अमेरिका र इजरायलद्वारा इरानमाथि संयुक्त सैन्य आक्रमण सुरु


काठमाडौं । इजरायल र संयुक्त राज्य अमेरिकाले आज इरानका विभिन्न शहरहरूमा संयुक्त रुपमा ठूलो स्तरको सैन्य आक्रमण सुरु गरेका छन्। ‘अपरेशन रोअरिङ लायन’ (इजरायल) र ‘अपरेशन एपिक फ्युरी’ (अमेरिका) नाम दिइएको यस कारबाहीमा इरानको राजधानी तेहरानसहित कोम, इसफाहन र कराज जस्ता मुख्य शहरहरूमा शक्तिशाली विस्फोटहरू भएका छन्।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एक भिडियो सन्देश जारी गर्दै इरानको क्षेप्यास्त्र र आणविक क्षमतालाई नष्ट गर्न तथा क्षेत्रीय सुरक्षा सुनिश्चित गर्न यो कदम चालिएको बताएका छन। उनले इरानी जनतालाई आफ्नो सरकारविरुद्ध उभिन समेत आह्वान गरेका छन। यता, इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले इरानबाट हुनसक्ने अस्तित्ववादी खतरालाई समाप्त पार्न यो संयुक्त आक्रमण आवश्यक रहेको दाबी गरेका छन।

आक्रमणको जवाफमा इरानको इस्लामिक रिभोलुसनरी गार्ड कप्र्सले इजरायलतर्फ दर्जनौँ ड्रोन र ब्यालिस्टिक क्षेप्यास्त्रहरू प्रहार गरेको जनाएको छ। इरानको विदेश मन्त्रालयले यसलाई आफ्नो मातृभूमिको रक्षा गर्ने समय आएको भन्दै कडा प्रतिवाद गर्ने चेतावनी दिएको छ।

यस घटनासँगै मध्यपूर्वमा तनाव उत्कर्षमा पुगेको छ। इरान, इजरायल, इराक र संयुक्त अरब इमिरेट्स लगायतका देशहरूले आफ्नो हवाई क्षेत्र बन्द गरेका छन्। बहराइन र कुवेतमा रहेका अमेरिकी सैन्य आधार शिविरहरू नजिक पनि विस्फोटका आवाजहरू सुनिएको र साइरनहरू बजाइएक  छन्।

अहिले इरानमा इन्टरनेट सेवामा ठूलो अवरोध देखिएको छ भने इजरायलमा अस्पतालहरूलाई भूमिगत सुरक्षित स्थानमा सारिएको छ।

प्रकाशित मिति: १६ फाल्गुन २०८२, शनिबार  १६ : ११ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।