कोरोनाका कारण सृजना भएको समस्याको समाधान गर्न जि ७ राष्ट्र प्रतिबद्ध


विश्वका ठूला अर्थतन्त्र भएका देशहरु जि ७ का सदस्य राष्ट्रहरुले जि २० समूहसँग मिलेर काम गर्ने भएका छन् । ती देशहरुले विश्वका कैयौँ समस्याहरुसँग सँगै मिलेर काम गर्ने बताएका हुन् ।

हाल विश्वमा देखा परिरहेको कोरोना भाइरसको महामारीका साथै अरु पनि कतिपय समस्याको समाधानमा लाग्ने बताएका हुन् । संगठनको शुक्रबार भएको भर्चुअल बैठकमा कोरोना भाइरसको महामारी, जलवायु परिवर्तनका साथै अरु पनि धेरै क्षेत्रीय र अन्तर्राष्ट्रिय मुद्धाहरुमा साथ साथमा मिलेर काम गर्ने जनाएका हुन् ।

बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले अध्यक्षता गरेको यस बैठकमा सहभागी भएका जि ७ का नेताहरुको सो धारणा शुक्रबार प्रेस विज्ञप्तिमार्फत सार्वजनिक गरिएको छ । जि ७ द्धारा जारी गरिएको संयुक्त प्रेस वक्तव्यमा भनिएको छ– जि ७ का हामी सदस्य राष्ट्रहरु सम्मिलित बैठक आज भर्चुअल बिधिबाट बस्यो र यस बैठकमा हामी कोभिड १९ का साथै अरु पनि विभिन्न अन्तर्राष्ट्रिय समस्याहरुको समाधानका लागि सँगै मिलेर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छौँ ।

हामीले आगामी दिनमा यस कोभिड १९को महामारीबाट मुक्त हुनुका साथै यसबाट सिर्जना भएको समस्याको समाधान गर्ने र यसले पुर्याएको क्षतिको पनि पुनर्निमाण गर्ने गरी मिलेर काम गर्ने समेत विज्ञप्तिमा उल्लेख छ ।

सो जि ७ को संगठनको अध्यक्षता यस वर्ष बेलायतले गरेको छ । सो बैठकमा हाल कोभिड १९ को विश्वव्यापी महामारीको नियन्त्रणका साथै आवश्यक सहयोग उपलब्ध गराउने कामको नेतृत्व विश्व स्वास्थ्य संगठनले गरेकोले त्यस संगठनलाई पनि आवश्यक सहयोग गर्ने बताइएको थियो ।

हाल विश्वमा कोरोना भाइरसको खोप वितवरण भइरहेको र त्यस खोप सबैलाई उपलब्ध हुन नसक्ने अवस्था आएमा कोभ्याक्सका माध्यमबाट दिने सहयोगका लागि पनि विश्व स्वास्थ्य संगठनका माध्यमबाट सहयोग उपलब्ध गराउने सहमति सो बैठकमा भएको थियो । यस जि ७ मा क्यानाडा, फ्रान्स, जर्मनी, इटाली, जापान, संयुक्त अधिराज्य र संयुक्त राज्य अमेरिका सदस्य रहेका छन् । यस संगठनको बैठक शुक्रबार लन्डनबाट बेलायतका प्रधानमन्त्री जोन्सनले सञ्चालन गरेका थिए ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ८ फागुन २०७७, शनिबार  १४ : ५२ बजे