काठमाडौँ । पछिल्लो समय सुनचाँदीको मूल्यमा उत्तरचढाव कायमै रहेको छ । साताको दोस्रो कारोबार दिन सोमबार नेपाली बजारमा चाँदीको मूल्यमा नयाँ रेकर्ड कायम भएको छ । आज सुनमा सामान्य गिरावट आएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार चाँदी तोलामा ६० रुपैयाँले बढेसँगै रेकर्ड बनाएको हो । सोमबार चाँदी प्रतितोला ४ हजार ८९५ रुपैयाँ कायम भएको छ । जुन हालसम्मकै उच्च मूल्य हो । आइतबार चाँदी प्रतितोला ४ हजार ८३५ रुपैयाँमा कारोबार भएको थियो ।
यसैगरी, उच्च मूल्यमा पुगेको सुनको मूल्य सोमबार तोलामा ६०० रुपैयाँले घटेको छ । आज सुन प्रतितोला २ लाख ७० हजार रुपैयाँ कायम भएको महासंघले जनाएको छ । आइतबार प्रतितोला सुन २ लाख ७० हजार ६०० रुपैयाँमा खरिदबिक्री भएको थियो । जुन ऐतिहासिक मूल्य हो ।
नेपालमा अन्तर्राष्ट्रिय बजारका आधारमा सुनको मूल्य निर्धारण गर्ने गरिएको छ ।
सोमबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ४ हजार ५१३.०७ अमेरिकी डलर र चाँदी ७९.५६ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
यसैबीच, अब महिनामा एक पटक मात्रै चाँदी आयात गर्नेले एकैपटकमा चार गुणा बढीसम्म आयात गर्न सक्ने भएका छन् । आइतबार नेपाल राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले एक परिपत्र मार्फत उक्त व्यवस्था गरेको थियो ।
उद्योगीले एक पटकमा बढीमा ५ लाख डलरसम्मको चाँदी आयात गर्न पाउने व्यवस्था रहेकामा अब एकैपटक २० लाख अमेरिकी डलरसम्मको आयात गर्न पाउने भएका छन् । तर, २० लाख डलरसममको आयात गर्नेले महिनामा एक पटक मात्रै उक्त सीमा अनुसार आयात गर्न पाउने राष्ट्र बैंकले जनाएको छ ।












प्रतिक्रिया