सामाजिक सुरक्षा कोषलाई पनि शेयर बजारमा भित्र्याइने, एनआरएन बारे अध्ययन अन्तिम चरणमा

0
Shares

नेपाल धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुंगानाले सामाजिक सुरक्षा कोष तथा अन्य कोषलाई धितोपत्र बजारमा प्रवेश गराउन आवश्यक सहजीकरण भइरहेको जानकारी दिएका छन् । बिहीबार लगानीकर्ता संघ संगठनका प्रमुखहरुसँग बजारको अवस्था बारे समीक्षा गर्दै सो जानकारी दिएका हुन्।

साथै उनले गैर आवासीय नेपालीको धितोपत्र बजार प्रबेश सम्बन्धमा बोर्डले बाह्य विज्ञमार्फत् अध्ययन गराइरहेको र निकट भविष्यमा नै सोसम्बन्धी प्रतिवेदन पेश हुने बताए ।

त्यस्तै, उनले सूचिकृत संगठित संस्थाको विवरण प्रवाह थप पारदर्शी बनाउने, लगानीकर्ताको पहुँच विस्तार गर्ने, अन्य नियामक निकायसँग समन्वय गर्ने कार्यहरु पनि बोर्डले अगाडि बढाइरहेको जानकारी गराए।

लगानीकर्ता संरक्षण कोषको प्रभावकारी संचालन गर्न नेपाल सरकार, अर्थ मन्त्रालय र कम्पनी रजिष्ट्रारको कार्यालयसँग समेत समन्वय गरी आवश्यक कार्य अगाडि बढाउने लगायतका कार्य भइरहेको पनि उनले बताए । ढुंगानाले पछिल्लो समय धितोपत्र बजारमा भएको प्रविधिको विकाससँगै प्राथमिक र दोस्रो बजारमा लगानीकर्ताको पहँुच विस्तार भई बजार गतिशिल भएको जिकिर गरे । उनले कोरोना महामारीको प्रभावको बीचमा समेत आर्थिक क्रियाकलाप चलायमान बनाउन धितोपत्र बजारले महत्वपूर्ण भूमिका खेलेको दाबी गरे।

उनले दोस्रो बजार कारोबार सहज भएको तथा विगत लामो समयदेखि अन्यौल रहेको पूँजीगत लाभकरको विषय स्पष्ट भएसँगै लगानीकर्ताको मनोबल बढेको बताउँदै बजारको स्थायित्वका लागि संस्थागत लगानीकर्ताको बलियो उपस्थिति हुनुपर्ने र यसका लागि बोर्डले उपयुक्त कानूनी व्यवस्था गरेपश्चात् संस्थागत लगानीकर्ताको प्रबेश भइरहेको धारणा व्यक्त गरे ।

छलफलमा लगानीकर्ता संघ संगठनका प्रमुखहरुले वर्तमान धितोपत्र बजारको अवस्थाको समीक्षा गर्दै पछिल्लो समयको प्रगतिमा सन्तोष व्यक्त गरेका थिए । उनीहरुले साना लगानीकर्ताको हित हुने गरी नीति तर्जुमा गर्न बोर्डलाई सुझाव दिदै अनलाइन प्रणालीको सुधार, सर्वसाधारणको लगानी आकर्षण गर्न आवश्यक पूर्वाधारको व्यवस्था, ब्रोकरको पहुँच विस्तार तथा लगानीकर्ता साक्षरता लगायतका विषयमा बोर्डले थप प्रभावकारी भूमिका खेल्नुपर्नेमा जोड दिए ।

उक्त छलफलमा उद्योग वाणिज्य महासंघ, पूँजी बजार फोरमका सभापति अम्बिका प्रसाद पौडेल, नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष छोटेलाल रौनियार, नेपाल पुँजीबजार लगानीकर्ता संघका अध्यक्ष उत्तम अर्याल, नेपाल पूँजी बजार संघका अध्यक्ष राधा पोखरेल, लगानीकर्ता दवाव समूहका संयोजक हरि ढकालको उपस्थिति रहेको थियो ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।