सनराइज बैंकको प्रमुख कार्यकारीमा सुमन शर्मा नियुक्त

0
Shares

सनराइज बैंक (SRBL) को प्रमुख कार्यकारी अधिकृत (सीइओ) मा सुमन शर्मा नियुक्त भएका छन् ।

बैंक सञ्चालक समितिको बुधबार सम्पन्न बैठकले बैंकिङ क्षेत्रमा दुई दशक लामो अनुभव भएका शर्मालाई ४ वर्षका लागि सीईओ नियुक्त गरेको बैंकका सचिव इश्वर कुमार पाठकले नोटबजारलाई जानकारी दिए ।

नवनियुक्त सीईओ शर्माले आजैदेखि लागू हुनेगरी आफ्नो कार्यभार समेत सम्हालिसकेको सचिव पाठकले बताए ।

यसअघि शर्मा माछापुच्छ्रे बैंकको सीईओ थिए । उनले माछापुच्छ्रे बैंकबाट २०७६ फागुनमा राजीनामा दिएका थिए ।

माछापुच्छ्रेमा सिइओ हुनुअघि शर्मा ग्लोबल आइएमई बैंकमा थिए । त्यसअघि पनि शर्मा माछापुच्छ्रे बैंककै नायव प्रमुख कार्यकारी अधिकृत थिए ।

शर्माले बैंकिङ क्षेत्रमा करिब २३ वर्षको अनुभव छ। उनले सन् १९९७ मा नेपाल एसबिआई बैंकमा अधिकृतस्तरबाट बैंकिङ करियर सुरु गरेका थिए ।

बैंकिङ क्षेत्रका विभिन्न विषयहरूमा विज्ञता हासिल गरेका शर्मा कर्जा व्यवस्थापन र जोखिम व्यवस्थापनमा उत्कृष्ट मानिन्छन् । नेदरल्याण्डबाट वित्त तथा लेखा विषयमा स्नातकोत्तर गरेका शर्माले भौतिक शास्त्र र अर्थशास्त्र विषयमा समेत स्नातकोत्तर गरेका छन् । शर्मा महेन्द्र विद्याभूषण (२०५४), महेन्द्र विद्याभूषण (२०६२), तारापद चौधरी पदक जस्ता थुप्रै पदकबाट पनि सम्मानित भएका छन् ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।