काठमाडौँ । अमेरिकी ब्याजदर कटौतीको अपेक्षा र सरकारको आंशिक सटडाउनको चिन्ताबीच लगानीकर्ताहरू सुरक्षित स्थानतर्फ लागेपछि पछिल्लो समय सुनचाँदीको मूल्यले ऐतिहासिक रेकर्ड कायम गरेको छ । इतिहासमै पहिलो पटक ५ हजार डलर नाघेको हो ।
सन् २०२५ मा अत्याधिक बढेको सुनको मूल्यले यो वर्ष पनि आफ्नो ऐतिहासिक यात्रालाई निरन्तरता दिएको हो ।
यतिबेला अन्तर्राष्ट्रिय बजारमा सीमित आपूर्तिबीच सुनको माग उच्च दरले बढ्दा मूल्यमा असर परिरहेको छ । अमेरिकी केन्द्रीय बैंकको ब्याजदर घटबढ हुने कारणले पनि अन्तर्राष्ट्रिय बजारमा सुनको भाउमा उत्तरचढाब बढिरहेको छ ।
विश्वभर आर्थिक गतिविधिमा सुस्तता देखिएकाले औद्योगिक तथा अन्य उत्पादन क्षेत्रतर्फ लगानी जान सकेन, सो लगानी पनि सुनमै हुन थालेपछि मागसँगै मूल्य बढेको हो ।
ग्रीनल्याण्डको विषयलाई लिएर अमेरिका र उत्तर एट्लान्टिक सन्धि संगठन (नेटो) बिच बढेको तनावले विश्वमा वित्तीय र भू–राजनीतिक तनाव थपेको छ । यही कारण लगानीकर्ताहरू सुनतर्फ आकर्षित भएका हुन् ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आक्रामक व्यापार नीतिले पनि बजारलाई थप सशङ्ङ्कित बनाएको छ । शनिबार मात्रै राष्ट्रपति ट्रम्पले यदि क्यानडाले चीनसँग व्यापार सम्झौता गरेमा क्यानडामाथि १०० प्रतिशत भन्सार शुल्क (ट्यारिफ) लगाउने चेतावनी दिएका थिए ।
वित्तीय तथा राजनीतिक अस्थिरताको समयमा सुन तथा अन्य बहुमूल्य धातुलाई ‘सुरक्षित लगानी’ का रूपमा लिने गरिन्छ । सोही कारण लगानीकर्ताहरू डलर वा सेयर बजारभन्दा सुनमा लगानी सुरक्षित ठानिरहेका छन् ।
अस्वाभाविक रूपमा बढेको मुद्रास्फीति, कमजोर बन्दै गएको अमेरिकी डलर र विश्वभरका केन्द्रीय बैंकहरूले सुनको सञ्चिति बढाउनुले मूल्य अकासिएको हो ।
त्यस्तै, युक्रेन र गाजामा जारी युद्ध तथा वासिङ्टनले भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोलाई नियन्त्रणमा लिएको घटनाले सिर्जना गरेको तनावले पनि सुनको मूल्य बढाउन मद्दत गरेको छ ।
सुनसँगै चाँदीको भाउले पनि नयाँ रेकर्ड बनाएको छ । शुक्रबार चाँदीको मूल्य पहिलो पटक प्रतिऔंस १०० डलर नाघेको छ ।












प्रतिक्रिया