काठमाडौँ । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडको नयाँ केन्द्रीय कार्यालय भवन ‘आईजीआई कम्प्लेक्स’ फागुन १४ गते (२६ फेब्रुअरी २०२६)मा भव्य समारोहका बीच उद्घाटन गरिएको छ।
काठमाडौं महानगरपालिका–३, पानीपोखरीस्थित करिब २ रोपनी ६ आना क्षेत्रफलमा निर्माण गरिएको १२ तल्ले (२ तल्ला पार्किङ्गसहित) अत्याधुनिक भवन संयुक्त रूपमा रिबन काटी उद्घाटन गरिएको हो। कार्यक्रममा कम्पनीका अध्यक्ष हेमराज ढकाल, नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक सुशीलदेव सुवेदी, नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष तथा संस्थापक शेयरधनी चन्द्रप्रसाद ढकाललगायतले सहभागिता जनाएका थिए।
अध्यक्ष ढकालले नयाँ भवन कम्पनीको रणनीतिक लक्ष्य, दिगो विकास र ग्राहक–केन्द्रित सेवाप्रति प्रतिबद्धताको प्रतीक भएको बताए। आधुनिक डिजाइन, डिजिटल सेवा प्रणाली र सेवाग्राहीमैत्री वातावरणमार्फत छिटो, प्रभावकारी र विश्वसनीय बीमा सेवा प्रदान गरिने जानकारी दिइयो।
कार्यक्रममा नियामक निकाय तथा बीमा क्षेत्रका प्रतिनिधिहरूले कम्पनीको प्रगतिको प्रशंसा गर्दै आगामी दिनमा बीमा क्षेत्रको विस्तार र जनविश्वास अभिवृद्धिमा थप योगदानको अपेक्षा व्यक्त गरे।
कम्पनीले नयाँ भवनसँगै पारदर्शिता, प्रविधिमा आधारित सेवा विस्तार र संस्थागत सुदृढीकरणलाई थप सशक्त बनाउने प्रतिबद्धता जनाएको छ।












प्रतिक्रिया