विशाल बजार र राष्ट्रिय बीमा कम्पनीको लापरवाहीले लगानीकर्ता मर्कामा, शेयर कारोबारबाट बञ्चित

0
Shares

नेपाल स्टक एक्सचेन्ज (नेप्सेले) धितोपत्रको दोस्रो बजारमा ब्लु चिप शेयर भनेर चिनिने राष्ट्रिय बीमा कम्पनी र विशाल बजार कम्पनीको शेयर कारोबारमा रोक लगाएको छ ।

नेप्सेले यी दुवै कम्पनीले बार्षिक तथा अर्धवार्षिक प्रतिवेदन तथा वित्तीय विवरण नबुझाएपछि कारोबार रोक्का गरेको हो । नेप्सेले दुबै कम्पनीलाई पत्राचार गरेर प्रतिवेदन तथा वित्तीय विवरण मागेको भएपनि कम्पनीहरुले वेवास्था गरेपछि नेप्सेले कारबाही स्वरुप कारोबार नै रोक्का गरेको हो।

नेप्सेले धितोपत्र सूचीकरण विनियमावली अनुुसार नेप्सेलाई समयमा बार्षिक प्रतिवेदन तथा वित्तीय विवरण नबुझाउने कम्पनीको शेयर कारोबार रोक्का गर्न सक्ने व्यवस्था छ ।

विनियमावली अनुसार नेप्सेले कारोबार रोक्का गर्दा ३ महिनासम्म गर्न सक्ने व्यवस्था रहेको छ । यो विचमा समय थप गर्नुपरेमा धितोपत्र बोर्डको अनुमतिमा थप गर्न सक्छ । तर, यो बीचमा सूचीकृत कम्पनीले पालना गर्नुपर्ने नियमको पालना गरेको खण्डमा कारोबार खुल्ने व्यवस्था विनियमावलीले गरेको छ ।

राष्ट्रिय बीमा कम्पनी नेप्सेको निर्जीवन बीमा समुहमा सूचीकृत छ भने विशाल बजार ब्यापार समुहमा सूचीकृत कम्पनी हो । पछिल्लो दिनको कारोबारका आधारमा राष्ट्रिय बीमा कम्पनीको प्रतिकित्ता शेयर मूल्य १७ हजार ३ सय २२ रुपैयाँ रहेको छ । त्यसैगरी बिशाल बजार कम्पनीको २ हजार ९ सय २१ रुपैयाँ रहेको छ ।

राष्ट्रिय बीमा कम्पनीले आर्थिक २०६७/६८ देखि वार्षिक साधारणसभा गरेको छैन भने विशाल बजार कम्पनीले आर्थिक वर्ष २०७१/२०७२ देखि वार्षिक साधारणसभा गरेका छैन ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।