स्टार्टअप उद्यमीले सुरुवातमै पूँजी अभावको समस्या भोगिरहेका छन्: अध्ययन


काठमाडौं । कोशी प्रदेशका स्टार्टअप उद्यमीले सुरुवातमै पूँजी अभावको समस्या भोग्नुपरेको अध्ययनले देखाएको छ ।

नेपाल राष्ट्र बैंक विराटनगर कार्यालयले सार्वजनिक गरेको कोशी प्रदेशमा स्टार्टअप उद्यमको प्रवृत्ति विशेष अध्ययन प्रतिवेदन २०८१/८२ मा उद्यमीले सुरुवाती चरणमै पुँजी अभाव र लगानीकर्ता अभाव भोग्नुपरेको उल्लेख छ ।

कोशी प्रदेशका १६० स्टार्टअप उद्यमहरूले सुरुवाती चरणमा ३२.७ प्रतिशतले पुँजीको अभाव, २०.४ प्रतिशत दक्ष जनशक्तिको अभाव, १४.५ प्रतिशतले सिप तथा ज्ञानको अभाव, १४.२ प्रतिशतले परामर्शको अभाव, १३.३ प्रतिशतले दर्ता प्रक्रियाका जटिलताहरू जस्ता समस्याको सामना गर्नु परेको प्रतिवेदनमा उल्लेख छ । यसबाहेक ४.९ प्रतिशतले अन्य समस्याहरू जस्तै कच्चा पदार्थको अभाव, पूर्वधार तथा उपकरण अभाव आदि सामना गर्नु परेको प्रतिवेदनले औंल्याएको छ ।

कोशी प्रदेशमा स्टार्टअप उद्यमहरूको व्यावसायिक प्रकृति, क्षेत्रगत प्रवृति, स्टार्टअप उद्यमका लागि आवश्यक स्रोत र साधनको पहुँच अवस्था तथा स्टार्टअप व्यवसायले भोग्नुपरेका समस्याहरूको पहिचान गरी समस्या समाधानका उपायहरूका साथै व्यवसाय प्रवद्र्धनका लागि आवश्यक सुझावहरू प्रतिवेदनमा दिइएको छ ।

अध्ययनमा कोशी प्रदेशका १४ जिल्लामध्ये १० जिल्लामा सञ्चालनमा रहेका स्टार्टअप उद्यमीहरूसँग संरचित र खुला प्रश्नावलीहरू मार्फत सङ्कलित तथ्याङ्क, सरोकारवालाहरूसँग गरिएको अन्तरक्रिया तथा छलफलबाट प्राप्त तथ्याङ्क तथा सूचना र विभिन्न द्वितीय स्रोतबाट प्राप्त तथ्याङ्कलाई समेत विश्लेषण गरी प्रतिवेदन तयार पारिएका राष्ट्र बैंकले जनाएको छ ।

औद्योगिक व्यावसाय विकास प्रतिष्ठानमा स्टार्टअप कर्जाको लागि आवेदन दर्ता गरेका र सर्टलिष्ट भएका कोशी प्रदेशका उद्यमहरूको संख्यालाई आधार मानी १६० वटा स्टार्टअप उद्यमबाट तथ्याङ्क सङ्कलन गरिएको प्रतिवेदनले जनाएको छ ।

अध्ययनमा सहभागी १६० उद्यमहरूमा कृषि तथा वनजन्य, उत्पादनमूलक, सेवामूलक, पर्यटन र सूचना प्रविधि गरी ५ वटा व्यावसायिक क्षेत्र समावेश भएका छन्‌जसमा कृषि तथा वनजन्य ४१.३ प्रतिशत, उत्पादनमूलक १८.१ प्रतिशत, सेवामूलक १७.५ प्रतिशत, पर्यटन १३.८ प्रतिशत र सूचना प्रविधि क्षेत्रमा ९.४ प्रतिशत उद्यमहरू रहेका छन् ।

कोशी प्रदेशको उच्च व्यावसायिक सम्भावना रहेको क्षेत्रको रुपमा ४३.१ प्रतिशतले कृषि तथा वनजन्य, २१.३ प्रतिशतले पर्यटन, १३.८ प्रतिशतले उत्पादनमूलक, १० प्रतिशतले सेवामूलक, ८.१ प्रतिशतले सूचना प्रविधि, समान १.९ प्रतिशतले उर्जामूलक र निर्माण क्षेत्रलाई राखेका छन् ।

हिमाली क्षेत्रबाट १७ वटा (१०.६ प्रतिशत), पहाडी क्षेत्रबाट ३६ वटा (२२.५ प्रतिशत) र तराईका क्षेत्रबाट १०७ वटा (६६.९ प्रतिशत) स्टार्टअप उद्यम रहेका छन् ।

कोशी प्रदेशमा अवस्थित स्टार्टअप उद्यमको व्यावसायिक क्षेत्र (कृषि तथा वनजन्य, सूचना प्रविधि, उत्पादनमूलक, सेवामूलक र पर्यटन) छनोट कोशी प्रदेशको भौगोलिक स्थानसँग (हिमाल, पहाड, तराई) निर्भर छैन भन्ने ‘नुल हाइपोथेसिस’ अस्वीकृत भएको प्रतिवेदनमा उल्लेख छ ।

अध्ययनमा समावेश भएका १६० वटा स्टार्टअप उद्यमहरू मध्ये वस्तु तथा सेवामा ५४ प्रतिशत, उत्पादन प्रक्रियामा ४१ प्रतिशत र वितरण प्रक्रियामा ५ प्रतिशत व्यवसायले नवीन सोच तथा नवप्रवर्तनको प्रयोग गरेका छन् ।

स्टार्टअप उद्यममा २१ देखि ३५ वर्ष उमेर समूहका ३९.३ प्रतिशत, ३६ देखि ५० वर्ष उमेर समूहका ४४.४ प्रतिशत र ५० देखि ७० वर्ष उमेर समूहका १६.२ प्रतिशत उद्यमी रहेका छन् । यस अध्ययनमा समावेश भएका १६० स्टार्टअप उद्यममा ७४.४ प्रतिशत पुरुष र २५.६ प्रतिशत महिला उद्यमी रहेका छन् ।

स्टार्टअप उद्यमहरूलाई व्यवसाय सञ्चालन गर्न उत्प्रेरित गर्ने कारणहरूमा ३७.१ प्रतिशतले आत्मनिर्भर बन्ने इच्छा, २५.८ प्रतिशतले समाजमा योगदान गर्ने चाहना, २५.१ प्रतिशतले नयाँ अवसर, ७.९ प्रतिशतले रोजगारीको अभाव र ४.१ प्रतिशतले अन्य कारण उल्लेख गरेका छन् ।

यस समावेश भएका १६० स्टार्टअप उद्यममा कुल लगानी रु.२ अर्ब ५६ करोड रहेको छ जसमा ३८.७ प्रतिशत हिस्सा ऋण रहेको छ भने ६१.३ प्रतिशत हिस्सा स्वपुँजी रहेको छ । ९४ वटा उद्यमले व्यवसाय सञ्चालनका लागि परामर्श सेवा प्राप्त गरेको देखिन्छ भने ६६ वटा उद्यमले व्यवसाय सञ्चालनका क्रममा कुनै किसिमको परामर्श सेवा प्राप्त गरेको देखिदैन ।

यस अध्ययनमा समावेश भएका १६० स्टार्टअप उद्यम मध्ये ६५ वटा (४०.६ प्रतिशत) उद्यमले सरकारी अनुदान तथा सुविधा प्राप्त गरेका छन्‌भने ९५ वटा (५९.४ प्रतिशत) उद्यमले कुनै पनि सरकारी अनुदान तथा सुविधा प्राप्त गरेका छैनन् । ७२ वटा (४५ प्रतिशत) उद्यमको प्रमुख बजार स्थानीय बजार, ७५ वटा (४६.९ प्रतिशत) उद्यमको प्रमुख बजार राष्ट्रिय बजार र १३ वटा (८.१ प्रतिशत) उद्यमको प्रमुख बजार अन्तर्राष्ट्रिय बजार रहेको छ ।

प्रविधिको प्रयोगको आधारमा वर्गिकरण गर्दा ४४ वटा (२७.५ प्रतिशत) उद्यममा उच्च प्रविधि, १०४ वटा (६५ प्रतिशत) उद्यममा सामान्य प्रविधिको प्रयोग भएको छ भने १२ वटा (७.५ प्रतिशत) उद्यममा प्रविधिको प्रयोग नभएको देखिन्छ ।

उद्यमले आफ्नो उत्पादनको बजारीकरणमा सबैभन्दा बढी ३३.९ प्रतिशतले साथीभाई/नातेदार, २८.३ प्रतिशतले सामाजिक सञ्जाल, ८.५ प्रतिशतले वेभसाइट, ७.२ प्रतिशतले अनलाइन विज्ञापन र मेला/महोत्सव, ६.१ प्रतिशतले परम्परागत मिडिया, ४.५ प्रतिशतले डोर टु डोर सम्पर्क र ४.३ प्रतिशतले अन्य विधि प्रयोग गरेका छन् ।

स्टार्टअप उद्यममा आर्थिक वर्ष २०८०/८१ मा कुल १,४३६ जनाले रोजगारी प्राप्त गरेका छन्‌जसमध्ये ४८.४ प्रतिशत महिला र ५१.६ प्रतिशत पुरुष रहेका छन् ।

आर्थिक वर्ष २०८०/८१ मा यस अध्ययनमा समावेश भएका १६० वटा स्टार्टअप उद्यमको औसत क्षमता उपयोग ७१.४ प्रतिशत रहेको छ । आर्थिक वर्ष २०८०/८१ मा ८० प्रतिशत (१२८ वटा) स्टार्टअप उद्यमहरू नाफामा रहेका छन्‌भने २० प्रतिशत (३२ वटा) स्टार्टअप उद्यमहरूले नोक्सान व्यहोरेका छन् ।

अध्ययनमा समावेश स्टार्टअप उद्यमहरूको कुल बिक्री आम्दानी ९२ करोड ६४ लाख रुपैयाँ रहेको छ भने कुल नाफा १२ करोड ९२ लाख रुपैयाँ रहेको छ ।

स्टार्टअप उद्यमको औसत नाफा १३.९ प्रतिशत रहेको देखिन्छ । त्यसैगरी आ.व.२०८०/८१ मा अध्ययनमा समावेश स्टार्टअप उद्यमहरूमा कुल लगानी रु.२ अर्ब २४ करोड ९० लाख रहेको छ भने औसत लगानीमा प्रतिफल दर ५.७ प्रतिशत रहेको छ ।

प्रकाशित मिति: २२ पुस २०८२, मंगलबार  १३ : ०२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।