काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो सात महिना (साउन–माघ) को अवधिसम्ममा मुलुकको व्यापार घाटा साढे ९ खर्ब नाघेको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार माघ मसान्तसम्मको अवधिमा नेपालले कूल ९ खर्ब ५५ अर्ब ३४ करोड ३ लाख रुपैयाँ बराबरको व्यापार घाटा व्यहोरेको हो ।
गत वर्षको सोही अवधिको तुलनामा यो वर्ष १०.९१ प्रतिशतले बढेको हो । गत वर्षको सो अवधिमा मुलुकको व्यापार घाटा ८ खर्ब ६१ अर्ब ३८ करोड २८ लाख रुपैयाँ रहेको विभागको तथ्यांकमा उल्लेख छ ।
सो अवधिमा मुलुकको कुल वैदेशिक व्यापार १५.७६ प्रतिशतले वृद्धि भएको छ । गत वर्ष (२०८१÷८२) को सोही अवधिमा ११ खर्ब १५ अर्ब ७९ करोड २५ लाख रुपैयाँको व्यापार भएकोमा यस वर्ष बढेर १२ खर्ब ९१ अर्ब ६३ करोड २० लाख रुपैयाँ पुगेको हो ।
सात महिनामा नेपालबाट हुने निर्यात ३२.१९ प्रतिशतले वृद्धि भएको छ । गत आर्थिक वर्षको सोही अवधिमा १ खर्ब २७ अर्ब २० करोड ४८ लाख रुपैयाँ बराबरको वस्तु निर्यात भएकोमा यस वर्ष बढेर १ खर्ब ६८ अर्ब १४ करोड ५८ लाख रुपैयाँ पुगेको छ ।
निर्यातसँगै आयातमा पनि वृद्धि देखिएको छ । यो अवधिमा ११ खर्ब २३ अर्ब ४८ करोड ६२ लाख रुपैयाँ बराबरको वस्तु आयात गरेको छ । यो गत आर्थिक वर्षको तुलनामा १३.६५ प्रतिशतले बढी हो । गत वर्षको यही अवधिमा ९ खर्ब ८८ अर्ब ५८ करोड ७७ लाख रुपैयाँको आयात भएको थियो ।
निर्यातमा ठूलो सुधार भए तापनि आयातको उच्च परिमाणका कारण मुलुकको व्यापार घाटा भने बढेको हो ।












प्रतिक्रिया