कोरोना बीमाको दाबी भुक्तानीको दायित्व बीमा कम्पनीहरुबाट सरकारमा सर्यो

0
Shares

कोरोना बीमावापत दाबी भुक्तानीको दायित्व सरकारमा सरेको छ । कोरोना बीमा मापदण्ड अनुसार निर्जीवन बीमा कम्पनी, पूनर्बीमा कम्पनी र बीमा समितिको दायित्व सकिएसँगै भुक्तानीको दायित्व सरकारसम्म पुगेको हो ।

बीमा समितिको तथ्याकं अनुसार माघ २२ गते बिहीबारसम्म कोरोना बीमा वापत ३ अर्ब ५५ करोड २९ लाख २५ हजार रुपैयाँ भुक्तानी भएको छ ।

मापदण्ड अनुसार निर्जीवन बीमा कम्पनी, पूनर्बीमा कम्पनी र बीमा समितिले आफ्नो भागमा आई पर्ने दाबी भुक्तानीको दायित्व बहन गरिसकेका छन् ।

कोरोना बीमा मापदण्ड अनुसार पहिलो एक अर्ब रुपैयाँसम्मको दाबी भुक्तानी बीमा कम्पनीले तिर्नुपर्ने व्यवस्था रहेको छ । यसैगरी एक अर्बभन्दा माथि दुई अर्ब रुपैयाँसम्म पूनर्बीमा कम्पनी र दुई अर्ब भन्दा माथि दुई अर्ब ५० करोडसम्म बीमा कम्पनीहरुको महाविपत्ती पुलबाट ब्यहोर्नु पर्ने छ । दुई अर्ब ५० करोडमाथि ३ अर्ब ५० करोड रुपैयाँसम्मको दायित्व बीमा समितिले बहन गर्नुपर्ने हुन्छ ।

  • ३ अर्ब ५५ करोड भुक्तानी

बीमा समितिले उपलब्ध गराएको तथ्यांक अनुसार माघ २२ गते बिहीबारसम्म कोरोना बीमा वापत ३ अर्ब ५५ करोड २९ लाख २५ हजार रुपैयाँ भुक्तानी भएको छ।

यस अवधिमा ६५ हजार ५१९ वटा दाबी परेका छन् । यो अवधिमा दावीका लागि आवश्यक कागजात पुगेका ३६ हजार ५६९ दावीको भुक्तानी भएको छ ।  ती मध्ये दाबीका लागि आवश्यक कागजात नपुगेका तीन हजार ३७५ वटा फाइल सम्बन्धीत कम्पनीमा नै फिर्ता भएका छन् । आठ हजार ५५४ दाबीका फाइल स्वीकृत हुने प्रक्रियामा रहेको समितिले जनाएको छ ।

समितिका अनुसार ९ हजार ८२४ वटा दाबी इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाबाट स्वीकृत हुन बाँकी छन् भने एक हजार ९५९ वटा दाबीका फाइल अध्ययनका लागि पठाईने क्रममा रहेका छन् ।

त्यस्तै, ३६५ वटा दाबी पन्ध्र दिनभित्र दोहोरो आवेदनका कारण नो क्लेममा राखिएको छ । ८ हजार ५५४ वटा दाबीका फाइल स्वीकृत हुने प्रक्रियामा रहेको बीमा समितिले जनाएको छ ।

 

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।