ज्योति लाइफको व्यवसाय ९२.५३ % ले बढ्यो, ६६ करोडको आईपीओ आउँदै

0
Shares

ज्योति लाइफ इन्स्योरेन्सले चालु आवको दोस्रो त्रैमासमा गत आवको यसै अवधिको तुलनामा ९२.५३ प्रतिशतले व्यवसाय बढाएको विवरण सार्वजनिक गरेको छ ।

इन्स्योरेन्सले चालु आवको पुस मसान्तसम्मा १६ हजार ६८६ बीमालेख जारी गरी एक अर्ब ३९ करोड ६७ लाख रुपैयाँ खुद बीमाशुल्क संकलन गरेको छ । जुन गत आवको दोस्रो त्रैमासको तुलनामा ९२.५३ प्रतिशतले धेरै हो । अघिल्लो आर्थिक वर्षमा अवधिमा कम्पनीले ९ हजार ९५५ बीमालेख जारी गरी ७२ करोड ५४ लाख रुपैयाँ खुद बीमाशुल्क संकलन गरेको थियो ।

व्यवसाय विस्तारमा आक्रमक देखिएको इन्स्योरेन्सले खुद नाफा ५६.५६ प्रतिशतले बढाएको छ । पुस मसान्तसम्ममा इन्स्योरेन्सले १० करोड ७८ लाख रुपैयाँ खुद नाफा कमाएको छ । समिक्षा अवधिमा इन्स्योरेन्सले ६ करोड ६९ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । तर इन्स्योरेन्सको यो नाफामा बीमाङ्कीय मूल्याकन पछि फेरबदल आउन सक्ने छ ।

यस अवधिमा इन्स्यारेन्सले ३९ करोड ९९ लाख ६० हजार रुपैयाँ बीमालेख धितोमा कर्जा प्रवाह गरेको छ । गत आवको सोही अवधिमा इन्स्योरेन्सले ७ करोड ६२ लाख रुपैयाँ बीमालेख धितोमा कर्जा प्रवाह गरेको थियो ।

इन्स्योरेन्सले चालु आवको ६ महिनामा एक करोड ५१ लाख ७५ हजार रुपैयाँ खुद दावी भुक्तानी गरेको छ । समिक्षा अवधिमा कम्पनीले १८ लाख रुपैयाँ बराबरको दावी भुक्तानी गरेको थियो ।

एक अर्ब ५४ करोड रुपैयाँ चुक्ता पूँजी रहेको इन्स्योरेन्सको जगेडा कोषमा ४८ करोड २४ लाख रुपैयाँ सञ्चित छ । त्यस्तै, कम्पनीको जीवन बीमा कोष १४१.५२ बढेर २ अर्ब ९१ करोड ७९ लाख रुपैयाँ सञ्चित भएको छ । महाविपत्ति जगेडा कोषमा ५३ करोड ८० लाख रुपैयाँ सञ्चित छ ।

इन्स्योरेन्समा आवद्ध भएका बीमा अभिकर्ताले अभिकर्ता कमिशन वापत २२ करोड ३३ लाख रुपैयाँ बुझेका छन् । जुन गत आवको सोही अवधिको तुलनामा ८०.४८ प्रतिशतले बढी हो ।

कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी १४ रुपैयाँ छ । त्यस्तै, प्रतिशेयर नेटवर्थ १३४.८१ रुपैयाँ, प्रतिशेयर कुल सम्पत्तिको मुल्य ३३९.९३ रुपैयाँ रहेको छ ।
इन्स्योरेन्सले कुल जारी पूँजीको ३० प्रतिशतले हुने ६६ करोड रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्न धितोपत्र बोर्डमा आवेदन दिईसकेको छ । आईपीओ निष्काशन पश्चात इन्स्योरेन्सको चुक्ता पूँजी दुई अर्ब २० करोड रुपैयाँ पुग्ने छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।