५ महिनामा साढे ६ खर्ब व्यापार घाटा


काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को मङ्सिर मसान्तसम्म मुलुकले कूल ८ खर्ब ८२ अर्ब ६९ करोड ८२ लाख २९ हजार रुपैयाँको वैदेशिक व्यापार गर्दा ६ खर्ब ४९ अर्ब ६८ करोड रुपैयाँ घाटा व्यहोरेको छ ।

भन्सार विभागले सार्वजनिक गरेको ५ महिनाको वैदेशिक व्यापारको स्थिति प्रतिवेदनअनुसार यो अवधिमा ७ खर्ब ६६ अर्ब १८ करोड ९१ लाख रुपैयाँको आयात र १ खर्ब १६ अर्ब ५० करोड रुपैयाँको निर्यात भएको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा आयात १५.८३ र निर्यात ५८.१७ प्रतिशतले बढेको विभागले जनाएको छ ।

भारतसँग मात्र ५ महिनामा ३ खर्ब ३९ अर्ब २ करोड रुपैयाँ भन्दा बढी व्यापार घाटा देखिएको छ । यो अवधिमा भारतबाट ४ खर्ब ३४ अर्ब ६ करोड ४२ लाखको वस्तु आयात हुँदा ९५ अर्ब ४ करोड २० लाख रुपैयाँ बराबरको मात्रै निर्यात भएको छ । अर्को छिमेकी मुलुक चीनसँग १ खर्ब ६३ अर्ब ७३ करोड ४८ लाख रुपैयाँको आयात र ४६ करोड ६८ लाख रुपैयाँ बराबरको मात्र निर्यात हुँदा नेपालले १ खर्ब ६३ अर्ब २६ करोड ८० लाख रुपैयाँको घाटा व्यहोरेको छ ।

नेपालले व्यापार नाफा गरेका मुलुकहरुमा भने रोमानिया पहिलो स्थानमा देखिएको छ । पछिल्लो ५ महिनामा रोमानियासँग नेपालको कूल वैदेशिक व्यापार नाफा ६ करोड ३४ लाख ६९ हजार रुपैयाँ बराबर छ । त्यस्तै स्वीडेन, इराकलगायतका मुलुकसँग नेपालको व्यापार नाफा छ ।

यो अवधिमा पेट्रोलियम पदार्थको आयात सबैभन्दा बढी छ । विभागका अनुसार पछिल्लो ५ महिनामा ४५ अर्ब ६० करोड ६२ लाख ११ हजार रुपैयाँ बराबरको डिजेल, २७ अर्ब ३३ करोड २ लाख बराबरको पेट्रोल र २२ अर्ब ३९ करोड ४६ लाख रुपैयाँ बराबरको खाना पकाउने ग्यास आयात भएको छ । १९ अर्ब १३ करोड ६९ लाख रुपैयाँको स्मार्टफोन, ४६ अर्ब ९७ करोड रुपैयाँको कच्चा सोयाबिन तेल, २१ अर्ब ८४ करोड ६३ लाख रुपैयाँ बराबरको फलामजन्य वस्तु आयात भएको छ ।

नेपालले बढी निर्यात गरेका वस्तुमा सोयाबिन तेल पहिलो स्थानमा देखिएको छ । यो अवधिमा ४६ अर्ब ५५ करोड ८६ लाख ६६ रुपैयाँ हजार बराबरको सोयाबिन तेल निर्यात भएको छ । त्यस्तै ५ अर्ब ५३ करोड ३२ लाख रुपैयाँ बराबरको ठूलो अलैँची, ४ अर्ब १३ करोड ३४ लाख रुपैयाँ बराबरको कार्पेट र ३ अर्ब ७३ करोड रुपैयाँ बराबरको सूर्यमुखी तेल निर्यात भएको छ ।

प्रकाशित मिति: ८ पुस २०८२, मंगलबार  १२ : ११ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।