बीमा कम्पनीहरु लाइफ र हेल्थ इन्स्योरेन्समा मात्र अड्कनु भएन् : नवनियुक्त अध्यक्ष सिलवाल

0
Shares

बीमा समितिका नवनियुक्त अध्यक्ष सूर्यप्रसाद सिलवालले बिहीबार सपथ ग्रहण गर्दै बीमा क्षेत्रको विकास र विस्तारका लागि खरो रुपमा उत्रने बताए ।

शपथ ग्रहणपछि नोटबजारसंगको छोटो कुराकानी गर्दै अध्यक्ष सिलवालले बीमा क्षेत्रका काम कारबाही द्रुत गतिमा गर्ने प्रतिबद्धता जनाए । बीमा क्षेत्रमा तत्काल देखा परेका समस्या समाधान गर्दै नीतिगत क्षेत्रमा प्रवेश गर्ने उनको योजना रहेको छ । बिहीबार शपथ ग्रहण गरेका शिलवाल शुक्रबार पदवहाली गरी आइतबारदेखि पूर्ण रुपमा काममा उत्रने तयारीमा छन् ।

कुराकानीमा उनले अहिलेको अवस्थामा बीमा क्षेत्रको विकास र विस्तार सबैभन्दा धेरै हुनुपर्ने भएपनि त्यसो हुन नसकेको बताए ।

अहिलेको समयमा पनि बीमा क्षेत्रको पहुँच विस्तारका लागि काम गर्नुपर्ने अवस्था रहनुले अझै धेरै कामगर्न बाँकी रहेको स्पष्ट हुन्छ ।

बैंक भन्दा पनि बढी विस्तार हुनुपर्ने क्षेत्र बीमा हो । बीमा भनेको सानो भन्दा सानो आर्थिक स्थिति भएको परिवारको पहुँचमा पनि पुग्नुपर्ने उनी बताउछन् । गरिब वर्गले पनि आपत विपतमा बीमाको सहाराबाट लाभ लिन सक्नु पर्छ । तर, अहिले त्यो अवस्था हुन नसकेको उनको बुझाई छ । अहिले बीमाको कभरेज भनेको २३ प्रतिशत हाराहारी मात्र छ । त्यसैले पनि मेरो कार्यकालमा बीमाको पहुँच विस्तारमा जोड दिनु पर्नेछ ।

बीमाको पहुँच विस्तारका उपयुक्त कार्यक्रम, सिप र दक्ष जनशक्ती, विकास मोडलहरुका साथै नियमन बलियो हुनु पर्छ । बीमा व्यवसाय मानव जीवनको सारथी हो भन्ने कुराको स्थापित गर्नु आवश्यक देखिन्छ । अहिलेको अवस्थामा समाजमा देखिएका आश्यकतालाई सम्बोधन गर्ने गरी नयाँ–नयाँ पोलिसी सञ्चालनमा आउनु जरुरी छ । यो क्षेत्रमा सम्भावनाहरु धेरै भएको हुनाले नयाँ कामका लागि सरकारले पनि आवश्यक सहयोग गर्नुपर्ने हुन्छ ।

पछिल्लो समयमा कोभिड बीमामा देखिएको जनसहभागीताले पनि जोखिम न्यूनीकरण वा हस्तान्तरण गर्नुपर्छ भन्नेमा आम सर्वसाधारण सचेत रहेको देखिन्छ । तर, कोरोना बीमामा देखिएको सहभागीता अनुसार काम हुन सकेन् । नियामक निकाय तथा बीमकहरुले गलत अनुमान गरेर पोलिसी जारी गरेका कारण केही विवाद पनि देखियो । यसलाई प्रभावकारी व्यवस्थापन गर्न सकिएन् भने सर्वसाधारणको बीमाप्रतिको विस्वास नै गुम्छ । त्यसैले बीमा क्षेत्रको शाख तथा सर्वसाधारणको विश्वास बढाउने खालका काम गर्नुपर्ने जरुरी छ ।

”अहिले ४० वटा बीमा कम्पनीहरु छन् । यी कम्पनीहरुलाई सक्षम र सबल बनाउनै पर्छ । मैले अहिले देखिएका समस्यालाई प्राथमिकतामा राखेर अघि बढ्नु पर्ने देखिन्छ । अध्यक्ष नहुँदा रोकिएका साना मसिना कामहरुलाई सकाउनु पर्ने छ । त्यसपछि बीमा क्षेत्रको विकासका कुरा, जनताको पैसा तथा भुक्तानीको ग्यारेन्टी गर्ने कामलाई प्राथमिकतामा राखेर काम गर्ने योजनामा छु ।”

बीमा स्थापित र व्यवस्थित व्यवसाय बनाउनुपर्यो भन्ने हो । बीमा व्यवसाय निश्चित मान्छेलाई नाफा कमाउनका लागि मात्र गर्ने व्यवसाय होइन । यसमा जनताको धेरै पैसा हुन्छ, राज्यको विश्वास जोडिएको हुन्छ । यसैले बीमाप्रति आममानिसको विश्वास बढाउने वातावरण बनाउनुपर्छ । यसलाई अझ तत्लो तहसम्म लगेर व्यापक बनाउनुपर्यो भन्नेमा ध्यान केन्द्रीत गर्नु पर्नेछ ।

बीमा कम्पनीहरु लाइफ र हेल्थ इन्स्योरेन्समा मात्र अड्कनु भएन । बीमाको साहारामा थोरै पैसाले पनि अफ्ठयारोमा सहयोग गर्छ भन्ने सुनिश्चितता भएपछि मात्र विश्वास बढ्न जान्छ । अहिले कोभिडको केसले मान्छेलाई बीमा प्रति संङका पैदा गर्ने अवस्था देखिन्छ । यस्ता कुरामा विचार गर्नुपर्ने छ ।

बीमा समितिको पनि नियमन क्षमता बलियो हुनु पर्छ । बीमा कम्पनीहरु जुन उदेश्यले खडा गरिएका हुन्छन् । त्यो उदेश्यमा उनीहरु कहाँसम्म पुगे भन्ने कुरा कसै न कसैले हेर्नुपर्छ । बीमा कम्पनीहरुको काम गहन रुपमा हेरिन्छ ।

म भोलिबाट मात्र कार्यालय जान्छु, धेरै कुराहरु भन्नका लागि मैले पनि यो क्षेत्रका समस्याहरुको गहिराइमा पुगेर बुझ्नुपर्छ । समस्या बुझेपछि विस्तृतमा भनौला ।

(बीमा समितिका नव नियुक्त अध्यक्ष सिलवालसँग नोटबजारका सुरेन्द्र थापाले गरेको कुराकानीमा आधारित)

बीमा क्षेत्रका समस्या फास्ट ट्रयाकमा समाधान गर्न अर्थमन्त्रीको निर्देशन

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।