पूर्वाधार विकास बैंकले अझै २ वर्ष बैंकमा पैसा राखेर ब्याज आम्दानी गर्न पाउने

0
Shares

पूर्वाधार विकास बैंकले अझै २ वर्ष बैंक तथा वित्तीय संस्थामा निक्षेप राखी ब्याज आम्दानी गर्ने बाटो खुलेको छ । नेपाल राष्ट्र बैंकले मंगलबार निर्देशन जारी गर्दै पूर्वाधार विकास बैंकलाई स्थापना भएको ४ वर्षपछि सम्म निक्षेपमा लगानी गर्न पाउने व्यवस्था गरेको हो ।

पूर्वाधार विकास बैंकले बैंक तथा वित्तीय संस्था वा कुनै पनि प्रकारको निक्षेप सम्बन्धी कारोबार गर्ने संस्थामा ब्याज प्राप्त हुने गरी कुनै पनि प्रकारको स्वदेशी निक्षेप खाता खोल्न पाउदैन ।

तर, संस्थाको कारोबार सञ्चालन भएको मितिले बढीमा ४ वर्षसम्म प्रतिस्पर्धाको माध्यमबाट वाणिज्य बैंकहरुमा ब्याज प्राप्त हुने गरी प्रत्येक बैंकमा बढीमा १ अर्ब रुपैयाँको सीमामा नबढ्ने गरी निक्षेप जम्मा गर्न सक्ने व्यवस्था गरेको छ । यसरी निक्षेपबाट प्राप्त ब्याज आम्दानीबाट कर्मचारीलाई बोनस बाँड्न पाइने छैन ।
यसभन्दा अघि पूर्वाधार बैंकले २ वर्षसम्मका लागि मात्र ब्याज आम्दानी गर्ने गरी मुद्दती निक्षेपमा राख्न सक्ने व्यवस्था गरेको थियो ।

संस्थाले एकै प्रकारका परियोजनाहरुमा आफ्नो कुल कर्जा बक्यौताको बढीमा ५० प्रतिशतसम्म कर्जा प्रवाह गर्न पाइने व्यवस्था गरिएको छ । तर, सञ्चालनमा आएको चार वर्षसम्म यस व्यवस्थामा छुट प्रदान गरिएको छ ।

पूर्वाधार विकास बैंकले कारोवार शुरु गरेको मितिले ४ वर्ष सम्म आफ्नो अघिल्लो त्रयमासमा कायम रहेको कुल कर्जा सिमाको अधिकतम एक तिहाइ मात्र क्रेडिट/सेल/पर्चेज/रि–पर्चेज तथा टेकओभर गर्न सक्ने व्यवस्था गरेको छ । पूर्वाधार विकास बैंकले कारोवार शुरु गरेको ४ वर्षपछि यस किसिमको व्यवस्था स्वतः निष्क्रिय हुने केन्द्रीय बैंकले जनाएको छ ।

राष्ट्र बैंकले पूर्वाधार विकास बैंकको कृषि क्षेत्रमा गर्ने लगानीका क्षेत्रमा पनि थप गरिदिएको छ । केन्द्रीय बैंकका अनुसार पूर्वाधार विकास बैंकले कृषि सम्बन्धी पूर्वाधार मध्ये सिचाइ परियोजना, चिस्यान केन्द्र, कृषि गोदाम, कृषि सम्बन्धी उपकरण निर्माण गर्ने कारखाना र व्यवसायिक कृषि योजनाका लागि कर्जा प्रदान गर्न सक्नेछ । यसभन्दा अघि पुर्वाधार विकास बैंकले कृषि क्षेत्रमा सिचाइ परियोजना र चिस्यान केन्द्रका लागि मात्र कर्जा प्रबाह गर्न सक्ने व्यवस्था गरेको थियो ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।