ग्रीन लाइफ हाइड्रोपावरको आईपीओ यसै साता बाँडफाँड हुने


ग्रीन लाइफ हाइड्रोपावरको साधारण शेयर (आईपीओ) यसै साता बाँडफाँड हुने भएको छ ।

हाइड्रोपावरको शेयर निष्काशन तथा बिक्री प्रबन्धक बिओके क्यापिटलले मंगलबार प्रि-अलोटमेन्ट गर्ने योजनाका साथ तथ्याकं प्रशोधनको काम भईरहेको जानकारी दिएको छ । उच्च आवेदनका कारण आईपीओको आवेदनको रुजु गर्ने काम धमाधम भैरहेको छ ।

मंगलबार प्रि-अलोटमेन्ट भए हाइड्रोपावरको शेयर शुक्रबारभित्र बाँडफाँड हुनेछ । प्रि-अलोटमेन्टको तीन दिनभित्र आईपीओ बाँडफाँड गर्नुपर्ने व्यवस्था छ ।

नेपाल धितोपत्र बोर्डले शुक्रबारलाई ‘आईपीओ डे’ बनाउने तयारीका साथ पछिल्लो समय प्राथमिक निष्काशन र बाँडफाँड शुक्रबारबाटै गर्न थालेकाले पनि यस आईपीओ पनि शुक्रबार नै बाँडफाँड हुने आंकलन गर्न सकिन्छ । अन्य दिनमा आईपीओ नतिजा कारण मेरो शेयरमा ट्राफिक जाम बढ्ने भएकाले पनि शुक्रबार नै आईपीओ निष्काशन र बाँडफाँडका लागि उत्तम दिन मान्दै बोर्डले शुक्रबारलाई छनौट गरेको हो ।

क्यापिटलले हाइड्रोपावरले माघ २३ गतेदेखि २७ गतेसम्म सर्वसाधारणहरुबाट ३२ लाख ५१ हजार ६५२ कित्ता साधारण शेयरका लागि आवेदन माग गरेको थियो ।

कम्पनीले प्रतिशेयर १०० अंकित मूल्यका कुल ३४ लाख ९६ हजार ४०० कित्ता साधारण शेयर निष्काशन गरेकोमा १ लाख ७४ हजार ८२० कित्ता शेयर सामूहिक लगानी कोषका तथा ६९ हजार ९२८ कित्ता शेयर कर्मचारीहरुका लागि छुट्याइएर बाँकी शेयर सर्वसाधारणमा जारी गरेको हो ।

कम्पनीको आइपीओमा १३ लाख ३८ हजार आवेदन मार्फत २ अर्ब ३९ करोड ३५ लाख ८७ हजार रुपैयाँ बराबरको २ करोड ३९ लाख ३५ हजार ८७० कित्ताका लागि आवेदन परेको हो । यो सर्वसाधारणबाट माग भएको शेयरको तुलनामा ७.३६ गुणा धेरै हो ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।