काठमाडौं । चालुआर्थिक वर्ष २०८२/८३ को पाँच महिनाको अवधिमा नेपाल र भेनेजुएलाबीच ७० लाख ८८ हजार रुपैयाँबराबरको वैदेशिक व्यापार भएको छ ।
यसमध्ये नेपालले भेनेजुएलाबाट ३९ लाख २९ हजार रुपैयाँबराबरको आयात गरेको छ । यस्तै ३१ लाख ५९ हजार रुपैयाँबराबरका विभिन्न सामान भेनेजुएलामा निर्यात गरेको छ ।
चालुआर्थिक वर्षमा नेपालले भेनेजुएलाबाट ३९ लाख २२ हजार रुपैयाँबराबरको ५ हजार १४८ किलो काजु आयात गरेको छ । यस्तै ७ हजार रुपैयाँबराबरको सवारीसाधनको सिट र खाद्यान्न परिकार आयात गरेको छ ।
यो अवधिमा नेपालले भेनेजुएलामा ३१ लाख ५९ हजार रुपैयाँबराबरको ३६२ किलो एन्टिबायोटिक औषधि निर्यात गरेको छ । चालु आर्थिक वर्षमा भेनेजुएलासँग द्विपक्षीय वैदेशिक व्यापार गर्दा ७ लाख ७० हजार रुपैयाँबराबरको वैदेशिक व्यापार घाटा बेहोरेको छ ।
यस्तै गत आर्थिक वर्ष २०८१/८२ मा नेपालले भेनेजुएलासँग १ करोड ३४ लाख ७१ हजार रुपैयाँबराबरको वैदेशिक व्यापार भएकोमा ७६ लाख २२ हजार रुपैयाँबराबरको भेनेजुएलाबाट आयात र ५८ लाख ४९ हजार रुपैयाँबराबरको नेपालबाट निर्यात भएको थियो ।
भन्सार विभागको तथ्यांकअनुसार गत आर्थिक वर्षमा नेपालले भेनेजुएलाबाट ५३ लाख ३६ हजार रुपैयाँबराबरको ५० हजार किलो गेडागुडी, ११ लाख ४३ हजार रुपैयाँबराबरको १०० थान स्क्यानर, ४ लाख ६९ हजार रुपैयाँबराबरको ४ थान प्रिन्टर मेसिन आयात भएको थियो ।
यस्तै गत आर्थिक वर्षमा नेपालबाट ५७ लाख ४१ हजार रुपैयाँबराबरको ६६९ किलो खुद्रामा बिक्री गर्नका लागि विभिन्न प्रकारका एन्टिबायोटिक औषधि भेनेजुएलामा निर्यात भएको थियो । यसबाहेक १ लाख रुपैयाँबराबरको ६५ किलो अगरबत्ती पनि निर्यात भएको थियो ।
त्यो वर्षमा नेपालले भेनेजुएलासँग द्विपक्षीय वैदेशिक व्यापारमा १७ लाख ७३ हजार रुपैयाँबराबरको व्यापार घाटा बेहोरेको थियो।










प्रतिक्रिया