घरजग्गाको कारोबारमा उछाल, पौषमा ५ अर्ब बढी राजस्व संकलन


काठमाडौं । चालु आर्थिक वर्ष २०८२\०८३ को पौष महिनामा घरजग्गाको कारोबारमा उछाल आएको छ । २०८१ भदौदेखि सुस्ताएको जग्गा कारोबार कात्तिकको अन्तिम साता सरकारले कित्ताकाट खुलाउने निर्णय गरेसँगै कारोबारमा पनि उछाल आउन थालेको हो ।

सरकारले २०८३ असारसम्मका लागि कित्ताकाट खुलाएको थियो । जसका कारण कारोबारमा उल्लेख्य सुधार आएको हो ।

भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार पौष महिनामा १ लाख ६२ हजार ८७७ पटक घरजग्गाको कारोबार भएको छ । यो गत वर्षको पौषको तुलनामा १५.८० प्रतिशतले वृद्धि भएको हो । गत वर्षको पौष महिनामा १ लाख ४० हजार ६२१ पटक मात्रै घरजग्गाको कारोबार भएको थियो ।

यसैगरी, पौषमा ५९ हजार ३०४ वटा जग्गालाई. कित्ताकाट गरेर १ लाख ३३ हजार १३४ कित्तामा विभाजन गरिएको छ । गत वर्ष ५२ हजार १०८ जग्गालाई १ लाख १५ हजार १३४ कित्तामा विभाजन गरिएको थियो ।

त्यसैगरी, घरजग्गाको कारोबारबाट हुने राजस्वमा पनि उल्लेख्य वृद्धि देखिएको छ । गत वर्षको तुलनामा यस वर्षको पौष महिनामा घरजग्गाबाट संकलन हुने राजस्व २१.६५ प्रतिशतले वृद्धि भएको छ ।
पौष महिनामा ५ अर्ब १७ करोड ३२ लाख रुपैयाँ राजस्व संकलन भएको छ । गत वर्षको पौष महिनामा ४ अर्ब २५ कोरोड २२ लाख रुपैयाँ राजस्व संकलन भएको थियो ।

कुन मालपोत कार्यालयको राजस्व संकलन कति ?

तथ्याङ्क अनुसार पुस महिनामा सबैभन्दा बढी मालपोत कार्यलय, लगनखेल ललितपुरले राजस्व संकलन गरेको छ । कार्यलयले पुस महिनामा ४१ करोड ५० लाख ३७ हजार २ सय ४९ रुपैयाँ राजस्व संकलन गरेको हो ।

दोस्रोमा मालपोत कार्यलय, डिल्लीबजार काठमाडौंले ३५ करोड ८८ लाख १० हजार, मालपोत कार्यलय भक्तपुरले ३५ करोड ८५ लाख, मालपोत कार्यलय चाबहिलले ३५ करोड ४८ लाख ९४ हजार, मालपोत कार्यलय कलंकीले ३२ करोड ९६ लाख ७३ हजार रुपैयाँ राजस्व उठाएको छ ।

त्यस्तै, पुष महिनामा मालपोत कार्यलय कास्कीले १८ करोड २५ लाख ९५ हजार, मालपोत कार्यलय चितवनले १४ करोड ७६ लाख ५८ हजार, मालपोत कार्यलय साँखु काठमाडौंले १४ करोड ६५ लाख ३२ हजार रुपैयाँ राजस्व संकलन गरेको छ ।

प्रकाशित मिति: ५ माघ २०८२, सोमबार  १५ : २० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।