कर्णाली प्रदेशको पुँजीगत खर्च न्यून


सुर्खेत । कर्णाली प्रदेश सरकारको छ महिनामा १३.७४ प्रतिशत बजेट कार्यान्वयनमा आएको छ । पुँजीगततर्फ ७.९० प्रतिशत बजेट खर्च गरेको हो । सरकारले चालुचर्फ २३.८३ प्रतिशत बजेट कार्यान्वयनमा ल्याएको छ ।

सरकारले विकासतर्फ १९ अर्ब ९८ करोड २७ लाख १३ हजार रुपैयाँ विनियोजन गरेकामा हालसम्म एक अर्ब ५७ करोड ९० लाख तीन हजार २७९ रुपैयाँ मात्रै विकास निर्माणमा खर्च गरेको छ । आर्थिक वर्ष २०८१र८२ का लागि ३२ अर्ब ९९ करोड ६६ लाख ५५ हजार रुपैयाँ बजेट विनियोजना गरिएको थियो ।

अर्धवार्षिक समीक्षासम्म १३.७४ प्रतिशत बजेट खर्च भएको प्रदेश लेखा नियन्त्रण कार्यालयका प्रमुख रत्न सुवेदीले जानकारी दिए । उनले भने, “चालुतर्फ १२ अर्ब ३९ करोड ८९ लाख ४२ हजार रुपैयाँ विनियोजन भएकामा हालसम्म दुई अर्ब ९५ करोड ४४ लाख ३० हजार रुपैयाँ अर्थात् २३.८३ प्रतिशत खर्च भएको छ । यो रकम विकास बजेट कार्यान्वयनको तुलनामा तीन गुणाभन्दा बढी हो ।”

चालु आर्थिक वर्षमा भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयको बजेट १० अर्ब ७३ करोड १४ लाख ८३ हजार रुपैयाँ रहेकामा हालसम्म एक अर्ब आठ करोड ६४ लाख १० हजार ५८ रुपैयाँ खर्च भएको छ । बजेट कार्यान्वयनमा कमजोर देखिएकामा जलस्रोत तथा ऊर्जा विकास मन्त्रालय अग्रपङ्क्तिमा छ । हालसम्म यो मन्त्रालयले तीन अर्ब ५५ करोड रुपैयाँभन्दा बढी बजेटमध्ये २० करोड ५९ लाख ९४ हजार रुपैयाँ कार्यान्वयन गरेको छ ।

सामाजिक विकास मन्त्रालयले दुई अर्ब ७८ करोड ३३ लाख १६ हजार रुपैयाँमध्ये हालसम्म १९ करोड ४३ लाख ४५ हजार ९९२ रुपैयाँ खर्च गरेको छ । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले एक अर्ब ४३ करोड तीन लाख ३१ हजार रुपैयाँ पुँजीगततर्फको बजेट रहेकामा पाँच करोड १८ लाख दुई हजार रुपैयाँ खर्च गरेको छ । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले पुँजीगततर्फ ६४ करोड १६ लाख २९ हजार रुपैयाँ बजेटमध्ये २२ करोड ३३ लाख ८३३ रुपैयाँ कार्यान्वयनमा ल्याएको लेखा नियन्त्रण कार्यालयका प्रमुख सुवेदीले जानकारी दिए ।

प्रकाशित मिति: ४ माघ २०८२, आइतबार  १४ : २९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।