म्याग्दी । गत साताको वर्षापछिको बाढीपहिरोका कारण अवरुद्ध बनेको चीन र भारत जोड्ने बेनी-जोमसोम-कोरला सडकको म्याग्दी खण्डमा मर्मतका लागि इन्धन अभाव मुख्य चुनौती बनेको छ ।
असोज ८ देखि ११ गतेसम्मको निरन्तर वर्षापछि आएको बाढीपहिरोले मालढुङ्गाबाट घाँसासम्म करिब ५० किलोमिटर दूरीमा ४६ भन्दा बढी ठाउँमा सडक अवरुद्ध बनाएको थियो ।
मुस्ताङबाट म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको भुरुङ्ग तातोपानी र पर्वतको मालढुङ्गाबाट म्याग्दीको राहुघाट खण्डमा मर्मतपछि एकतर्फी यातायात सञ्चालन भएको छ । रघुगङ्गा गाउँपालिका-३ तिल्केनीचौरस्थित राहुघाट जलविद्युत् आयोजनाको विद्युत्गृह र स्विचयार्ड परिसरमा रहेको ‘ग्यान टिटावर’ हटाउन भएको ढिलाइ र मौजुदा इन्धन सकिएपछि मर्मतमा चुनौती सिर्जना भएको बेनी-जोमसोम-कोरला सडक आयोजनाका प्रमुख तेजस्वी शर्माले बताए ।
“तिल्केनीचौर-पोखरेबगर खण्डमा पहिरो पन्छाउने, पहाड काट्ने र फिलिङ गर्न डोजर, लोडर, ब्याकहो लोडर, टिप्पर चलाउन डिजेलको अभाव भएको छ”, उनले भने, “तिल्केनीचौरमा टावर हटाउन भएको ढिलाइले दुई दिनदेखि सडक बनाउने काम प्रभावित बनेको छ ।”







