जीवन बीमालेख समर्पण गर्नेहरुको संख्या घट्यो, साढे ४० अर्ब बढी बीमा दाबी भुक्तानी, सात महिनाको व्यापार कति ?


कठमाडौँ । जीवन बीमालेख समर्पण गर्नेको संख्या घटेको छ । नेपाल बीमा प्राधिकरणले प्रकाशन गरेको चालु आर्थिक वर्षको माघसम्मको बीमा प्रतिविम्बअनुसार जीवन बीमालेख समर्पण संख्यामा ४.५६ प्रतिशतको गिरावट आएको हो । यस अवधिसम्म ५९ हजार ६७२ बीमालेख समर्पण गरिएका छन् । गत आर्थिक वर्ष २०८१।८२ को सोही अवधिसम्म बीमितले कुल ६२ हजार ५२३ बीमालेख समर्पण गरेका थिए ।

समर्पण संख्या घट्दा समर्पणबापतको भुक्तानी रकम पनि घटेको छ । अघिल्लो वर्षको तुलनामा समर्पण रकम १९.०७ प्रतिशतले घटेको छ ।

गत आर्थिक वर्षको माघसम्ममा जीवन बीमकले समर्पणबापत कुल ८ अर्ब ५९ करोड २ लाख रुपैयाँ भुक्तानी गरेका थिए । चालु वर्षको माघसम्म बीमितले ६ अर्ब ९५ करोड १७ लाख रुपैयाँ भुक्तानी लिएका छन् ।
प्राधिकरणका अनुसार नवीकरण बीमाशुल्क भुक्तानी गर्नुपर्ने मितिबाट ६ महिना नाघेका जीवन बीमालेखको संख्यामा सामान्य घटेको छ । अघिल्लो वर्षको माघसम्मको तुलनामा समीक्षा अवधिमा व्यतित बीमालेख संख्या ०.७१ प्रतिशतले घटेको हो ।

चालु वर्षको पहिलो ७ महिनामा १२ लाख २६ हजार २७५ वटा बीमालेख व्यतित भएका छन्। व्यतित बीमालेखको रकम ३७ अर्ब ७० करोड ८२ लाख रुपैयाँ रहेको छ।

गत आर्थिक वर्ष माघसम्म व्यतित बीमालेखको रकम ३६ अर्ब ६२ करोड ६ लाख रुपैयाँ थियो। गत वर्ष यही अवधिसम्म १२ लाख ३४ हजार ९८३ वटा बीमालेख व्यतित भएका थिए। गत वर्षको तुलनामा समीक्षा अवधिमा व्यतित बीमालेखको उठ्न बाँकी २.९७ प्रतिशतले बढेको छ ।

साढे ४० अर्ब बढी बीमा दाबी भुक्तानी

बीमा प्रतिविम्बअनुसार बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको माघसम्म कुल ४० अर्ब ७० करोड ९६ लाख रुपैयाँ दाबी भुक्तानी गरेका हुन्। जसमा जीवन बीमा कम्पनीहरुबाट २४ अर्ब ८८ करोड ९५ लाख रुपैयाँ भुक्तानी भएको छ। यो भुक्तानी १ लाख २३ हजार ९२ वटा दाबीको हो।

अघिल्लो वर्ष जीवन बीमकहरुले १ लाख २४ हजार ७१० वटा दाबीको २४ अर्ब ५९ करोड १८ लाख रुपैयाँ भुक्तानी गरेका थिए। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा जीवन बीमकहरुको दाबी भुक्तानी संख्या १.३१ प्रतिशतले घट्दा दाबी भुक्तानी रकम १.२१ प्रतिशतले बढेको छ।

यसैगरी चालु आर्थिक वर्षको माघसम्म निर्जीवन बीमकहरुले ८३ हजार ८१९ वटा दाबीको १५ अर्ब ८२ करोड रुपैयाँ भुक्तानी गरेका छन्। अघिल्लो वर्ष यही अवधिसम्म निर्जीवन बीमकहरुले ७६ हजार ९३७ वटा दाबीको ११ अर्ब ९५ करोड ७७ लाख रुपैयाँ भुक्तानी गरेका थिए। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा निर्जीवन बीमकहरुको दाबी संख्या र रकम क्रमशः ८.९४ प्रतिशत र ३२.३० प्रतिशतले बढेको छ।

५५ अर्बको दाबी भुक्तानी बाँकी

जीवन र निर्जीवन बीमकहरुले अझै ५५ अर्ब ६० करोड १५ लाख रुपैयाँ दाबी भुक्तानी गर्न बाँकी रहेको छ । जसमा जीवन बीमकहरुले ६० हजार ४५१ वटा दाबीको ५ अर्ब ४५ करोड १८ लाख रुपैयाँ र निर्जीवन बीमकहरुले १ लाख १६ हजार ४२१८ वटा दाबीको ५० अर्ब १४ करोड ९६ लाख रुपैयाँ रहेको छ।

जीवन बीमाको व्यापार कति ?

चालु आर्थिक वर्षको ७ महिनामा जीवन बीमा कम्पनीहरुले १ खर्ब ११ अर्ब ५ करोड रुपैयाँ बढी बीमा शुल्क संकलन गरेका छन् । नेपाल बीमा प्राधिकरणका अनुसार १४ वटा जीवन बीमकले उक्त रकम संकलन गरेका हुन् ।

अघिल्लो वर्ष २०८१/८२ को माघसम्म कम्पनीहरुले ९५ अर्ब ३८ करोड ६६ लाख रुपैयाँ भित्र्याएका थिए । अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिसम्म कम्पनीहरुको व्यापार १६.४३ प्रतिशतले बढेको छ । समीक्षा अवधिसम्म सर्वाधिक व्यापार भित्र्याउनेमा नेपाल लाइफ रहेको छ भने व्यापार ग्रोथको हिसाबले राष्ट्रिय जीवन बीमा कम्पनी अगाडि रहेको छ ।

चालु आर्थिक वर्षको माघसम्म नेपाल लाइफले २९ अर्ब ५९ करोड ६६ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । अघिल्लो वर्ष यही अवधिसम्म कम्पनीले २६ अर्ब ५६ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको थियो । अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा कम्पनीको व्यापार १३.८१ प्रतिशतले बढेको छ ।

यसैगरी दोस्रो धेरै व्यापार भित्र्याउनेमा नेसनल लाइफ रहेको छ । नेसनल लाइफले माघसम्म १३ अर्ब ३१ करोड ११ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । अघिल्लो वर्ष यही अवधिसम्म कम्पनीले ११ अर्ब २३ करोड ६५ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको थियो । अघिल्लो वर्षको तुलनामा कम्पनीको व्यापार १८.४६ प्रतिशतले बढेको छ ।

धेरै व्यापार भित्र्याउने हिसाबले लाइफ इन्स्योरेन्स कर्पोरेसन (एलआईसी नेपाल) तेस्रो स्थानमा रहेको छ । अघिल्लो वर्ष माघसम्म कम्पनीले ११ अर्ब १७ करोड ९ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेकोमा समीक्षा अवधिसम्म १२ अर्ब ३ करोड ८५ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिसम्म कम्पनीको व्यापार ७.७७ प्रतिशतले बढेको छ ।

window.addEventListener(“message”,function(a){if(void 0!==a.data[“datawrapper-height”]){var e=document.querySelectorAll(“iframe”);for(var t in a.data[“datawrapper-height”])for(var r,i=0;r=e[i];i++)if(r.contentWindow===a.source){var d=a.data[“datawrapper-height”][t]+”px”;r.style.height=d}}});

यसैगरी हिमालयन लाइफको अघिल्लो वर्षको तुलनामा हिमालयन लाइफको ५.४२ प्रतिशत, राष्ट्रिय जीवन बीमा कम्पनीको व्यापार ९३.८९ प्रतिशत, सूर्यज्योति लाइफले ११.९२ प्रतिशत, एसियन लाइफको ९.५३ प्रतिशत र सिटिजन लाइफको १८.९५ प्रतिशतले बढेको छ ।

त्यस्तै चालु वर्षको माघसम्म सानिमा रिलायन्स लाइफको बीमा शुल्क १२.२९, आइएमई लाइफको ३३, मेट लाइफको ९ं.९५, रिलायबल नेपाल लाइफको २४.९३, प्रभु महालक्ष्मी लाइफको १३.८६ र सन नेपाल लाइफको ४.६२ प्रतिशतले बीमा शुल्क बढेको छ ।

निर्जीवन बीमाको व्यापार कति ?

निर्जीवन बीमा कम्पनीले २७ अर्ब ५३ करोड ८४ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेका छन् । चालु आर्थिक वर्ष २०८२–८३ को ७ महिनामा १४ निर्जीवन बीमा कम्पनीहरुले १६ लाख ५६ हजार ३३६ वटा बीमालेख जारी गरेर २७ अर्ब ५३ करोड ८४ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका हुन् ।

अघिल्लो वर्षको सोही अवधिसम्म कम्पनीहरुले १६ लाख २१ हजार ६७९ वटा बीमालेख जारी गरेर २४ अर्ब २७ करोड ४१ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका थिए । अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा कम्पनीहरुको व्यापार १३.४५ प्रतिशतले बढेको छ ।

window.addEventListener(“message”,function(a){if(void 0!==a.data[“datawrapper-height”]){var e=document.querySelectorAll(“iframe”);for(var t in a.data[“datawrapper-height”])for(var r,i=0;r=e[i];i++)if(r.contentWindow===a.source){var d=a.data[“datawrapper-height”][t]+”px”;r.style.height=d}}});

गत वर्षको तुलनामा तुलनामा चालु वर्षको माघसम्म हिमालयन एरभेष्ट इन्स्योरेन्सको बीमा शूल्क संकलन सबैभन्दा धेरै भएको छ । चालु वर्षको माघसम्म यो कम्पनीले २ अर्ब ८३ करोड ९३ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो वर्ष माघसम्म कम्पनीले १ अर्ब ९२ करोड १८ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा कम्पनीको व्यापार ४७.७४ प्रतिशतले बढेको छ।

यस्तै, चालु आर्थिक वर्षको माघसम्म शिखर इन्स्योरेन्सले ३ अर्ब ३२ करोड ४ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो वर्ष माघसम्म कम्पनीले ३ अर्ब १३ करोड २० लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा वर्षमा कम्पनीको व्यापार ६.०२ प्रतिशतले बढेको छ ।

प्रकाशित मिति: २० फाल्गुन २०८२, बुधबार  ११ : १८ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।