आर्थिक पुनरुत्थानको निम्ति सामुहिक प्रयास आवश्यकः गभर्नर अधिकारी

0
Shares

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले कोभिड–१९ का कारण अर्थतन्त्रमा देखिएको चुनौतीको सामना गर्दै समावेशी र दिगो आर्थिक पुनरुत्थान हासिल गर्न सबै पक्षको सामुहिक प्रयास आवश्यक रहेको धारणा राखेका छन् ।

एलायन्स फर फाइनान्सियल इन्क्लुजन (एएफआइ) द्वारा आयोजित भर्चुअल बैठकलाई सम्बोधन गर्दै गभर्नर अधिकारीले कसैको एक्लो प्रयासबाट मात्रै यो महामारीले निम्त्याएको सङ्कटलाई सम्बोधन गर्न सम्भव नहुने बताएका हुन । ‘अतः समावेशी र दिगो आर्थिक पुनरुत्थानको निम्ति सरोकारवाला सबै पक्षको पहल आवश्यक छ । सामुहिक समर्पणको भावनाबाट मात्रै त्यो सम्भव देखिन्छ ।” उनले भने ।

कोभिड–१९ द्वारा सिर्जित सङ्कटको नकारात्मक प्रभाव केही समयसम्म देखिन सक्ने उल्लेख गर्दै गभर्नर अधिकारीले त्यसबाट अर्थतन्त्रमा आउन सक्ने चुनौतीलाई सम्बोधन गर्नका निम्ति प्रभावकारी र व्यावहारिक कार्यदिशा अवलम्बन गर्नुपर्ने आवश्यकतामा जोड दिए ।

बितेको एक वर्षमा सामुहिक नीति र नियामकीय अभ्यासले कतिपय जोखिमको न्यूनीकरणमा महत्वपूर्ण भूमिका निभाएको उनको धारणा थियो । उनले भने, “यो अवधिमा हामीले समाजको सर्वाधिक जोखिममा रहेका वर्गको संरक्षणका निम्ति केही प्रयास गरेका छौं । यसलाई अझ प्रभावकारिताका साथ निरन्तरता दिन आवश्यक छ ।”

उक्त बैठकमा कोभिड महामारी र नेपालको सन्दर्भबारे चर्चा गर्दै गभर्नर अधिकारीले नेपालको पर्यटनसँगै लघु, साना र मझौला उद्यम÷व्यवसाय बढी प्रभावित बनेको धारणा राखे । यसलाई सम्बोधन गर्न नियामक निकायको हैसियतमा नेपाल राष्ट्र बैंकले सहजीकरणको निम्ति विभिन्न नीतिगत व्यवस्था अवलम्बन गरेको जानकारी गभर्नर अधिकारीले दिए ।

कोभिडबाट प्रभावित व्यवसायलाई राहतस्वरूप बैंक तथा वित्तीय संस्थामामार्फत पुनरकर्जा सुविधा उपलब्ध गराइएको र सो अवधिमा विद्युतीय माध्यममार्फत हुने भुक्तानी कारोबारलाई प्रबद्र्धन गरिएको  उल्लेख गरे ।

सो अवसरमा गभर्नर अधिकारीले समाजका महिला, विपन्न, अदक्ष श्रमिक, लघु तथा साना उद्यमी र त्यहाँ काम गर्ने श्रमिकको आर्थिक तथा सामाजिक उत्थानमा टेवा पुग्नेगरी नीतिगत व्यवस्था अवलम्बन गर्नुपर्ने आवश्यकतामा जोड दिए । एएफआईका सदस्य मुलुकमा अवलम्बन भएका नीतिगत र कार्यगत अभ्यासको अनुभव आदानप्रदानमा उक्त बैठक फलदायी हुने विश्वाससमेत उनले व्यक्त गरे ।

बैठकमा एएफआईका सदस्य रहेका केन्द्रीय बैंकका गभर्नर र उच्च अधिकारीहरूसहित ३३ जनाको सहभागिता थियो ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।