काठमाडौँ । अमेरिकाले सैन्य कारबाहीमार्फत भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोलाई नियन्त्रणमा लिएपछि विश्व बजारमा अस्थिरता बढेको छ ।
अमेरिकाले भेनेजुएलामाथि सैन्य कारबाही गरी राष्ट्रपति निकोलस मादुरोलाई कब्जामा लिएपछि अन्तर्राष्ट्रिय बजारमा सुन र चाँदीको मूल्यमा उच्च वृद्धि भएको व्यवसायीहरु बताउँछन् ।
नेपालमा अन्तराष्ट्रिय बजारको आधारमा सुनचाँदीको मूल्य निर्धारण हुने गर्छ जसका कारण नेपाली बजारमा सुनचाँदीको मूल्यमा दैनिक उल्लेख्य वृद्धि भएको हो ।
सन् २०२५ मा सुन र चाँदी दुवैले ऐतिहासिक रेकर्ड कायम गरेको थियो । सन् २०२६ लागेसँगै सामान्य घटबढ भएको सुनचाँदीको मूल्य सोमबारदेखि उल्लेख्य वृद्धि भएको हो ।
आज मंगलबार नेपाली बजारमा सुनको मूल्य तोलामा ३ हजार १०० रुपैयाँले बढेसँगै प्रतितोला २ लाख ६८ हजार १०० रुपैयाँ कायम भएको छ । सोमबार सुन प्रतितोला २ लाख ६५ हजार रुपैयाँमा कारोबार भएको थियो । सोमबार एकैदिन सुन तोलामा ४ हजार ६०० रुपैयाँले बढेको थियो ।
यसैगरी, मंगलबार चाँदी तोलामा १९५ रुपैयाँले बढेको छ । आज चाँदी प्रतितोला ४ हजार ८८० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । सोमबार प्रतितोला चाँदी ४ हजार ६८५ रुपैयाँमा खरिदबिक्री भएको थियो ।
मंगलबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ४ हजार ४६५.८५ अमेरिकी डलर र चाँदी ७८.५९ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
आक्रमण वा युद्धको समाचारले विश्व बजारमा अनिश्चितता र डर बढाउँने र यही अनिश्चितताले सुन र चाँदीको मूल्यमा असर पार्ने जानकारहरु बताउँछन् ।
जब लगानीकर्तालाई सेयर बजार, मुद्रा वा अन्य जोखिमपूर्ण सम्पत्तिबाट घाटा हुने डर हुन्छ, तब उनीहरू सुरक्षित लगानीतर्फ सर्छन् । सुन र चाँदी परम्परागत रूपमा सुरक्षित सम्पत्ति मानिने भएकाले यस्तो अवस्थामा तिनको माग बढ्छ र मूल्यमा वृद्धि हुने उनीहरुकाे तर्क छ ।












प्रतिक्रिया