पनि थपेको छ । त्यसैले तीन पुस्ताबीचको दसैँको फरक केवल मनोरञ्जनको साधनमा होइन, समय बिताउने शैली, खर्च गर्ने तरिका, किनमेलको माध्यम र सामाजिक सम्बन्ध कायम गर्ने तरिकामा समेत देखिन्छ ।
हजुरआमाको पिङदेखि नातिनीको मोबाइलसम्म आइपुग्दा दसैँ बदलिएको छ । तर पुस्ता फेरिए पनि दसैँले परिवारलाई जोड्ने अवसर भने अझै गुमाएको छैन । यही निरन्तरताभित्र परम्परा र प्रविधिको नयाँ सहयात्रा देखिन थालेको छ ।








