कुल ग्राहस्थ उत्पादनका आधारमा शेयर बजार ‘ओभर भ्यालूड’ तर्फ

0
Shares

कुल ग्राहस्थ उत्पादनको आधारमा धितोपत्रको दोस्रो बजारको अवस्था ‘फेयर भ्यालू’ वाट ‘ओभर भ्यालु’ तर्फ उन्मूख देखिएको छ । पछिल्लो समयमा निरन्तर सुधार धितोपत्र बजारमा सूचीकृत धेरै शेयर मूल्य उच्च बिन्दुमा पुगेको हुनाले ओभर भ्यालुडको नजिक देखिएको हो ।

आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) को कारोबार रकम करिब साढे १० अर्ब पुगेपछि कुल बजार पूँजीकरण ३३ खर्ब ९९ अर्ब रुपैयाँ पुगेको छ । यो बजार पूँजीकरण देशको कुल ग्राहस्थ उत्पादनको ९०.२४ प्रतिशत हो । अहिले देशको अर्थतन्त्रको आकार ३७ खर्ब ६७ अर्ब रहेको छ ।

धितोपत्र बजार बजार पूँजीकरण कुल ग्राहस्थ उत्पादनको ५० देखि ७५ प्रतिशतसम्म रहेको भने समान्तर धितोपत्र बजार ‘अण्डर भ्यालुड’ रहेको बुझिन्छ ।

कुल ग्राहस्थ उत्पादनको कुल बजार पूँजीकरण ७५ देखि ९० प्रतिशतमा हुनु भनेको धितोपत्र बजार सन्तुलित अवस्थामा रहेको बुझिन्छ ।

त्यसैगरी कुल ग्राहस्थ उत्पादनको तुलनामा धितोपत्र बजारको पूँजीकरण १०० देखि ११५ प्रतिशतसम्म छ भने त्यो ओभर भ्यालुड भएको मानिन्छ ।

कोरोना भाइरसले आर्थिक गतिविधि अस्तव्यस्त भएपछि शेयर बजार भने निरन्तर नयाँ उचाई तर्फ देखियो । हरेक दिन जसो शेयर बजारले नयाँ रेकर्ड समेत बनाउँदै आएको छ । लगानीका क्षेत्र सीमित भएपछि उद्योगी व्यापारी लगायतले शेयर बजारलाई एक मात्र लगानीको क्षेत्र बनाएपछि निरन्तर बढ्दो क्रममा रहेको हो । कोरोनाको असर सुरु भएपछि नेपालको मात्र नभई विश्वका अधिकांश शेयर बजारले नयाँ उचाइ निर्धारण गरेको अवस्था छ । कोरोनाका कारण शेयर कारोबार पनि प्रविधिमा आधारित भएपछि पूँजी बजार झनै विस्तार हुनुका साथै लगानीकर्ताको मनोबल उच्च बनाएको छ ।

अर्थतन्त्रको विपरित गतिमा निरन्तर बढीरहेको धितोपत्र बजार हालसम्मकै ठुलो भएको छ । सार्वजनिक निष्काशनमा धितोपत्र बोर्डको १० कित्ते नीतिले पनि बजारको आकार बढ्नमा थप मद्दत गरेको छ । हाल धितोपत्र बजारको आकार ३३ खर्ब ९९ अर्ब रुपैयाँ पुगेको छ ।

धितोपत्र बजारको बजार पूँजीकरण बढ्नु लगानीकर्ताका लागि पनि सकारात्मक हो । नेप्से परिसूचक बढेपछि बजार पूँजीकरण पनि स्वभाविक रुपमा बढ्छ । नेप्सेको बजार पूँजीकरण गणना गर्दा सूचीकृत कम्पनीको शेयर मूल्यको महत्वपुर्ण भूमिका हुन्छ । बजार पूँजीकरण भनेको शेयर बजारमा रहेको सम्पत्तिको आकार हो ।

नेप्सेमा सूचिकृत शेयरहरुको कूलबजार मूल्य अर्थात सम्पूर्ण सूचिकृत कम्पनीको शेयर मूल्य र शेयर संख्याको गुणनफल नै बजार पूँजीकरण हो । बजार पूँजीकरणले समग्र बजारको अवस्थालाई समेत देखाउने भएकाले लगानीकर्ताको आम्दानी तथा नोक्सानीलाई प्रत्यक्ष मूल्याङ्कन गर्न सकिन्छ ।

आइतबार नेप्से परिसूचक ४८.७४ अंकले बढेर २५२४ बिन्दुमा पुगेको छ । आइतबार नेप्सेमा १० अर्ब ४४ करोड रुपैयाँ बरावरको शेयर किनबेच भएको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।