रिलायन्स लाइफको आक्रमक व्यवसाय विस्तार, खुद बीमाशुल्क एक अर्ब माथि

0
Shares

रिलायन्स लाइफ इन्स्योरेन्स (RLI) ले आफ्नो व्यवसायको आकार आक्रमक रुपमा बढोत्तरी गरेको छ । गत आवको यसै अवधिको तुलनामा चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा कम्पनीले ९२.०६ प्रतिशतले खुद बीमाशुल्क संकलन बढाएको हो ।

पुस मसान्तसम्ममा रिलायन्सले १ अर्ब १० करोड ९६ लाख ७८ हजार रुपैयाँ खुद बीमा शुल्क संकलन गरेको छ । गत आवको यसै अवधिमा कम्पनीले ५७ करोड ७७ लाख ६५ हजार रुपैयाँ खुद बीमाशुल्क संकलन गरेको थियो ।

समीक्षा अवधिमा कम्पनीको बीमा कोषको आकार ७७ करोड ५९ लाख २२ हजार रुपैयाँबाट बढेर १ अर्ब ७९ करोड ९१ लाख ५३ हजार रुपैयाँ पगेको छ । यस्तै, महाविपत्ति कोष १ करोड ५१ लाख रुपैयाँबाट बढेर २ करोड २० लाख रुपैयाँ पुगेको छ ।

पुस मसान्तसमा रिलायन्स लाइफले ५ करोड ७८ लाख ९९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन समीक्षा अवधिको तुलनामा २४.३३ प्रतिशतले बढी हो । गत आवको यसै अवधिमा कम्पनीले ४ करोड ६५ लाख ६६ हजार रुपैयाँ नाफा कमाएको थियो ।

चुक्ता पूँजी २ अर्ब १० करोड रुपैयाँ रहेको कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी ५.५१ रुपैयाँ छ । जगेडा कोषमा १९ करोड ८५ लाख रुपैयाँ सञ्चित रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ ११०.५० रुपैयाँ छ ।

पुस मसान्तसमा कम्पनीले लगानी, कर्जा तथा अन्य आयबाट ८ करोड १६ लाख रुपैयाँ आम्दानी गरेको छ । यस अवधिमा रिलायन्स लाइफले अभिकर्ता कमिशन वापत १९ करोड ८८ लाख रुपैयाँ खर्चेको छ । गत वर्षको यसै अवधिमा कम्पनीले अभिकर्ता कमिशन वापत ११ करोड ६५ लाख रुपैयाँ खर्चेको थियो ।

चालु आवको ६ महिना अवधिमा कम्पनीले १ अर्ब १५ करोड ३६ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । त्यस्तै, कम्पनीले यस आथिर्क वर्षयता ८ हजार ३९१ वटा बीमालेख जारी गरेको छ ।

समीक्षा अवधिमा कम्पनीले ३९ वटा दाबी वापत परेको १४ करोड ५३ लाख रुपैयाँ दाबी भुक्तानी गरेको छ । कम्पनीले १३ वटा बीमा दाबी वापत ३५ लाख ७० हजार रुपैयाँ भुक्तानी गर्न बाँकी छ ।

गत आर्थिक वर्षकोे सोही अवधिमा कम्पनीले ११ वटा दाबी वापत ६९ लाख ७३ हजार रुपैयाँ कुल दाबी भुक्तानी गरेको थियो भने एक दाबीको दश लाख रुपैयाँ भुक्तानी गर्न बाँकी थियो ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।