काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सामाजिक सुरक्षा भत्ता हिनामिना गरेको आरोपमा ओखलढुङ्गाको लिखु गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतहरूसहित पाँच जनाविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
आयोगले तत्कालीन प्रमुख प्रशासकीय अधिकृतहरू ओमबहादुर दर्जी र अभयकुमार गुप्ता, निमित्त प्रमुख प्रशासकीय अधिकृत दीनानाथ चौधरी, लिखु गाउँपालिकाको ९ नम्बर वडाका वडाध्यक्ष शुकवीर तामाङ र पालिकाको एमआइएस अपरेटर खिला विकविरुद्ध मुद्दा दायर गरेको हो ।
तत्कालीन प्रमुख प्रशासकीय अधिृकत दर्जीविरुद्ध ९ लाख ५३ हजार ६०० रुपैयाँ, गुप्ताविरुद्ध ११ लाख ६७ हजार २०० रुपैयाँ, चौधरीविरुद्ध ७ लाख ९४ हजार ४०० रुपैयाँ, वडाध्यक्ष तामाङ र जिआइएस अपरेटर विकविरुद्ध जनही ३१ लाख ६७ हजार २०० रुपैयाँ र भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ११ बमोजिम कैद सजायसमेत माग गरेको छ ।
निजहरुले विभिन्न आर्थिक वर्षमा मृत्यु भइसकेका लाभग्राहीको लगत कट्टा नगरी भत्ता वितरण गरेको देखाइ ३१ लाख ६७ हजार २०० रुपैयाँ हिनामिना गरेको पुष्टि भएको आयोगका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए ।






