काठमाडौँ । खाद्य तथा पेय पदार्थको मूल्यवृद्धि ऋणात्मक देखिएको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२र८३ को मङ्सिर मसान्तसम्मको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार मङ्सिरमा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति १.६३ प्रतिशत रहेको छ ।
अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ६.०५ प्रतिशत रहेको थियो । गत मङ्सिर महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति २.०५ प्रतिशतले ऋणात्मक रहेको छभने गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति ३.७५ प्रतिशत रहेको छ ।
पछिल्लो पाँच महिनाको औसत मुदास्फीति १.५५ प्रतिशत रहेको पनि केन्द्रीय बैंकले जनाएको छ । अघिल्लो वर्षको सोही अवधिको औसत मुद्रास्फीति ४.८९ प्रतिशत रहेको थियो ।
मङ्सिरमा खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत घ्यू तथा तेल उपसमूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क ५.५२, गैरमदिराजन्य पेय पदार्थको ३.५६ र दुग्ध पदार्थ तथा अण्डाको २.४४ प्रतिशतले बढेको छ ।
तरकारी उपसमूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क ८.५४, मरमसलाको ८.४३ र दाल तथा गेडागुडीको ५.७९ प्रतिशतले घटेको छ । गैरखाद्य तथा सेवा समूहअन्तर्गत विविध वस्तु तथा सेवा उपसमूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क १८.५६, शिक्षाको ७.५६, कपडाजन्य तथा जुत्ताचप्पलको ५.२९, सुर्तीजन्य पदार्थको ४.१५ र मदिराजन्य पेय पदार्थको ३.८५ प्रतिशतले बढेको छ । बीमा तथा वित्तीय सेवा उपसमूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क ०.२३ प्रतिशतले घटेको छ ।
मंसिर महिनामा ग्रामीण क्षेत्रको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क १.०९ प्रतिशतले र सहरी क्षेत्रको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क १.८३ प्रतिशतले बढेको छ ।
प्रदेशगत रूपमा हेर्दा कोशी प्रदेशको वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति २.५४, मधेस प्रदेशको २.०१, बागमती प्रदेशको १.४८, गण्डकी प्रदेशको १.०८, लुम्बिनी प्रदेशको १.६७, कर्णाली प्रदेशको १.०९ र सुदूरपश्चिम प्रदेशको ०.४० प्रतिशत रहेको छ ।
त्यस्तै, काठमाडौँ उपत्यकाको वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति १.९५ प्रतिशत र तराईको १.७१ प्रतिशत रहेको छ ।












प्रतिक्रिया