भौतिक पुर्वाधार पुनःनिर्माण कोषमा १३ करोड ३५ लाख सङ्कलन


काठमाडौँ । गत भदौ २३ र २४ गतेको जेन–जी प्रदर्शनका क्रममा आगजनी र तोडफोडबाट क्षति भएका भौतिक संरचनाको पुनःनिर्माणका लागि सरकारले स्थापना गरेको ‘भौतिक पूर्वाधार पुनःनिर्माण कोष’मा हालसम्म १३ करोड ३५ लाख ६५ हजार रुपैयाँ जम्मा भएको छ ।

अर्थ मन्त्रालयका प्रवक्ता टङ्कप्रसाद पाण्डेयका अनुसार आज बिहानसम्म उक्त रकम जम्मा भएको हो । कोषमा आज मात्रै सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत एक करोड एक लाख रुपैयाँ सहयोग उपलब्ध गराएको पनि मन्त्रालयले जनाएको छ । गत हप्ता मेटलाइफ नेपालले २५ लाख रुपैयाँ र त्यसअघि दि ओरिएण्टल इन्स्योरेन्सले २० लाख रुपैयाँ सहयोग गरेका थिए ।

जेनजी प्रदर्शनका क्रममा क्षति भएका भौतिक संरचनाको पुनःनिर्माण लागि सरकारले उक्त कोष स्थापना गरेको थियो । कोषमा योगदानका लागि सरकारले सर्वसाधारण नागरिक, निजी क्षेत्र, गैरआवासिय नेपाली, विकास साझेदार, विभिन्न संघसंस्था, दातृ निकायलगायतलाई आग्रह गरेको थियो ।

पुनःनिर्माण कोषमा गरिने आर्थिक सहायता रकम योगदानकर्ताको चालु आर्थिक वर्षको करयोग्य आय गणना गर्दा घटाउन वा खर्च कट्टी गर्न पाइने सुविधा सरकारले दिएको छ ।

पुनःनिर्माणका कोषका लागि राष्ट्रिय वाणिज्य बैंक सिंहदरवार शाखामा खाता खोलिएको छ । योगदानकर्ताले कोषको खाता नम्बर १९६०१००१०२०७०००४ मा सहायता रकम जम्मा गर्न सक्नेछन् ।

प्रकाशित मिति: २१ पुस २०८२, सोमबार  १३ : ०६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।